सौर्य ज्वालाबाट पृथ्वीमा सञ्चार प्रणाली अवरुद्ध
अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले सूर्यबाट निस्किएको एउटा ज्वालाको भिडिओ सार्वजनिक गरेको छ। नासाका अनुसार उक्त सौर्य ज्वाला केही वर्षयता उत्पन्न ऊर्जाको सबैभन्दा शक्तिशाली लप्का थियो।
गत साता बिहीवार नासाको सोलर डाइन्यामिक्स अब्जर्भेटरीको क्यामराले एक्स२.८ (X2.8) नाम दिइएको उक्त ज्वाला निस्किएको दृश्य खिच्यो। उक्त क्यामराले निरन्तर सूर्य र सौर्य घटनाको अनुगमन गर्छ। सन् २०१७ को सेप्टेम्बरमा एक्स८.२ (X8.2)नाम दिइएको ज्वालापछि अहिले निस्किएको ज्वाला सबैभन्दा ठूलो हो।
नासाले निकै सघन सौर्य ज्वालालाई एक्स वर्गमा राख्छ। एक्ससँग लेखिने अङ्कले सौर्य ज्वाला कति शक्तिशाली छ त्यो सङ्केत गर्छ।

तस्बिर स्रोत, NASA
पृथ्वीमा कस्तो प्रभाव
गत बिहीवार उत्पन्न सौर्य ज्वालाले पृथ्वीमा रेडिओ सञ्चारलाई दुई घण्टाजति अवरुद्ध गरिदिएको थियो।
केही विमानचालकहरूले सञ्चारसम्पर्क प्रणालीमा समस्या उत्पन्न भएको बताएका छन्।
त्यस्तो ज्वालाले विद्युत् प्रसारणका ग्रिड, हवाईजहाज र पानीजहाजमा जडित दिशा पहिल्याउन सघाउने संयन्त्रबाट उत्पन्न हुने सङ्केत र रेडिओ सञ्चारमा प्रभाव पार्न सक्छ।
सौर्य ज्वालाका कारण अन्तरिक्षयान र अन्तरिक्षयात्रीहरूलाई पनि खतरा हुन सक्ने नासाले जनाएको छ।
सौर्य ज्वाला के हो
सूर्यबाट शक्तिशाली विस्फोटनसहित विकिरण निस्किँदा ज्वाला देखिन्छ। सूर्यमा हुने केही क्षेत्रसँग सम्बन्ध भएको चुम्बकीय ऊर्जा उत्सर्जन हुँदा त्यस्तो ज्वाला निस्किन्छ।
नासाका अनुसार सौर्य ज्वालाको उत्पत्ति हाम्रो सौर्यमण्डलमा हुने सबैभन्दा विस्फोटक घटना हो। सौर्य ज्वाला केही घण्टादेखि केही दिनसम्म रहन सक्छ र त्यसलाई सूर्यमा उज्यालो क्षेत्रका रूपमा देखिन्छ।
यूएस न्याश्नल ओशनिक एन्ड एट्मस्फेरिक एन्ड एड्मिनिस्ट्रेशन वेदर सेन्टरले यसपालिको सौर्य ज्वालालाई "अहिलेसम्म पत्ता लागेको सम्भवतः एउटा सर्वाधिक ठूलो सौर्य रेडिओ घटना" भनेको छ।
उक्त निकायले "भूचुम्बकीय आँधी" आउन सक्ने जनाएको छ। अर्थात् केही दिनपछि पृथ्वीमा 'नोर्दर्न लाइट्स' देखिन सक्छ।
युरोपेली अन्तरिक्ष निकाय ईएसएका अनुसार सन् २००३ मा सर्वाधिक शक्तिशाली सौर्य ज्वाला उत्पन्न भएको थियो। त्यसको शक्ति एक्स२८ मापन गरिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



