तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उत्तराखण्ड हिमनदीमा बाढीः बाँध भत्कँदा थुप्रै बेपत्ता
उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएर बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएको र कैयौँको मृत्यु भएको आशङ्का गरिएको छ।
उत्तराखण्डस्थित बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो भेल पसेको थियो।
अधिकारीहरूका अनुसार १२५ जनाभन्दा बढी गाउँलेहरू हराएको हुन सक्छ।
सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धेरै नोक्सानी पुर्याएको देखिन्छ।
चमोली जिलाको धौलीगङ्गा नदीमा तीव्र गतिमा पानीको प्रवाह भएको देखिएको छ जसले बाँध भत्काइदिएको छ।
अधिकांश मजदुर
हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत् आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ।
"भेल एकदमै छिटो आयो, कसैलाई सचेत गराउन भ्याइएन," नजिकैको गाउँमा रहेका सञ्जयसिँह रानाले रोयटर्स समाचार संस्थालाई बताए।
"मलाई त हामीलाई पनि बगाउँछ जस्तो लागेको थियो।"
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले १२५ जना हराइरहेको अहिलेसम्म पुष्टि भएको बताएका छन्।
तर अधिकारीहरूका अनुसार त्यो सङ्ख्या बढ्न सक्छ।
"सातवटा शव फेला पारिएको छ र उद्धार कार्य जारी छ," रावतले पत्रकारहरूलाई भने।
प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन्।
"सबैको कुशलताका निम्ति देशले प्रार्थना गरिरहेको छ," उनले ट्विटरमा लेखेका छन्।
पश्चिमी हिमालय क्षेत्रमा रहेको उत्तराखण्ड अचानक आउने बाढी र पहिरोको उच्च जोखिममा पर्छ।
सन् २०१३ को जुन महिनामा ठूलो वर्षापछि आएको बाढीका कारण करिब ६,००० मानिसको ज्यान गएको थियो।