तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
धवलागिरि हिमालमा मृत्यु भएका रुसी पर्वतारोहीको शव ल्याउन के गरिँदै छ?
पश्चिम नेपालको म्याग्दी जिल्लामा पर्ने धवलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका पाँच जना रुसी पर्वतारोहीहरूको शव निकालेर ल्याउन एउटा हेलिकप्टर उक्त हिमालको आधार शिविरतर्फ पठाइएको नेपाली अधिकारीहरूले बताएका छन्।
यसअघि उनीहरूले खर्च कसले र कसरी बेहोर्ने भन्ने टुङ्गो लाग्न नसकेकाले शव ल्याउन अझै केही दिन लाग्न सक्ने बताएका थिए।
तर मृतक पर्वतारोहीहरूले बिमा गरेका कम्पनीहरूले बिमाबापतको रकमबाट शव ल्याउँदा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने भएपछि एउटा हेलिकप्टर घटनास्थलतर्फ गएको बताइएको छ।
आफ्ना नागरिकहरूको शव कसरी र कहिलेसम्म ल्याइन्छ भन्नेबारे काठमाण्डूस्थित रुसी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत् चासो व्यक्त गरेको पनि नेपाली अधिकारीहरूले बताएका छन्।
पर्वतारोहणबारे जानकार व्यक्तिहरूकाअनुसार हिमाल आरोहणका बेला यसरी मृत्यु भएका व्यक्तिहरूको शव त्यहाँबाट निकालेर ल्याउने प्रक्रिया निकै जोखिमपूर्ण, जटिल र खर्चिलो हुने गर्छ।
त्यसले गर्दा यदि पर्वतारोहीले बिमा गरेको छ र बिमाले रकम बेहोर्ने भएमा वा परिवार वा सम्बन्धित देशको सरकारले नै खर्च बेहोर्ने सुनिश्चित भएमा मात्र शव निकाल्ने प्रक्रिया सुरु गरिने उनीहरू बताउँछन्।
पर्यटन विभाग के भन्छ?
पर्यटन विभागको पर्वतारोहण शाखाका प्रमुख राकेश गुरुङले धवलागिरिमा पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको पुष्टि भएको र शव ल्याउन उद्धारकर्तासहित हेलिकप्टर गइसकेको बताए।
उनले भने, "हामीले उनीहरूको आरोहण व्यवस्थापन गरिरहेको एजेन्सीलाई बोलाएका छौँ। उहाँहरूसँग पनि छलफल गरेपछि शव कसरी ल्याउने भन्नेबारे टुङ्गो लाग्छ।"
अग्ला हिमालहरूको अति भिरालो भूगोल हुने र उचाइमा मानिसहरूले भार बोक्न सक्ने क्षमतामा ह्रास आउने भएकाले शवलाई उठाएर ल्याउन निकै कठिन हुने जानकारहरू बताउँछन्।
पर्वतारोहणको नियमित बाटोबाट तल खसेका हुनाले ती व्यक्तिहरूको शव निकाल्न ज्यान जोखिममा राखेर काम गर्नुपर्ने अवस्था देखिएको बताइएको छ।
हिमालबाट शव निकालेको अनुभव भएका शेर्पाहरूका अनुसार धेरै उचाइमा र खोँचमा खसेको अवस्थामा शवहरू निकाल्न धेरै कठिन हुन्छ।
उनीहरूका भनाइमा जोखिमयुक्त र निकै कठिन हुने भएकाले हिमालबाट शवहरू निकाल्ने कामको पारिश्रमिक पनि उच्च हुन्छ।
आरोहण व्यवस्थापन गर्ने कम्पनीले ती रुसी नागरिकको मृत्युबारे सरकारी निकायले पुष्टि नगरेकै अवस्थामा हेलिकप्टरबाट हेर्दा उनीहरूको मृत्यु भएको देखिएको जनाएको थियो।
त्यसैक्रममा उसले धेरै उचाइमा भएका कारण उनीहरूलाई हेलिकप्टरमा डोरी झुन्ड्याएर गरिने उद्धार ‘लङ लाइन रेस्क्यू’ गर्न सम्भव नदेखिएको बताएको थियो।
उक्त कम्पनीमा संलग्न व्यक्तिहरूले दिएको जानकारीअनुसार कतिपय पर्वतारोहणमा आउने विदेशी नागरिकहरूले आफ्नो मृत्यु भएमा शव निकालेर परिवारसम्म पुर्याइदिनका लागि समेत खर्च बेहोरिदिने खालको बिमा गरेका हुन्छन्।
रुसी पर्वतारोहीले पनि त्यस्तै खालको बिमा गरेकाले बिमा कम्पनी र नेपालका हेलिकप्टर कम्पनीबीच सहमति भएर शवहरू ल्याउन हेलिकप्टरलाई त्यहाँ पठाइएको हो।
जानकारहरू भन्छन् यदि बिमा कम्पनीहरूले शव ल्याउँदा लाग्ने खर्च बेहोर्न चाहेनन् भने मृतकका परिवार वा रुसी दूतावासले खर्च बेहोर्ने सर्तमा मात्र शवहरू ल्याउने अवस्था बन्न सक्थ्यो।
तर अहिले त्यो अवस्था नआएको र अब चाँडै शवहरू काठमाण्डू आइपुग्ने ठानिएको अधिकारीहरूले बताएका छन्।
रुसी दूतावासको चासो
आफ्ना नागरिकहरूको निधन भएको खबर आएपछि काठमाण्डूस्थित रुसी दूतावासले उनीहरूको शव ल्याउने विषयमा चासो राखेको अधिकारीहरूले बताएका छन्।
"परराष्ट्र मन्त्रालयमार्फत् हाम्रो मन्त्रालय (पर्यटन)लाई सम्पर्क गरिएको रहेछ। त्यसबारे हामीलाई पनि सोधिएको छ। अहिलेसम्मको विवरण हामीले अवगत गराएका छौँ," विभागका गुरुङले भने।
उक्त घटना भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ती पाँच आरोहीको मृत्यु भएको पुष्टि भए पनि "प्रहरी घटनास्थलमा जान सक्ने अवस्था" नभएको बताए।
"हेलिकप्टरबाट त्यहाँ झरेर वा अन्य केही उपायद्वारा शव निकाल्नुपर्ने अवस्था रहेको बुझिएको छ। प्रहरी गएर शव निकाल्ने अवस्था छैन," उनले भने।
रुसी आरोहीको निधन कसरी भयो?
उनीहरूको आरोहण व्यवस्थापन गरिरहेको आईएम ट्रेकिङ एन्ड एक्सपिडिशन कम्पनीका प्रबन्ध निर्देशक पेम्बा जाङ्बु शेर्पाले मङ्गलवार उनीहरू चिप्लिएर लडेको आशङ्का गरिएको बताएका थिए।
“उनीहरू चिप्लिएर लडेको जस्तो देखिएको छ। एउटै डोरीमा भएका कारण एक जना लड्दा सबैजना लडेका हुन सक्छन्,” जाङ्बुले भनेका थिए।
पर्यटन विभागले उनीहरू ७,६०० मिटरको उचाइमा देखिएको जनाएको थियो।
आईएम ट्रेकिङ एन्ड एक्सपिडिशनका निर्देशक शेर्पाका अनुसार छ जनामध्ये पाँच जना आइतवार ४ बजे ८ हजार १६७ मिटर उचाइको विश्वको सातौँ अग्लो हिमाल धवलागिरिको शिखर नजिक पुगेका थिए।
तर खराब मौसमका कारण उनीहरू आरोहण नगरी फर्किएको पाइएको पर्यटक विभागका प्रवक्ता गुरुङले बताएका छन्।
"बीच बाटोबाटै फर्किएका उनीहरूको टोलीका एक जनाले खराब मौसमका कारण माथि नजान भने पनि उनीहरू मानेका थिएनन्। तर केही समयपछि रेडिओ सेटमा उनीहरूले आरोहण परित्याग गरेर तल झर्दै गरेको बताएका रहेछन्," गुरुङले भने।
फर्कने क्रममा खराब मौसमका कारण उनीहरूको यात्रा केही ढिलो भएको थियो। दुर्घटनामा पर्नुभन्दा केही समय अघिसम्म रुसी आरोहीहरूको टोलीले आधार शिविरमा सम्पर्क गरिरहेको थियो।
“उनीहरूले राती ११ बजे ७,७०० मिटरसम्म आइपुगेको जानकारी बेस क्याम्पमा गराएका थिए। त्यहाँभन्दा ३०० मिटर तल मात्रै क्याम्प फोर थियो। तर क्याम्प फोरमा सम्पर्क नभएपछि खोजी सुरु गरिएको थियो,” आरोहण व्यवस्थापन कम्पनीका शेर्पाले भने।
शेर्पाका अनुसार क्याम्प फोरमा जडान गरिएको सञ्चार प्रणालीबाट जवाफ नआएपछि उनीहरूलाई खोज्न सोमवार हेलिकप्टर पठाउने प्रयास गरिएको थियो। तर खराब मौसमका कारण सोमवार दिनभरि हेलिकप्टर पठाउन सकिएन। मङ्गलवार उनीहरूसँगै आएका एक जना रुसी पर्वतारोही सहित हेलिकप्टरमा गएका उद्धारकर्मीहरूले पाँचै जनाको मृत्यु भएको निष्कर्ष निकालेका थिए।
अल्पाइन स्की गाइड भएका कारण रुसी टोली अक्सिजन नलिई धवलागिरिको आरोहणका लागि गएको थियो। उनीहरूसँग शेर्पा गाइड पनि थिएनन्।
उनीहरूले आफ्नो साथमा लिएर गएको आपत्कालिन अक्सिजन पनि क्याम्प फोरमै छोडेका थिए।
“अल्पाइन आरोहीहरूले अक्सिजन लिएर जाँदैनन्। इमर्जेन्सी अक्सिजन पनि क्याम्प फोरमा छोडेका थिए,” शेर्पाले भने।
शेर्पाका अनुसार छ जनाको टोली मध्ये एक जनाले ७,६०० मिटर आसपासको क्षेत्रबाट आरोहण त्यागेर फर्किएका थिए।
उनका अनुसार १६ जनाको समूहमा आएका रुसीहरूले दुई टोलीमा आरोहण सुरु गरेका थिए।
त्यसमध्ये पहिलो टोलीका आठ जनामध्ये छ जनाले स्वास्थ्यका कारण आरोहण त्याग गरेका थिए।
बाँकी दुई जना सफल आरोहण सकेर आधार शिविर फर्किइसकेका थिए। बाँकी छ जनाको दोस्रो टोली भने अनुकूल मौसमको पर्खाइमा आरोहणका लागि केही ढिलो शिखरतर्फ पुगेको थियो।
धवलागिरी हिमाल आरोहणका लागि नेपालीहरूका लागि १० हजार रुपैयाँ प्रतिव्यक्ति र विदेशीहरूका लागि १,८०० अमेरिकी डलर रोयल्टी शुल्क तोकिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।