तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जाडो लागेपछि ओडार, पाल र छाप्रोको भर
- Author, प्रकाश पन्त
- Role, बीबीसी न्यूज नेपाली, सुर्खेत
जाडो मौसम सुरु भएसँगै न्यानोको लागि मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२, मुगुगाउँका काशी कामी ६ जनाको परिवारसहित डेढ महिनादेखि पुलुको एउटा ओडारमा बसिरहेका छन्।
गाउँदेखि दुई दिन टाढा रहेको ओडारमा विभिन्न दु:खकष्ट झेल्दै उनले पाँच महिना बिताउने छन्।
हिउँ, पानी र चिसो सिरेटोलाई छेक्ने ओडारलाई बाहिरबाट ढुङ्गाका पर्खाल लगाएर बारेका छन्।
“एउटा सानो र साँघुरो कोठा जत्रै ओडारभित्र ६ जना अटेसमटेस गरी बसेका छौँ,” काशीले भने। “कहिलेकाहीँ आफन्त र पाहुना आए भने सुताउने ठाउँ छैन। अर्काको छाप्रोमा लगेर सुताउनु पर्छ।”
दुई बर्षअघिसम्म उनी चिसो यामभरि सिरानचौरमा पाल हालेर बस्थे।
तर पुलुको एउटा सहकारीमा कार्यालय सहयोगीको काम पाइएपछि भने उनी गत दुई वर्षदेखि जाडोको पाँच महिना यही ओडारमा बसेर कटाउँछन्।
उच्च हिमाली क्षेत्रका मानिसहरू जाडो छल्न आफ्नो स्थायी वासस्थान छाडेर पाँच महिनाजति अस्थायी ठाउँका ओडारमा बस्छन् भने पहाडी क्षेत्रका कतिपय मान्छेहरू बस्ने घर नहुँदा ओडारमा बसेको पाइन्छ।
हुनेखाने सहरमा गरिबहरू ओडारमा
दिनभरि घाम तापेर र साँझ दाउरा बालेर शरीरलाई न्यानो बनाउने गरेका छन्।
ओडारमा न त पानी, न बत्ति न त शौचालयको नै सुविधा छ। छोराछोरीले पनि पढ्न नपाएको काशीकी श्रीमती सोनाम छेजुङ्ग गुनासो गर्छिन्।
“हुनेखानेहरू जाडो छल्न काठमाण्डू, जुम्ला, नेपालगञ्ज र गमगढी गए। हामी गरिब भने धेरै दु:ख र पीडा सहेर ओडारमा बसेका छौँ,” उनी भन्छिन्।
“सरकारले अस्थायी घर बनाइ दिएको भए जाडो याम कटाउन ओडारमा बस्नु पर्दैनथ्यो होला।”
घरदेखि दुई दिन टाढा पर्ने ओडारमा काशीको परिवार बसेको ठाउँको आसपासका अरू ओडार र छाप्रामा दुई–तीन गाउँका बासिन्दाहरू पनि छन्।
कष्टपूर्ण जीवन बिताउन बाध्य
ओडारहरू पनि बाजेबराजुको पालादेखि नै भोग चलन गरिँदै आएका हुन्छन्।
मुगूम कार्मारोङका कर्मा तामाङ पनि परिवारसहित डेढ महिनादेखि घरबाट धेरै टाढा सिरानचौरमा पाल हालेर बसेका छन्।
बाजेको पालामा जाडो छल्न भारततिर जाने गरेपनि आफू भने दुई दशकदेखि सिरानचौरमै पाल हालेर जाडो कटाउने गरेको उनले बताए।
“पाल, ओडार र छाप्रामा बस्दा हामीले समस्यामाथि समस्या भोग्दै आएका छौँ,” उनले भने। “घर नफर्कँदासम्मका पाँच महिनाको कष्ट बयान नै गर्न सकिँदैन।”
उनीहरूलाई विशेषगरी खानेपानी, बिजुली, शौचालय, खाद्यान्न, खानबस्न र सुत्नदेखि बालबालिकालाई पढाउन लेखाउनसम्म निकै नै समस्या हुने गरेको छ।
साथै खाना पकाउने दाउरा पनि पाइँदैनन्। पशुचौपायाको लागि घाँसको पनि उत्तिकै समस्या हुन्छ।
न्यानोको लागि घर छाडेर अस्थायी ठाउँमा बस्दा खासगरी सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धाले निकै सास्ती खेप्ने गरेका छन्।
यी दुइ घर मात्र होइन अत्यधिक जाडोले गर्दा मुगु गाउँका बासिन्दाहरू पूरै गाउँ नै खाली गरेर अहिले सिरानचौर, पुलुलगायतका विभिन्न ठाउँमा कोही पाल हालेर, कोही छाप्रा बनाएर र कोही ओडारमा बसिरहेका छन्।
घुम्ती कार्यक्रममार्फत् शिक्षा र स्वास्थ्यको सुविधा
जाडोले गर्दा गाउँ छाडेर पाँच जनाको परिवारसहित अहिले सिरानचौर बसिरहेकी स्वस्तिका विक बिरामी पर्दा उपचार गर्ने स्वास्थ्य चौकी र बालबालिका पढ्ने विद्यालय भइदिए धेरै सजिलो हुने बताउँछिन्।
उनी भन्छिन्, “जाडो याम लागेपछि बालबालिकाले पनि पढन पाएका छैनन्। बिरामी पर्दा उपचार गर्न दुई दिन हिँडेर गमगढी जानुपर्छ।”
जाडोले गाउँमा बस्न नसकेर अस्थायी ठाउँमा आएर बसेका मानिसलाई घुम्ती कार्यक्रममार्फत् शिक्षा र स्वास्थ्यको सुविधा पुर्याउने काम भइरहेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्रे लामाले बताए।
“बस्तीहरू एकदमै छरिएर बस्ने भएकाले सबै ठाउँमा सुविधा पुर्याउन कठिन भएपनि ८–१० जना भएर बसेको ठाउँमा घुम्ती कार्यक्रममार्फत् शिक्षा र स्वास्थ्यको सुविधा दिने काम भएको छ।”
न्यानोको खोजीमा गाउँ नै खाली
उनका अनुसार समुद्र सतहदेखि झन्डै ३४००–३५०० मिटर उचाइमा रहेका बस्तीका बासिन्दाहरू बर्सेनि करिब ६ महिना घर छाड्न बाध्य हुन्छन्।
मुगु जिल्लाका मुगुगाउँका डेढसय, चितैगाउँका ५०, डोल्फुगाउँका, किम्रीगाउँ र कार्तिगाउँका ४०–५० घर भएका बस्तीहरू मानिस नहुँदा अहिले सुनसान छन्।
गुम्बामा रहेका दुई–तीनजना लामा गुरुले मुगुगाउँको रेखदेख गरिरहेको छन्।
झोवा, चौरीजस्ता पशुचौपाया भएकाहरूले सिरानीचौर, पिप्लाडी, चितौकुना, पुलुमा रहेका ओडार, पाल र छाप्रोमा पाँच महिना कटाउँछन्।
पशुचौपाया नभएकाहरू कोही सदरमुकाम गमगढी, कतिपय जुम्ला, सुर्खेत, नेपालगञ्ज र काठमाण्डूजस्ता सहरमा त कोही भने कालापार (भारत) जान्छन्।
हिउँद लागेपछि अत्यधिक जाडोले गर्दा मुगुजस्तै कर्णाली प्रदेशका हुम्ला, डोल्पासहित नेपालका उच्च हिमाली क्षेत्रका बासिन्दाहरू यसरी गाउँ नै खाली गरेर न्यानोको खोजीमा हिँड्छन्।
उच्च हिमाली क्षेत्रका बस्तीहरूमा अत्यधिक चिसोले गर्दा पानीका मूल अनि धाराबाट ल्याएको पानी समेत पाइपमै जम्ने गर्छ।
हुम्ला नाम्खा गाउँपालिकाको जाङ, हल्जी र तिलगाउँ, डोल्पाको शे फोक्सुन्डो, छार्काताङसुन र डोल्पोबुद्ध गाउँपालिकाका विभिन्न बस्तीका मानिसहरू जाडो छल्न यतिबेला विभिन्न ठाउँमा पुगेका छन्।
अत्यधिक चिसो हुन थालेपछि उच्च बस्तीका बासिन्दा कार्तिक १५ गते सम्म उवा, आलुजस्ता अन्नपात थन्क्याएर तातो ठाउँमा जान सुरु गर्छन्।
मान्छेहरू बेंसीतिर, वन्यजन्तु गाउँतिर
फागुन महिनाको अन्तिम तिरबाट भने उनीहरू आफ्नो स्थायी थातथलो फर्किन थाल्छन्।
गाउँमा बरफ जम्न थालेपछि मान्छेहरू न्यानो खोज्दै बेंसीतिर झर्छन् भने वन्यजन्तु गाउँ आएर बस्ने गरेको स्ठानीय बताउँछन्।
तर यसपटक भने चुनावले गर्दा हप्तादिन ढिलो गरेर उनीहरू न्यानो ठाउँमा गएका थिए।
उच्च हिमाली क्षेत्रका मान्छेहरूले खेतीपाती भन्दा जडिबुटीको भरमा जीवन निर्वाह गदै आएका छन्।
उनीहरूले वैशाखदेखि असारसम्म यार्सागुम्बा र त्यसपछि वन लसुन, अतिस कटुको भोल्तेजस्ता जडिबुटी टिपेर आम्दानी गर्छन्।
जडिबुटीकै भरमा साँझबिहानको छाक टार्नेदेखि छोराछोरीलाई पढाउने लेखाउनेसम्मको खर्च जुटाउने गर्छन्।
हुम्ला, मुगु र डोल्पाका उच्च हिमाली क्षेत्रका बस्तीका बासिन्दाले तिब्बतमा लाग्ने हाट बजारबाट आफूलाई ६ महिनासम्म चाहिने सामान एकैपटक किनेर ल्याउने गर्छन्।