पृथ्वीको गर्भमा सहर बिलाउने डरः जोशीमठमा जमिन भासिने र घरमा चिरा पर्ने क्रम रोकिएन

    • Author, सौतिक बिस्वास र राजु गोसाईँ
    • Role, बीबीसी न्यूज

भारतको उत्तराखण्डस्थित पहाडी सहर जोशीमठमा रहेको आफ्नो घरमा ज्यानुअरी २ को बिहानीपख आएको ठूलो आवाजले प्रकाश भोटियालको निद्रा बिथोल्यो।

कपडा सिलाउने काम गर्ने ५२ वर्षीय भोटियालले भर्खरै मात्र दुईतले बनाएका थिए। बत्ती बालेर हेर्दा घरका ११ कोठामध्ये नौ वटामा पर्खाल चर्किएको थियो।

परिवारका सबै जना त्यो देखेर आत्तिए। उनीहरू सामान्य चर्किएका बाँकी दुई कोठामा कोचिए र बसे। त्यसयता उनीहरू घरमै जेनतेन बसिरहेका छन्।

“हामी अबेरसम्म नसुती बस्छौँ। सानो आवाजले पनि अत्त्याउँछ। केही पर्‍यो भने दौडेर बाहिर आउन मिल्नेगरी ओछ्यानमा जान्छौँ,” भोटियालले भने।

तर घरबाहिर पनि पूरै सुरक्षित चाहिँ छैन।

झन्डै २०,००० मानिस बस्ने यो पहाडी बस्ती बिस्तारै भासिँदै गएको अधिकारीहरूले बताएका छन्।

बिस्तारै घरहरू भासिन थालेपछि जोशीमठमा सबैतिर त्रास फैलिएको छ।

अधिकारीहरूले जोशीमठमा रहेका ४,५०० मध्ये अहिलेसम्म ६०० वटाभन्दा बढी घर चर्किएको बताएका छन्।

यो क्षेत्रमा सडक, रोपवे र मठमन्दिरहरूमा पनि चिराहरू देखा परेका छन्। होटल भएका दुईवटा भवन पनि ढल्किएर एकअर्कामा आड लागेका छन्।

अधिकारीहरूले ७० परिवारलाई यहाँबाट उद्धार गरेर विद्यालय, होटल र होमस्टेहरूमा राखिएको बताएका छन्।

प्रभावित क्षेत्रमा विपद्‌ प्रतिकार्य टोली परिचालन गरिएको छ र आवश्यक परेको अवस्थामा हवाई उद्धारका लागि हेलिकप्टर माग गरिएको छ।

“जीवनरक्षा हाम्रो पहिलो प्राथमिकता हो,” उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने।

घर छोडेर अन्यत्र बास

घरहरू भासिन र चर्किन थालेपछि जोशीमठको जनजीवन थप कष्टकर भएको छ।

ज्यालादारी गरेर जीविका चलाउँदै आएका ५२ वर्षीय दुर्गाप्रसाद सकलानीको घर चर्किएपछि १४ जनाको उनको परिवारलाई एउटा होटलमा सारिएको छ।

तर दिउँसो भएपछि सकलानी परिवारका सबै जना गाईलाई घाँस र खोले दिन र खाना खान आफ्नै घरमा फर्किन्छन्।

उनीहरूको घर दुई फिटभन्दा बढी भासिएको छ र थप भासिन नदिन उनीहरूले चिरा परेका ठाउँमा रूखका मुढा हालेका छन्।

यो पनि पढ्नुहोस्

सकलानीकी श्रीमतीको हालै स्थानीय क्लिनिकमा शल्यक्रिया भएको थियो। साँघुरो होटलको कोठामा उनी कसरी निको होलिन् भन्ने चिन्तामा यो परिवार छ।

“हरेक दिन चिरा परेको ठाउँ ठूलो हुँदै गएको छ र हामी हाम्रो घर ढल्दै गरेको हेरेर बस्नुपरेको छ। यो भयानक दृश्य हो,” यही परिवारकी नेहा सकलानीले भनिन्।

यो सङ्कट अचानक आएको चाहिँ होइन।

जमिन भासिनुको कारण

जोशीमठ कमजोर भौगोलिक अवस्थितिमा रहेको ठाउँ हो।

यो सहर भिरालो पहाडको बीचमा छ र एक शताब्दीभन्दा अघि भूकम्पका कारण गएको पहिरोले जम्मा गरेको ढुङ्गामाटोमाथि बस्ती बसेको छ। जोशीमठ भूकम्पको जोखिम भएको ठाउँ हो।

जमिन विभिन्न कारणले भासिन सक्छ।

पृथ्वीको चट्टानी सतहको हलचल वा भूकम्पका कारण पनि जमिन भासिन सक्छ।

जमिनमुनि बग्ने पानीले सतहमुनिको चट्टान खियाउँदा पनि जमिनमा भ्वाङहरू पर्न सक्छन्।

कहिलेकाहीँ भूमिगत पानीको अत्यधिक दोहनले पनि जमिन भासिन सक्छ। भूगर्भविद्हरूले इन्डोनेशियाको राजधानी जकार्ता विश्वका अन्य सहरहरू भन्दा छिटो भासिँदै गएको बताउने गरेका छन्।

अमेरिकी भूगर्भ अध्ययनले विश्वमा ८० प्रतिशत जमिन भासिने घटनाहरू भूमिगत पानीको अत्यधिक दोहनका कारण निम्तिने गरेको देखाएको छ।

बेवास्ता

जोशीमठमा जमिन भासिनुमा पनि मानवीय गतिविधि एउटा कारण हुनसक्ने ठानिएको छ।

यो ठाउँमा विगत केही दशकहरूयता खेतीका लागि ठूलो मात्रामा भूमिगत पानी तानेर प्रयोग गर्ने गरिएको छ।

त्यसो गर्दा सतहमुनिको बालुवा र चट्टानलाई कमजोर बनाउन सक्छ। बाहिरी सतहको माटोले भार थेग्न छोडेपछि यो गाउँ बिस्तारै भासिन थालेको छ।

“अवस्था डरलाग्दो छ,” भूगर्भशास्त्री डीपी डोभालले भने।

यो पनि पढ्नुहोस्

सन् १९७६ मै सरकारले गरेको एउटा अध्ययनले जोशीमठ भासिँदै गएको देखाएको थियो।

उक्त अध्ययनले यो क्षेत्रमा ठूला निर्माण कार्यमा रोक लगाउन सिफारिस समेत गरेको थियो। पर्याप्त ढल निकासको अभावका कारण यहाँ पहिरो निम्तिन सक्ने अध्ययनमा देखाइएको थियो।

“जोशीमठ सहर बसाउनका लागि उपयुक्त छैन,” अध्ययनमा चेतावनी दिइएको थियो।

तर यो चेतावनीलाई बेवास्ता गरियो र पछिल्ला दशकहरूमा यहाँ चहलपहल बढ्दै गयो।

तीर्थ जाने बाटो

हिन्दूहरूको पवित्र तीर्थस्थल बद्रीनाथ करिब ४५ किलोमिटरको दूरीमा रहेको जोशीमठ हजारौँ तीर्थयात्रीका लागि निकै व्यस्त प्रवेशद्वारको रूपमा विकसित भएको छ।

यो क्षेत्रमा पदयात्रा, आरोहण र चिप्लेटी खेल्न आउने पर्यटकहरू पनि जाने गेरका छन्।

यहाँ होटल, आवासगृह र खाना तथा खाजा पाइने ठाउँहरू छन्।

यो सहरको आसपासका क्षेत्रमा जलविद्युत् आयोजनाहरू पनि बनिरहेका छन्।

यो पनि पढ्नुहोस्

सडकहरू थप विस्तार भएका छन् र पूर्वाधार निर्माणका लागि सुरुङहरू पनि बनाइएको छ।

यहाँ तपोवन विष्णुगढ जलविद्युत् आयोजना मुख्य चिन्ताको विषय बनेको छ।

यो आयोजनाको सुरुङ “जोशीमठभन्दा मुनिको नाजुक भूगर्भ” पार गर्नेगरी निर्माण गरिएको दुई भूगर्भशास्त्रीले आफ्नो अध्ययनमा उल्लेख गरेका छन्।

सन् २००९ मा उक्त जलविद्युत् आयोजनाको सुरुङ खन्न प्रयोग गरिएको उपकरणले भूमिगत पानीको भण्डारण गर्ने चट्टान फुटाएपछि उक्त प्वाल नटालिँदासम्म दैनिक सात करोड लिटर पानी बाहिर निस्किएको थियो।

त्यो पानी ३० लाख मानिसलाई पर्याप्त हुने भूगर्भशास्त्रीहरूले उल्लेख गरेका थिए।

‘जोखिमयुक्त भूगोल’

सन् २०२१ मा दुईमध्ये एउटा सुरुङ उत्तराखण्डको बाढीले थुनिँदा २०० जना मानिसहरू बेपत्ता भएका वा मारिएका थिए।

उपत्यका, खोँच, पहाड र खोलाहरू रहेको जोशीमठ “जोखिमयुक्त भूगोलमा” रहेको भूगर्भविद्हरू बताउँछन्।

उत्तराखण्ड प्रदेशमा प्राकृतिक विपत्तिको लामो इतिहास छ।

सन् १८८९ देखि १९९९ बीचमा भएका पाँचवटा भूकम्प र पहिरोजस्ता विपत्तिका घटनामा १,३०० मानिसहरूको मृत्यु भएको थियो।

सन् २००० देखि २००९ को बीचमा बाढी पहिरोका कारण मात्रै ४३३ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

सन् २०१० देखि २०२० बीचमा १३१२ मानिसहरूको यस्ता घटनामा मृत्यु भएको छ भने करिब ४०० गाउँहरू बस्नका लागि अयोग्य ठहर भएका थिए।

सन् २०२१ मा मात्रै उत्तराखण्डमा बाढी, पहिरो र हिमपहिरोका कारण ३०० जनाको मृत्यु भइसकेको विपद् व्यवस्थापनमा संलग्न एक अधिकारीको अध्ययनले देखाएको छ।

जोशीमठ जोगिएला?

मौसम प्रणालीमा आएको परिवर्तन र वर्षाको असाधारण प्रवृत्तिसँगै उच्च जोखिमयुक्त क्षेत्रमा बढेका मानवीय गतिविधिका कारण यस्ता दुर्घटना भएको ती अधिकारीले उल्लेख गरेका छन्।

अहिले जोशीमठका बासिन्दाहरू गहिरो चिन्तामा छन्।

उनीहरूका घर बिस्तारै भासिँदै गएका छन्। आफ्नो घर कहिले पृथ्वीको गर्भमा हराउला भन्ने चिन्ता व्याप्त छ।

विगतमा जमिन कति भासिँदै गएको थियो भन्ने कसैलाई थाहा छैन।

जोशीमठलाई बचाउन सकिएला कि नसकिएला भन्ने प्रश्न प्रमुख भएको छ।

एक स्थानीय अभियानकर्मीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै यही दरमा भासिने क्रम जारी रहे यो सहरमा बसोबास गरिरहेका ४० प्रतिशत मानिसलाई अन्यत्रै सार्नुपर्ने जनाएका छन्।