तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शिक्षा र पर्यटनमार्फत् विदेशिने रकम बढ्दो, यसरी हुन सक्छ नियन्त्रण
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपालबाट खास गरी शिक्षा र पर्यटनका लागि विदेश जाने नेपालीमार्फत् ठूलो रकम बाहिरिएको भन्दै त्यसलाई कम गर्ने योजना बनाएर कार्यान्वयन गरिनुपर्ने विज्ञहरूले बताएका छन्।
विगत वर्षहरूको तथ्याङ्क हेर्दा नेपाली विदेश जाँदा बाहिरिने रकम बढिरहेका बेला त्यसलाई कम गर्नका लागि शिक्षा क्षेत्रका विकृति हटाउनेदेखि पर्यटनका लागि पूर्वाधार निर्माणसम्मको काम गर्नुपर्ने देखिएको विज्ञहरूले बताएका हुन्।
नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालबाट गत आर्थिक वर्षमा नेपाली विदेश जाँदा २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ बाहिरिएको छ।
त्यसरी बिदेसिएको रकममा शैक्षिक प्रयोजनका लागि जाने विद्यार्थीले एक वर्षमा १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ र घुमघामका लागि विदेश जाने नेपालीहरूले ८० अर्ब रुपैयाँभन्दा बढी विदेश लगेका थिए।
अघिल्लो आर्थिक वर्षमा विदेश पढ्न जाने विद्यार्थीले १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ देशबाट बाहिर लगेका थिए।
राष्ट्र ब्याङ्कको तथ्याङ्क हेर्दा बिदेसिने ठूलो रकममध्ये पहिलो शिक्षा र दोस्रो पर्यटनमा भएको देखिँदा यी क्षेत्रमा सुधार गर्न आवश्यक योजना बनाएर कार्यान्वयन गर्न विज्ञहरूले सल्लाह दिएका छन्।
विद्यार्थी बाहिरिनुको कारण शिक्षा कि रोजगारी?
देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था भए पनि यहाँ परीक्षा हुन समय लाग्ने र बन्दहडतालका कारण समयमा पढाइ पूरा नहुने भन्दै धेरै विद्यार्थीहरू विदेश जाने गरेका छन्।
त्यसबाहेक कतिपयले पढाइको गुणस्तरका लागि पनि विदेशको विश्वविद्यालय रोज्ने गरेको बताउने गरेका छन्।
तर विज्ञहरू भने अन्य कारणले विदेश जाने भए पनि शिक्षाको गुणस्तरका कारण विदेश गएको भन्न नमिल्ने बताउँछन्।
काठमाण्डू विश्वविद्यालयका उपकुलपति अच्युत वाग्ले नेपालबाट विभिन्न विषयमा अध्ययन गरेका विद्यार्थीहरूले विदेशमा काम पाएको हेर्दा यहाँको शिक्षाको गुणस्तर कमजोर भन्न नमिल्ने बताउँछन्।
"यहाँ उत्पादन भएका हजारौँ नर्सहरू अहिले अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका देशमा काम गरिरहेका छन्। इन्जिनियरहरू यहाँ पढाइ नसक्दै त्यहाँ काम पाउँछन्। हाम्रा डाक्टरले अमेरिकाको 'यूएसएमएलई' (अमेरिकाको चिकित्सा अनुमतिपत्र परीक्षा)मा ठूलो सङ्ख्यामा पास गर्ने, वातावरण वैज्ञानिक संसारभरि छन्। त्यसैले नेपालका मुख्य विश्वविद्यालयहरूमा शिक्षाको गुणस्तरको कुरा हुँदै होइन," उनले भने।
तर शिक्षापछि आकर्षक रोजगारी नभएका कारण विद्यार्थीहरू विदेशमै पढ्ने र त्यही रोजगारी खोज्न चाहेको उनले बताए।
इच्छाइएको तलब दिने स्तरको रोजगारी बजारमा उपलब्ध गराउन नसक्नु र समाजमा सबै जना विदेश जाने क्रम देखिएपछि पनि विद्यार्थी बिदेसिने क्रम बढ्दै गएको उनी ठान्छन्।
उनका अनुसार समाजप्रति उत्तरदायी हुनुपर्ने कुरा विद्यालय शिक्षादेखि नै विद्यार्थीलाई पढाउन नसक्नु पनि विद्यार्थीलाई नेपालमै राख्न नसक्नुको अर्को कारण हो।
"यो देशको सम्भावना, यहाँका सकारात्मक पक्ष, वातावरण, समाज अध्ययन केही पनि नभएको कारण राष्ट्र र समाजप्रतिको अट्याच्मेन्ट नभएको हो," काठमाण्डू विश्वविद्यालयका उपकुलपति वाग्लेले भने।
सुधार कसरी
विश्वविद्यालयमा समयमा पढाइ पूरा नहुने वा शैक्षिक संस्थामा हुने हडताल कारक रहेको पक्षमा सुधार गर्नुपर्ने उनी बताउँछन्।
"मुख्य राजनीतिक शक्तिहरूले विचार गर्नुपर्ने कुरा के हो भने राजनीतिक कारणले शैक्षिक सत्रचाहिँ नबिथोलियोस् भन्ने विचार गर्नुपर्छ।"
उनी आफैँ उपकुलपति भएको विश्वविद्यालयमा पनि बेलाबेला कार्यालय बन्द गरिएका वा हडताल हुने गरेका विवरण आउँछन्।
तर कहिलेकाहीँ बन्द गरिए पनि काठमाण्डू विश्वविद्यालयमा परीक्षाको क्यालेन्डरमा कहिल्यै पनि 'तलमाथि हुन नदिएको उनले दाबी गरे।
भूतपूर्व अर्थसचिव रामेश्वर खनाल पनि शैक्षिक क्यालेन्डर व्यवस्थापन र पर्यटन पूर्वाधार विकास गर्न सके नेपालीको विदेश गएर रकम बाहिरिने क्रममा कमी आउने ठान्छन्।
"कम्तीमा पनि शैक्षिक क्यालेन्डरको परिपालना गर्न सकियो भने विदेश जाने विद्यार्थीको क्रम कम हुन्छ भन्ने हाम्रो अनुमान हो," उनले भने।
"चार वर्षमा सकिने कोर्स पाँच वर्षभन्दा बढी लगाइदिएपछि विद्यार्थी बाहिर जान खोज्छन्। अनि चिकित्सा विज्ञानजस्तो विषयमा एमबीबीएस वा एमडी गर्न यहाँ सीट नपाएका विद्यार्थी बाहिरिन्छन्; ठूलो रकम त्यसरी पनि बाहिर जाने गरेको छ।"
शिक्षाको गुणस्तरको विषयमा उनको पनि वाग्लेको जस्तै धारणा छ।
डाक्टर, नर्स, इन्जिनिअरदेखि धेरै विषयमा नेपालमा अध्ययन गरेका विद्यार्थीहरूले विदेशमा दक्ष जनशक्तिका रूपमा काम गरिरहेको उदाहरण दिँदै उनले शिक्षाको गुणस्तर कम भएका कारण विद्यार्थी विदेश गएको भन्न नमिल्ने बताए।
विद्यार्थीलाई रोक्न नेपालमै विश्वविद्यालय र शैक्षिक संस्थाले समयमा पढाइ गर्ने र क्यालेन्डर व्यवस्थापन गर्ने अनि राजनीतिक हस्तक्षेप नहुने भए समस्या घट्दै जाने उनी ठान्छन्।
त्यसबाहेक रकम बाहिर जाने पर्यटन क्षेत्रका लागि भने नेपालभित्रै पूर्वाधार विकास गर्ने र पर्यटकीय गन्तव्यलाई व्यवस्थित गर्नुपर्ने उनी ठान्छन्।
सरकार के गर्दै छ?
राष्ट्रिय योजना आयोगको १६ औँ योजनामा शिक्षा, रोजगारी र पर्यटन पूर्वाधारसम्बन्धी यी विषयहरू समेटिएको आयोगका अधिकारीहरूले बताएका छन्।
आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले अहिले जुन रूपमा नेपाली रकम बिदेसिएको छ, त्यो त्यति धेरै चिन्ता गर्नुपर्ने विषय नरहेको बताए।
तर आयोगले यस विषयमा विगतमा छलफल गरेर योजनाहरूमा पनि समेटेको उनले बताए।
नेपालबाट विदेश घुम्न जाने नेपालीका कारण रकम बाहिरिने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न सरकारले अतिरिक्त कर लगाएको तर त्यो त्यति धेरै प्रभावकारी नभएको श्रेष्ठले बताए।
विश्वव्यापी प्रवृत्ति हेर्दा पनि पढ्न वा घुम्नका लागि विदेश जाने क्रम बढ्दै गइरहेका बेला यसलाई रोक्न नसकिने बरु सम्बोधनका लागि नेपालमै रोजगारी सिर्जना गर्ने र पर्यटकका लागि पूर्वाधार विकास गर्ने जस्ता योजनाहरूबारे छलफल भएको उनले बताए।
"सोह्रौँ योजनामा भएका नीति तथा कार्यक्रमहरूमा यी सबै कुरा समेटिएका छन्। कतिपय कार्यान्वयन प्रभावकारी नहुने प्रवृत्तिचाहिँ छ," योजना आयोगका सदस्य श्रेष्ठले भने।
"पूर्वाधार बनाउन सकियो र शिक्षाको गुणस्तर सुधार गर्न सकियो भने यी कतिपय कुरा स्वतः कम हुन सक्छ।"
पर्यटन पूर्वाधारका कुरा गर्दा कतिपय सुगम ठाउँमा बाटो बिग्रिएको अवस्था छ भने दुर्गममा बाटो पुग्नै सकेको छैन।
"विदेश गइसकेका विद्यार्थीलाई फर्काउनका लागि रोजगारी सिर्जना गर्न सक्नुपर्छ। यसैमा धेरै फोकस गरिएको चाहिँ छैन," उनले भने।
"नीति तथा योजनाअनुसार कार्यान्वयनको सवालमा फोकस गरिरहेका छौँ। कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूलाई ताकेता पनि गरिरहेका चाहिँ छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।