नवनियुक्त प्रधानमन्त्रीद्वारा शपथ

सपथ लिँदै सुशीला कार्की

तस्बिर स्रोत, Office of the President

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ लिएकी छन्।

बढ्दो अन्योल चिर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी पक्ष जेन जीका माग अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपतिका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार सुरेशचन्द्र चालिसेले भने, "राष्ट्रपतिज्यूले संविधानको भावनामा टेकेर प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गर्नु भएको हो।"

पहिलो महिला प्रधानन्यायाधीशको इतिहास बनाएकी कार्कीलाई पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर पनि प्राप्त भएको छ।

सपथ ग्रहण कार्यक्रममा उच्च नेता, विशिष्ठ व्यक्ति र उच्च अधिकारीहरू सहभागी थिए। तर प्रमुख दलका कतिपय प्रमुख नेताहरू अनुपस्थित थिए। उनीहरू सेनाको सुरक्षामा रहेको बताइएको छ।

प्रतिनिधिसभा विघटन र निर्वाचन

सुशीला कार्की

तस्बिर स्रोत, Reuters

आन्दोलनकारी पक्षले प्रतिनिधिसभाको विघटन हुनुपर्ने माग गरेका थिए।

त्यसबारे प्रश्न गर्दा राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, "मन्त्रिपरिषद्को बैठकको परामर्शमा राष्ट्रपतिले बाँकी काम अघि बढाउनुहुन्छ।"

सल्लाहकार चालिसेका अनुसार सहमतिमा 'विघटन पनि समेटिएको' बताए।

तर उनले प्रक्रियाबारे थप खुलाएनन्। उनले भने, "जुन असहज र विषम परिस्थिति निर्माण भयो त्यसलाई पनि सम्बोधन गर्ने उद्देश्यले राष्ट्रपतिज्यूले यो प्रक्रिया अपनाउनु भएको हो।"

मन्त्रिपरिषद्को गठन र त्यसपछि हुने बैठकबाट प्रतिनिधिसभा विघटनको सिफारिस हुने समाचारहरूमा जनाइएको छ।

बैठकले सङ्कटकाल र निर्वाचनको मिति पनि घोषणा गर्ने तयारी रहेको पनि बताइएको छ।

राष्ट्रपति पौडेलले लिएको कदमसँगै सरकारको रिक्तता र त्यसबारे क्षण क्षणमा उत्पन्न भइरहेको अन्योल अन्त्य हुने ठानिएको छ।

तर जेन जीका केही पक्ष र कतिपय राजनीतिक दलहरूले आजको कदम र यसपछि सरकारले गर्ने निर्णयहरूलाई कसरी लिन्छन् भन्ने कुराले भावी राजनीतिक दिनहरू निर्देशित गर्ने कतिपयको बुझाइ छ।

एमाले असन्तुष्ट?

सिंहदरवार

प्रारम्भिक प्रतिक्रियाहरूमा सत्ता त्याग गर्न बाध्य नेकपा एमालेका नेताहरूले प्रतिनिधिसभा विघटन गर्न भएको भनिएको सहमतिप्रति असन्तुष्टि जनाएका छन्।

एमाले महासचिव शङ्कर पोखरेलले फेसबुकमा लेखेका छन्, "विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण हो। त्यसैले सतर्क रहौँ, खबरदारी गरौँ।"

सोही दलका सांसद सूर्य थापाले त आजको दिनलाई 'कालो दिन'को संज्ञा दिएका छन्।

राष्ट्रपतिले परामर्श गरेका भनिएका विभिन्न दलका नेताहरूले सकेसम्म प्रतिनिधिसभा जीवित रहने गरी नयाँ सरकार गठन गर्न सुझाव दिएको समाचारहरूमा जनाइएको थियो।

कतिपय नेताहरूले भने संविधानभित्रै रहेर नयाँ सरकार गठनलाई उनीहरूले बढी महत्त्व दिएको बताइएको छ।

नेकपा माओवादी केन्द्रका कतिपय नेताहरूले पनि भर्चुअल बैठक गरेर नियुक्तीको भर्त्सना गरेको समाचारहरूमा उल्लेख छ।

दुबै दलका प्रमुख भने सेनाको सुरक्षामा रहेको बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।