तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतीय टोलीले कसरी गर्दै छ त्रिशूलीमा हराइरहेकाको खोजी
- Author, ईश्वर जोशी
- Role, सिमलताल, चितवन
एक साताअघि नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुई वटा बस खसेपछि हराएका यात्रुको खोजीमा भारतबाट आएको न्याश्नल डिजास्टर रेस्पोन्स फोर्सले काम थालेको छ।
खोजी कार्यका लागि आएको भारतीय टोलीमा तीन वटा सोनार क्यामेरासहित चार जना गोताखोर र अन्य प्राविधिक गरी १२ जना रहेको चितवनका प्रमुख जिल्ला अधिकारी चन्द्रदेव यादवले बताए।
“भारतको विपद् उद्धार कार्य गरेको यस दलसँग त्यहाँका धेरै नदीहरूमा यस्तै खालका खोज तथा उद्धारमा संलग्न भएको अनुभव छ,” यादवले बीबीसीसँग भने।
भिन्न प्राविधिक उपकरण भन्दा पनि अनुभवका आधारमा भारतीय टोलीबाट अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन्।
उनीहरू एक साता नेपालमा रहेर घटनास्थलभन्दा पाँच किलोमिटर तलसम्म खोजी कार्य गर्ने बताइएको छ।
भारतीय टोलीबाट काम सुरु
आइतवार बिहान सिमलतालदेखि केराबारीसम्मको झण्डै तीन किलोमिटरको नदीको भागमा भारतीय टोलीले काम गरेका छन्।
एक चरणको काम सकेपछि बीबीसीसँग कुरा गर्दै एक जना भारतीय खोजकर्ताले नदीको बहावले समस्या भइरहेको भए तापनि सोनार क्यामराबाट प्राप्त विवरणलाई विश्लेषण गर्दै काम गर्ने बताए।
गत २८ असारमा त्रिशूली नदीमा भएको उक्त दुर्घटनामा खसेका बसको अझै पत्तो लाग्न सकेको छैन।
तर नौ दिनभित्रमा २५ जना यात्रुहरूको शव विभिन्न ठाउँमा फेला परेको अधिकारीहरूले बताएका छन्।
नौ दिनअघि शुक्रवार बिहानै घटेको घटनामा परेका ती बसमा कम्तीमा ६५ जना चढेको बताइएकोमा तीन जना बच्न सफल भएका छन्। शव फेला परेकामध्ये १९ जनाको सनाखत भएको बताइएको छ।
नेपाली खोजकर्तासँग समन्वय
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका प्रहरी उपरीक्षक जनक पुरी भारतीय टोलीसँग मिलेर काम गर्दा केही नतिजा आउन सक्नेमा आफूहरू आशावादी भएको बताउँछन्।
“यसमा मुख्य रूपमा सोनार क्यामेराकै प्रयोगले खोजी गर्ने हो जसले अल्ट्रा विकिरण पठाएर नदिको पीँधलाई छोएर फर्कने विकिरणको मूल्याङ्कन गरिने हो,” एसपी पुरीले बीबीसीसँग भने।
“सोनार क्यामेराहरू पनि विभिन्न गुणस्तरका हुन्छन्, त्यसैले उस्तै प्रविधि पनि कसरी प्रयोग हुन्छ भन्नेले अर्थ राख्छ।”
यस उद्धार कार्यमा प्रविधिमा उच्च निर्भर रहेर कामहरू भइराखेको पुरी बताउँछन्।
“यसअघि पनि हामीले लाइन क्यामेरा र पानीमुनि प्रयोग हुने ड्रोन प्रयोग गरेका थियौँ। तर पानी धमिलो हुँदा त्यसले राम्रो नतिजा दिएको थिएन। सोनार क्यामेराको प्रयोग हामीले गर्दा केही पत्ता लागेको थिएन।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।