उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण पर्दै

तस्बिर स्रोत, Getty Images
ग्रहणहरू रोचक खगोलीय घटना हुन्। मानिसहरू ग्रहण हेर्न रमाउँछन्।
चैत २६ गते (एप्रिल ८) सोमवारमा औँसीका दिन उत्तर अमेरिकाका मानिसहरूले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाउने छन्। यसपालि म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्ने छ।
नेपाल र एशिबाट भने यसपालि खण्डग्रास सूर्यग्रहण देखिने छैन।
सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ।
त्यस बेला उषाकाल वा सन्ध्याकाल भए जसरी दिउँसै अँध्यारो हुन्छ।
सन् २०२४ को खग्रास सूर्यग्रहण प्रशान्त महासागरमा सुरु हुने छ। कुक द्वीपको पेनरिन एटोलका बासिन्दाले स्थानीय समयानुसार बिहान ६ बजेर ४० मिनेट जाँदा सूर्य कालो भएको देख्ने छन्।
त्यसपछि चन्द्रमाको सघन छाया पृथ्वीको सतहमा प्रतिघण्टा २,५०० किलोमिटरको गतिमा पर्ने छ।
त्यसले स्थानीय समयानुसार ११ बजेर ७ मिनेट जाँदा मेक्सिको तट पार गर्ने छ र म्याक्सिको र अमेरिका बीचको रिओ ग्र्यान्डी सीमा स्थानीय समयानुसार १ बजेर २७ मिनेट जाँदा पार गर्ने छ।

तस्बिर स्रोत, NASA

खग्रास सूर्यग्रहण कैयौँ खगोलीय अवस्थामध्येको एक हो।
साइन्स कम्युनिकेशन सेन्टर अफ दि अटोनोमस यूनिभर्सिटी अफ चिलेका खगोलविद् ह्वाँ कार्लोस बीयामिनले आफ्नो नयाँ पुस्तक 'इलस्ट्रेटिड अस्ट्रोनमी'' मा लेखेका छन्, "सामान्य रूपमा दुई किसिमका ग्रहण हुन्छन् - चन्द्रग्रहण र सूर्यग्रहण।"
उनका अनुसार दुईवटा तारा संलग्न हुने तेस्रो किसिमको ग्रहण पनि हुन्छ।
यहाँ तीन किसिमका ग्रहण र तिनका विभिन्न प्रकारबारे चर्चा गरिएको छ।
सूर्यग्रहण
पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा कहिलेकाहीँ सूर्य र पृथ्वीको बीचमा पुग्छ। त्यो अवस्थामा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकिदिन्छ। र त्यसको छाया पृथ्वीमा पर्छ।
त्यसो हुँदा सूर्यग्रहण हुन्छ।

सूर्यग्रहणका तीनवटा प्रकार हुन्छन्।
चन्द्रमाले सूर्यलाई कति र कसरी छेक्छ त्यसले गर्दा फरकफरक किसिमका ग्रहण बन्छन्।
खग्रास सूर्यग्रहण
चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्ने गरी सीधा रेखामा ती तीन वटै परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ।
केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट आकाश पूरै अँध्यारो हुन्छ र रात परे जस्तो देखिन्छ।
नासाका अनुसार "खगोलीय संयोगका कारण मात्र खग्रास सूर्यग्रहण सम्भव" हुन्छ। किनभने सूर्य चन्द्रमाभन्दा ४०० गुना ठूलो हुनुका साथै दूरीका हिसाबमा ४०० गुना टाढा छ।
पृथ्वीमा चन्द्रमाको छाया पर्ने रेखालाई "पाथ अफ टोट्यालिटी" अर्थात् "पूर्ण छाया पर्ने मार्ग" भनिन्छ। त्यो सानो क्षेत्रमा पूरै अँध्यारो देखिन्छ।
त्यो मार्गको दुवै छेउमा हुने हजारौँ किलोमिटर लामो क्षेत्रमा ग्रहण आंशिक रूपमा देखिन्छ।

पूर्ण छाया पर्ने मार्गबाट जति टाढा भइन्छ चन्द्रमाले सूर्यलाई छेक्ने भाग पनि उति नै कम हुन्छ।
बीयामिनका अनुसार ग्रहण रहने अवधि सूर्यसँग तुलना गर्दा पृथ्वीको अवस्थिति, पृथ्वीसँग तुलना गर्दा चन्द्रमाको अवस्थिति तथा अनि पृथ्वीको कुन भागमा छाया पर्ने भन्नेमा निर्भर गर्छ।
"सिद्धान्ततः लामो सूर्यग्रहण सात मिनेट ३२ सेकन्डसम्म हुनसक्छ," चिलेका खगोलविद् बीयामिन भन्छन्।
सूर्यग्रहण त्यति दुर्लभ घटना भने हैन।
डेढ वर्षजतिको अन्तरमा एउटा सूर्यग्रहण देखिन्छ।
तर त्यही ठाउँबाट खग्रास सूर्यग्रहण देखिनु दुर्लभ घटना हो। झन्डै ३७५ वर्षपछि मात्र त्यस्तो अवसर आउँछ।
वलय ग्रहण

तस्बिर स्रोत, Getty Images
चन्द्रमा पृथ्वीबाट पर हुँदा सानो देखिन्छ। त्यो अवस्थामा चन्द्रमाले सूर्यलाई पूरा छेक्दैन।
त्यसैले चन्द्रमावरिपरि वलय अर्थात् बालाको आकारमा सूर्य देखिन्छ। यसलाई वलय सूर्यग्रहण भनिन्छ।
खग्रास सूर्यग्रहणमा जस्तै यसमा पनि बालाको जस्तो आकारमा ग्रहण देखिने मार्ग हुन्छ। उक्त मार्गको दुवै छेउमा आंशिक छाया पर्ने क्षेत्र हुन्छन्।
नासाका अनुसार यस प्रकारका ग्रहणको अवधि लामो हुनेगर्छ र बालाको जस्तो आकार १० मिनेटभन्दा लामो अवधिको हुन्छ। तर सामान्यत: ती पाँच वा छ मिनेटभन्दा लामा हुँदैनन्।
वलय सूर्यग्रहण सन् २०२४ को २ अक्टोबरअघि देखा पर्ने छैन।
त्यस बेला त्यो दक्षिण अमेरिकामा देखिने छ र खण्डग्रास ग्रहण दक्षिण अमेरिका, एन्टार्क्टिका, प्रशान्त महासागर र उत्तर अमेरिकामा देखिने छ।
मिश्रित ग्रहण

तस्बिर स्रोत, Getty Images
एउटा विशेष परिस्थितिमा मिश्रित ग्रहण देखिन्छ।
बीयामिन भन्छन्, "चन्द्रमा सूर्यलाई पूरा छेक्न सक्ने दूरीमा हुँदा यस्तो ग्रहण बन्छ तर अघि बढ्दै जाँदा चन्द्रमा पृथ्वीबाट केही पर पुग्ने र सूर्यलाई छेक्न छोड्ने अवस्थामा वलय ग्रहण बनिदिन्छ।
"यो वलय ग्रहणका रूपमा पनि सुरु हुन सक्छ अनि त्यसपछि झन्डैझन्डै खग्रास ग्रहणको अवस्थामा पुग्छ।"

खगोलको अध्ययन गर्ने संस्था आईएसीका अनुसार मिश्रित ग्रहण एकदमै दुर्लभ हुन्छ।
नासाको तथ्याङ्कका अनुसार सन् २०१३ मा यस्तो ग्रहण देखिएको थियो।
यसअघिको मिश्रित सूर्यग्रहण सन् २०२३ को एप्रिल २० मा इन्डोनेशिया, अस्ट्रेलिया तथा पपुआ न्यूगिनीबाट पनि देखिएको थियो।
नासाका अनुसार अर्को त्यस्तो ग्रणह सन् २०३१ को नोभेम्बेरमा देखिने छ।
चन्द्रग्रहण

तस्बिर स्रोत, AFP
चन्द्रमामा पर्ने सूर्यको प्रकाश छेक्ने गरी बीचमा पृथ्वी पुग्दा चन्द्रग्रहण लाग्छ।
अर्थात् चन्द्रग्रहण हुँदा पृथ्वीको छाया चन्द्रमामा पर्छ।
आईएसीले प्रकाशित गरेको सामग्रीमा भनिएको छः "सूर्यग्रहण देखिने कुरा अवलोकन गर्ने मान्छे कुन ठाउँमा छ भन्नेमा भर पर्छ। तर ग्रहण पर्दा क्षितिजभन्दा माथि चन्द्रमा आइसकेका सबै ठाउँबाट चन्द्रग्रहण देखिन्छ।"
"सूर्यग्रहण ठाउँपिच्छे फरकफरक समयमा देखिन्छ तर चन्द्रग्रहण भने सबै ठाउँमा एकैचोटि देखिन्छ।"
चन्द्रग्रहण पनि तीन प्रकारका छन्।
खग्रास चन्द्रग्रहण
नासाका अनुसार खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा र सूर्य पृथ्वीको ठिक विपरीत स्थानमा हुन्छन्।
"चन्द्रमामा पृथ्वीको छाया परे पनि केही प्रकाश चन्द्रमासम्म पुग्छ।"
सूर्यरश्मि पृथ्वीको वायुमण्डल हुँदै जाँदा नीलो रङ्गको प्रकाश चाहिँ हट्छ। त्यसैले चन्द्रग्रहण हुँदा चन्द्रमा रातो देखिन्छ। अनि यसलाई "ब्लड मून" अर्थात् रक्तचन्द्र भनिन्छ।

आईएसीका अनुसार पृथ्वीको व्यास चन्द्रमाको भन्दा चारगुना ठूलो भएकाले पृथ्वीको छाया फराकिलो हुन्छ। त्यसैले सर्वपर्वकाल अर्थात् चन्द्रग्रहणको कुल अवधि १०४ मिनेटसम्म हुन्छ।
गत पूर्णिमा देखिएको ग्रहण यही किसिमको हो।
विश्वका केही स्थानबाट १४ मिनेटसम्म "सूपर फ्लावर पूर्णचन्द्र" लाई खग्रास ग्रहणले ढाकेको देखिएको थियो।
खण्डग्रास चन्द्रग्रहण
चन्द्रमाको केही खण्डमा मात्र पृथ्वीको छाया पर्दा खण्डग्रास चन्द्रग्रहण लाग्छ।
छायाको आकारका आधारमा ग्रहण परेको ठाउँमा चन्द्रमाको सतह गाढा रातो, खियाको जस्तो वा खरानी रङ्गको देखिन्छ।

चन्द्रमामा छाया पर्ने र प्रकाशित रहने ठाउँका बीच उज्यालोको भिन्नताका कारण यस्तो हुन्छ।
नासाका अनुसार खग्रास चन्द्रग्रहण दुर्लभ भए पनि खण्डग्रास चन्द्रग्रहण वर्षमा दुई पटक देखिन्छ।
विरल छायाजनित चन्द्रग्रहण
चन्द्रमा पृथ्वीको विरल छाया अर्थात् मलिन छायामा पर्दा यो यस किसिमको चन्द्रग्रहण बन्छ। अङ्ग्रेजीमा यसलाई 'पिनम्ब्रल इक्लिप्स' भनिन्छ।

यो ग्रहण यति मधुरो हुन्छ कि मान्छेको आँखाले ठम्याउन गाह्रो हुन्छ।
त्यसैले वैज्ञानिक उद्देश्यका लागि बाहेक लोकव्यवहारमा प्रकाशित हुने पात्रोमा यसको उल्लेख हुँदैन।
ताराको ग्रहण
सूर्य र चन्द्रमाबाहेक दूरस्थ ताराहरूमा पनि ग्रहण पर्छ।
"पचास प्रतिशतजति ताराहरू दुई वा बढी तारा भएको प्रणालीमा छन्," बीयामिन आफ्नो पुस्तकमा लेख्छन्।
"हाम्रो आकाशगङ्गामा धेरै ताराहरू छन्। तीमध्ये बाइनरी अर्थात् द्वि-आङ्गिक ताराहरू पृथ्वीसँग सीधा रेखामा पर्ने गरी आफ्नो अक्षमा घुम्छन्। आफ्नो अक्षको कुनै भागमा एउटा तारा अर्कोको अगाडिबाट जाँदा त्यसले पछाडि पर्ने ताराको उज्यालो छेकिदिन्छ," उनी भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








