तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रदेश अस्पताल सुर्खेत: करिब एक दशकमा भएको 'उदाहरणीय' परिवर्तन
- Author, प्रकाश पन्त
- Role, सुर्खेत
आठ वर्षअघि डा. डम्बर खड्काले तत्कालीन क्षेत्रीय अस्पताल अर्थात् अहिलेको प्रदेश अस्पताल सुर्खेतको नेतृत्व लिँदा अस्पतालको अवस्था दयनीय थियो।
शौचालयहरू दुर्गन्धित र ढोकाहरू भ्वाङ परेका थिए। प्रसूति वार्डमा बेसिनसम्म थिएनन्। शय्या, ट्रली र बिरामीले प्रयोग गर्ने लकरहरू खिया लागेको अवस्थामा थिए।
अस्पतालले जनशक्ति र उपकरणको समेत अभाव झेलिरहेको थियो।
धेरैलाई अस्पतालको सेवाप्रति भरोसा नभएर हुन सक्छ बिरामी पर्दा उनीहरू प्रायः जसो नेपालगन्ज, काठमाण्डू अथवा भारतको लखनउका अस्पताल पुग्थे।
आफूले निर्देशकको जिम्मेवारी सम्हाल्नासाथ अस्पतालको दुरावस्था बदल्न शौचालयको सरसफाइ र ढोकाहरू फेर्ने कामबाट थालनी गरेको डा. खड्का बताउँछन्।
सेवा र शृङ्गार: के के भयो परिवर्तन?
उनले पुराना र खिया लागेका शय्या र लकर सफा गरेर रङ्ग रोगन गराए। अस्पतालभित्र बहिरङ्ग विभाग र निवास लगायतमा टायल बिछ्याउन लगाए।
जनशक्ति र उपकरणको व्यवस्थासँगै सेवा सुविधा बढेपछि अस्पतालले जनताको विश्वास बटुल्न थाल्यो र बिस्तारै बिरामीको चाप बढ्न थाल्यो।
अस्पताल प्रशासनले उपलब्ध गराएको तथ्याङ्क अनुसार आठ वर्षअघि मुस्किलले दैनिक १५० जना बिरामी आउने अस्पतालमा अहिले दैनिक करिब एक हजार ८०० बिरामी पुग्ने गरेका छन्।
अहिले अस्पतालको नयाँ भवन बनेको छ। अस्पताल ५० शय्याबाट ३०० शय्याको भएको छ।
विशेषज्ञ सेवा चारबाट १५ पुगेको छ। पाँच जना चिकित्सक थिए, अहिले ४५ जना विशेषज्ञ सहित ८० जना चिकित्सक कार्यरत छन्।
निर्देशक खड्का अस्पतालको साख र स्तरलाई तल झर्न नदिने गरी काम गरिरहेको बताउँछन्।
उनले बीबीसी न्यूज नेपालीसँग भने, “संस्था कसरी राम्रो बनाउन सकिन्छ भन्ने लक्ष्य लिएर काम गर्दा देशकै एउटा उत्कृष्ट अस्पताल बनाउन सम्भव भएको हो।”
गत वर्ष स्वास्थ्य मन्त्रालयले एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा एउटा अध्ययन गरेको थियो।
त्यसमा प्रदेश अस्पताल सुर्खेत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्न “देशभरिमै उत्कृष्ट सेवा दिने अस्पताल” बनेको मन्त्रालयले जनाएको छ।
'पार्कमा पुगेको अनुभूति'
काम गर्ने इच्छा शक्ति र सबैको सहयोगबाट सेवा प्रवाहमा प्रदेश अस्पताल “देशकै उत्कृष्ट अस्पताल” बन्न सफल भएको डा. खड्का बताउँछन्।
स्वदेश अथवा विदेश जहाँ गए पनि त्यहाँको स्वास्थ्य क्षेत्र विशेषगरी अस्पतालका राम्रा र नयाँ कुरा देखेपछि अस्पतालमा लागु गर्ने गरेको उनी बताउँछन्।
खड्काका अनुसार प्रदेश मातहत रहेको अस्पताललाई सुविधायुक्त बनाउन कर्णाली प्रदेश सरकारले पनि ठूलो सहयोग गरिरहेको छ।
उत्कृष्ट सेवासँगै अस्पतालको सरसफाइ, बगैँचा व्यवस्थापनजस्ता कामलाई पनि उत्तिकै महत्त्व दिने गरेको खड्का बताउँछन्।
अस्पताल हाताभित्र प्रवेश गर्नासाथ कतिपय बिरामी अस्पताल नभई कुनै सुन्दर पार्कमा घुम्न आएको अनुभूति सुनाउँछन्।
“अरू र प्रदेश अस्पतालबीच धेरै कुरामा भिन्नता पाएँ,” जाजरकोटबाट पहिलो पटक उपचारका लागि आएकी देवकुमारी शाहीले भनिन्।
“अस्पताल भित्र र बाहिरको सरसफाइ, सुन्दर बगैँचा, पानीको फोहोराजस्ता कुराले अस्पताल नभई पार्कतिर घुम्न आएको अनुभूति भयो।”
कर्णालीलाई ठूलो राहत
अस्पताल आफैँले ब्लड ब्याङ्क, फार्मेसी, एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। मिर्गौला प्रत्यारोपण सेवा पनि शुरू गरिएको छ।
बीमा, जनरल, इमरजेन्सी र निःशुल्क औषधि वितरण गर्ने चारवटा फार्मेसी चलाएको हुनाले औषधि लिने लाइन पनि धेरै लामो देखिन्न।
बाह्रवटा अपरेशन थिएटर सञ्चालनमा ल्याउन लागिएकोले अब निजीमा भन्दा छिटो सेवा अस्पतालले दिने निर्देशक खड्काको दाबी छ।
उनी भन्छन्, “अपरेशनका लागि धेरै समय कुर्न पर्दैन।”
अस्पतालले अहिले क्यान्सरबाहेक डायलाइसिस, आईसीयू, एनआईसीयू, म्यामोग्राफी, एमआरआई, सीटी स्क्यानजस्ता सेवा दिने गरेको छ।
मुटुबाहेक हाडजोर्नी, न्यूरोसर्जरी, नाक, कान, घाँटी, पत्थरीलगायतका शल्यक्रिया अस्पतालमा हुने भएकोले कर्णालीवासीलाई ठूलो राहत भएको मानिएको छ।
सूचना दिनेलाई पुरस्कार
अस्पतालमा बिरामी जाँच गर्न जानुअघि हरेक दिन बैठक बसेर अघिल्लो दिनका कामको समीक्षा र सम्बन्धित दिन गरिने कामको बारेमा छलफल हुन्छ।
अस्पतालका कुनै पनि कर्मचारीले बिरामीलाई निजीमा लगे वा पठाएमा कारबाही गर्ने भनिएको छ।
त्यस्तो सूचना दिने व्यक्तिलाई अस्पतालले १० हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरेको छ। तर अहिलेसम्म कोही पनि कारबाहीमा नपरेको अस्पतालको भनाइ छ।
बिरामीको चाप बढ्न थालेपछि जनरल ओपीडी सेवा बिहान ८ देखि साँझ ५ बजेसम्म चलाइएको छ।
एमडी/एमएस जनशक्ति उत्पादन गर्न प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने योजनामा निर्देशक खड्का छन्।
“प्रतिष्ठान बनाए कर्णालीका सबै जिल्लाबाट विशषज्ञ सेवा पनि दिन सकिन्छ। जनताले पनि नयाँपन, नयाँ गुणस्तर र नयाँ सुविधा पाउँछन्,” उनी भन्छन्।
आरोप र आत्मविश्वास
प्रदेश अस्पताललाई राम्रो बनाउने क्रममा धेरै खालका चुनौतीसँग जुध्नु परेको निर्देशक खड्का बताउँछन्।
“धेरैले आक्षेप पनि लगाए। तर हिम्मत हारिएन। चुनौतीलाई अवसरको रूपमा लिइयो,” उनी भन्छन्।
“जसले जे भन्यो त्यसैको पछि नेतृत्वकर्ता लाग्नु हुँदैन। त्यस्तो गर्न थाल्यो भने संस्थालाई राम्रो हुँदैन।”
प्रदेश अस्पताल सुधारका लागि उल्लेखनीय काम गरेको भन्दै उनलाई विभिन्न पुरस्कार र सम्मान पाएका छन्।
प्रदेश अस्पतालको लागि एमआरआई मेसिन खरिद गर्दा मिलेमतोमा कमलाई बढी मूल्यमा किनेको, अस्पतालले चाहेजस्तो सेवा सुविधा दिन नसकेको, शक्ति र पहुँचको आडमा निर्देशक खड्काले मनपरी ढङ्गले अस्पताललाई चलाएको जस्ता आरोप लगाउनेहरू पनि छन्।
तर डाक्टर खड्का ती आरोप अस्वीकार गर्छन्।
उनी भन्छन्, "ती आरोपमा कुनै सत्यता छैन। आफूले केही गडबड नगरेको हुनाले त्यस्ता आरोपप्रति मैले खासै पर्बाह गरेको छैन। आफू ठिक र अनुशासनमा बस्नै हो। भन्नेहरूको मुख छेक्दै जान सकिँदैन। यदि गल्ती नै गरेको भए कसैले छोड्थ्यो, उहिले नै ठिक पारी हाल्थे नि ?"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।