तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतस्थित बीबीसीका कार्यालयमा आयकर विभागको खानतलासी तीन दिनसम्म
कर अधिकारीहरूले भारतस्थित बीबीसीका कार्यालयहरूमा गरेको खानतलासी तीन दिनपछि सकिएको छ।
भारतीय आयकर विभागका अधिकारीहरू यसै साता मङ्गलवार बीबीसीका नयाँ दिल्ली र मुम्बईस्थित कार्यालयहरूमा प्रवेश गरेका थिए।
त्यसपछि बीबीसीका कर्मचारीहरूले लामो सोधपुछको सामना गर्नुपर्यो वा रातभरि उनीहरूलाई कार्यालयमा बस्न भनियो।
बीबीसीले भनेको छ, "हामी अधिकारीहरूलाई सहयोग जारी राख्नेछौँ र आशा छ यी मामिलाहरू सकेसम्म चाँडो समाधान हुनेछन्।"
उसले "डर त्रास वा कसैको पक्ष नलिइकन आफ्नो रिपोर्टिङ जारी रहने" जनाएको छ।
मोदीलाई आलोचना गरिएको वृत्तचित्र
बीबीसीले ब्रिटेनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा वृत्तचित्र प्रसारण गरेको केही सातापछि यस्तो अनुसन्धान गरिएको हो।
बीबीसीले जारी गरेको वक्तव्यमा भनिएको छ, "हामी हाम्रा कर्मचारीहरूलाई सहयोग गरिरहेका छौँ- जसमध्ये केहीले लामो प्रश्नको सामना गर्नु परेको छ वा रातभर बस्नुपर्ने भएको छ- र, उनीहरूको हित हाम्रो प्राथमिकता हो।
"हाम्रो कार्य सामान्य अवस्थामा फर्किएको छ र हामी भारत र बाहिरका हाम्रा पाठक/श्रोतालाई सेवा दिन प्रतिबद्ध छौँ।
"बीबीसी एउटा विश्वसनीय, स्वतन्त्र मिडिया संस्था हो र हामी हाम्रा सहकर्मी तथा पत्रकारहरूका साथमा छौँ, जसले डर वा पक्षपातरहित रिपोर्टिङ जारी राख्नेछन्।"
बीबीसीको वृत्तचित्र, ‘इन्डिया: द मोदी क्वेश्चन’ ब्रिटेनमा मात्र प्रसारण गरिएको थियो। तर भारत सरकारले त्यसलाई "औपनिवेशिक मानसिकता" भएको "प्रोपगान्डा र भारत विरोधी फोहोर" भन्दै मानिसहरूलाई त्यसका अनलाइन लिङ्कहरू साझा गर्न रोक्ने प्रयास गरेको छ।
खानतलासीबारे आलोचना र समर्थन
वृत्तचित्र सन् २००२ मा गुजरातमा भएका मुस्लिमविरोधी हिंसामा मोदीको भूमिकामा केन्द्रित छ। त्यसबेला उनी उक्त राज्यका मुख्यमन्त्री थिए।
वृत्तचित्रमा भारत सरकारलाई जवाफ प्रस्ताव गरिएको तर उसले त्यसलाई अस्वीकार गरेको बीबीसीले गत महिना बताएको थियो।
प्रेस स्वतन्त्रता प्रवर्द्धन गर्ने एउटा गैरनाफामूलक समूह एडिटर्स गिल्ड अफ इण्डियाले यसै साताको सुरुमा ती खानतलासीबारे "गहिरो चिन्ता व्यक्त" गरेको थियो।
उसले उक्त खानतलासी "सरकारी नीति वा शासक वर्गको आलोचना गर्ने सञ्चार संस्थाहरूलाई धम्की दिन र उत्पीडन गर्न सरकारी निकायहरूलाई प्रयोग गर्ने प्रवृत्तिको निरन्तरता भएको" बतायो।
एमनेस्टी इन्टरन्याशनल इन्डिया बोर्डले अधिकारीहरूले "सत्ताधारी भारतीय जनता पार्टीको आलोचनात्मक समाचार सम्प्रेषणका कारण बीबीसीलाई हैरान पार्ने र धम्की दिने प्रयास गरिएको" आरोप लगाएको छ।
तर भारतको सत्ताधारी भाजपाले खानतलासी कानुनी भएको र समयसँग (वृत्तचित्र प्रसारण भएको समय) कुनै सरोकार नभएको बताएको छ।
यसै साताको सुरुमा भाजपाका एकजना प्रवक्ता गौरव भाटियाले बीबीसीलाई “विश्वकै सबैभन्दा भ्रष्ट संस्था” भनेका थिए।
उनले भने, “भारत एउटा यस्तो देश हो जसले जबसम्म तपाईँले विष वमन गर्नुहुन्न तबसम्म हरेक सङ्गठनलाई अवसर दिन्छ।”