तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
त्रिशूली नदीमा शङ्का गरिएको ठाउँमा पनि भेटिएन बसको भग्नावशेष
चितवन सिमलतालमा पहिरोले बगाउँदा डेढ साताअघि त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई यात्रुवाहक बस र अझै हराइरहेका ४३ जना यात्रुको खोजीकार्यका लागि नेपाली र भारतीय खोजकर्ताहरूले अझै केही दिन संयुक्त रूपमा प्रयास गर्ने अधिकारीहरूले बताएका छन्।
प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा गृहमन्त्री रमेश लेखकले यो वर्षको वर्षायाममा मनसुनजन्य विपद्बाट १३० जनाको मृत्यु भएको जानकारी दिँदै सिमलतालमा दुर्घटनामा हराइरहेका व्यक्तिको खोजीकार्यका लागि सुरक्षाकर्मीहरूले "अहोरात्र काम गरिरहेको" बताए।
उनले भारतबाट नेपाल सरकारको अनुरोधमा उपकरणसहित आएको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) का उद्धारकर्ताहरूले पनि त्रिशूली नदीमा खसेका बस र यात्रुहरूको खोजीका लागि सघाइरहेको बताए।
गत असार २८ गते नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत सिमलताल भन्ने ठाउँमा लेदोसहितको पहिरोमा बगेर विपरीत दिशाबाट आइरहेका दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए।
ती बसमा सवार ६२ यात्रुमध्ये २४ जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। दुर्घटनामा तीन यात्रुको भने ज्यान जोगिएको थियो।
गृहमन्त्री लेखकले प्रतिनिधिसभामा के भने
प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले मृतकमध्ये १९ जनाको पहिचान भएको र पाँच जनाको पहिचान हुन बाँकी नै रहेको बताए।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बस र यात्रुहरूको खोजीकार्य जारी राख्दा पछिल्ला दिनमा नेपाल सरकारको अनुरोधमा भारतबाट आएको भारतीय खोज तथा उद्धारकर्ताहरू पनि उपकरणसहित खटिएको जानकारी दिए।
बाह्र-सदस्यीय भारतीय टोली आइतवारबाट आएर उक्त खोजमा साथ दिइरहेको अधिकारीहरूले जनाएका छन्।
उनले भने, “हाम्रो र भारतबाट आएको एनडीआरएफको टोलीले संयुक्त रूपमा खोजीकार्य गरिरहेको छ। खोज कार्यका लागि दैनिक ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएका छन्।”
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भारतीय टोलीसहितको सहभागितामा जारी खोजी कार्यमा पनि कुनै प्रगति नभएको उल्लेख गर्दै आफूहरूले अझै "एक दुई दिन हेर्ने" बताए।
“भारतीय टोली समेत लागेर खोज्दा कुनै वस्तु भेटिएको छैन। दुर्घटना भएको ११ दिन भइसक्यो, त्यही भएर शवहरू पनि प्राप्त नहुने जस्तो देखिन्छ। तर अझै एक दुई दिन हेरौँ कि भन्ने छ।”
धेरै दिन भइसकेकाले शवहरू गलिसकेको वा नदीमा बगेर भारततिर गइसकेको आशङ्का छ।
'शङ्का गरेको ठाउँमा केही भेटिएन'
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले नेपाल र भारतसँग भएका सोनर प्रविधिमा आधारित क्यामराहरूको प्रयोग गरी खोज जारी रहेको बताए। “उहाँहरूसँग भएको सोनर क्यामेराको क्षमता हाम्रोभन्दा केही अत्याधुनिक छ।"
खोजकर्ताहरूले सोमवार सोनार क्यामराले सिमतालबाट चार किलोमिटर तल त्रिशूली नदीमा "केही शङ्कास्पद वस्तु" भएको ठानेका थिए। उनीहरूले त्यहाँ दुइटामध्ये एउटा बसको भग्नावशेष हुने अनुमान गरेका थिए।
"तर थप खोजी गर्दा आज त्यहाँ केही देखिएन। अब त्यो अध्याय बन्द भइसक्यो," थापाले भने।
"केराबारीबाट २५ किलोमिटर तल अवस्थित काभ्रेघाटसम्म आज खोजी गरिएको भए पनि कुनै प्रगति भएन।"
उनले एक साताका लागि खोजमा सघाउन भारतीय टोली नेपाल आएकाले केही दिन खोज कार्य जारी रहने पनि जनाए।
“हामीले दुर्घटनास्थलबाट नारायणी नदीसम्म करिब २० किलोमिटरको क्षेत्रमा खोजकार्य केन्द्रित गरेका छौँ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले ९० किलोमिटरको क्षेत्रफलसम्म खोज कायम राखेको छ।”
जिल्ला प्रशासन कार्यालय चितवनले घटनास्थलदेखि तलको भूभाग नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र (बर्दघाट सुस्ता पश्चिम) जिल्लाहरू पर्ने भन्दै त्यहाँ रहेका सुरक्षा निकायहरूसँग समन्वय गरी काम गरिरहेको जनाएका छन्।
उक्त दुर्घटना भएको अवधिमा नदीमा पानीको प्रवाह उच्च रहेको भन्दै अधिकारीहरूले गण्डक नहरबाट समेत शवहरू भारततर्फ बगाउने सम्भावना रहेकाले भारतको बिहार राज्यस्थित पश्चिम चम्परणका जिल्ला मजिस्ट्रेटसँग समन्वय गरी काम गरिरहेको जनाएका छन्।
खोज तथा उद्धारमा वाटर ड्रोन, र्याफ्टिङ बोट, डुङ्गा, गोताखोर र सुरक्षाकर्मीहरू परिचालन गरिएको नेपाली अधिकारीहरू बताउँछन्।
मनसुनजन्य विपद्का कारण कति क्षति भयो
गृह मन्त्रालयले यस वर्षको जेठ २८ यता झन्डै १,६०० वटा विभिन्न प्राकृतिक विपद्का घटना भएको र त्यसमा १३० जनाको ज्यान गएको जनाएको छ।
अधिकारीहरूले ती घटनामा १४४ जना घाइते भएको र ४८ जना बेपत्ता भएको जनाएका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले मनसुनजन्य विपद्का घटना सबै ७७ वटा जिल्लामा घटेको जनाउँदै मन्त्री लेखकले १० दिनसम्म बेपत्ता रहेका व्यक्तिका परिवारलाई पनि "मृतकका परिवार"सरह नै राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।