लेबननमा इजरेली बम हमला कति भयानक? भूउपग्रहबाट प्राप्त तस्बिरले देखायो यस्तो परिदृश्य

    • Author, अहमद नूर र इर्वान रिभल्ट
    • Role, बीबीसी अरेबिक र भिजूअल जर्नलिजम

लेबननमा इजरेलको चर्को बमबारीका कारण दुई सातामा भवनहरूमा पुगेको क्षति हिज्बुल्लाह र इजरेलबीच सीमावारिपारि भएको लडाइँको भन्दा बढी रहेको बीबीसीले अध्ययन गरेका भूउपग्रहमा आधारित रेडार डेटाले देखाएको छ।

डेटाहरूका अनुसार अक्टोबर २ देखि १४ सम्ममा लेबननमा ३,६०० वटा भन्दा धेरै भवनहरू क्षतिग्रस्त वा ध्वस्त भएका छन्। यो सङ्ख्या हमासले गत वर्ष अक्टोबर ७ मा इजरेलमा हमला गरेको एक दिनपछि इजरेल र हिज्बुल्लाहबीच सङ्घर्ष सुरु भएपछि भएको क्षतिको ५४ प्रतिशत हो।

क्षतिको यस्तो विवरण सिटी यूनिभर्सिटी अफ न्यूयोर्कका कोरी शेर र ओरिगन स्टेट यूनिभर्सिटीका यामोन भान डेन होइकले सङ्कलन गरेका हुन्। रेडार भूउपग्रहबाट तस्बिरहरू तुलना गर्दै उनीहरूले भवनका उचाइ वा संरचनामा अचानक देखा परेको परिवर्तनका आधारमा क्षतिको आकलन गरेका छन्।

ती डेटाको समीक्षा गरेका पर्यावरणविद् भिम ट्स्विनन्बर्गले इजरेली बमबारीको असरबारे चेतावनी दिएका छन्। उनी प्याक्स फर पीस नामक संस्थासँग आबद्ध छन्।

“इजरेली सैन्य कारबाहीले दक्षिणी लेबननबाट मानिसहरूलाई बाहिर निकाल्न 'डेड जोन' बनाए जस्तो देखिन्छ। त्यसले हिज्बुल्लाहलाई सर्वसाधारण नागरिकको मूल्यमा आफ्ना आधारस्थल पुनर्स्थापित गर्न कठिन हुने देखिन्छ।”

गत वर्ष हमासले दक्षिणी इजरेलमा घातक हमला गरेको एक दिनपछि लडाकु समूह हिज्बुल्लाहले लेबननी भूमिबाट सीमापारि इजरेलमा आक्रमण गर्न थालेको थियो।

हिज्बुल्लाहसँगको तनाव नाटकीय रूपमा तनाव चर्किएपछि सेप्टेम्बर ३० मा इजरेली सेना दक्षिणी लेबननमा प्रवेश गर्‍यो। इजरेलले त्यस कदमलाई हिज्बुल्लाहका अस्त्र र पूर्वाधार नष्ट गर्न “सीमित, स्थानिक र लक्षित कारबाही" भनेको छ।

भूउपग्रहबाट खिचिएका तस्बिर, रेडार दृश्य र सैन्य विवरणहरूले देखाएअनुसार लेबननमा पछिल्लो समयमा भएको जरेली बमबारी दक्षिणको सीमावर्ती क्षेत्रमा केन्द्रित छ।

बमबारी मध्यलेबनन र बेका उपत्यका तथा बेइरुतको दक्षिणी भागमा अवस्थित उपनगरहरूसहित उत्तरी लेबननमा पनि हुन थाल्यो।

इजरेली सेनाले हिज्बुल्लाहलाई लक्षित गर्दै लेबननभरि बेइरुतसहित हजारौँ स्थानमा आक्रमण गरेको छ।

बेइरुतमा अधिकांश हमलामा हजारौँ सर्वसाधारण मानिसको बसोबास भएको दक्षिणी उपनगर दाहिअमा भएको छ।

इजरेली सेनाले उक्त क्षेत्रमा हिज्बुल्लाहको कमान्ड मुख्यालय रहेको दाबी गरेको छ।

सेप्टेम्बर २७ मा उक्त क्षेत्रमा गरिएका शृङ्खलाबद्ध हमलामा हिज्बुल्लाहका नेता हसन नस्रल्लाहको ज्यान गएको थियो।

सीमावारि र पारि भएको सङ्घर्ष

अमेरिकामा रहेको आर्म्ड कन्फ्लिक्ट लोकेशन र इभेन्ट डेटा प्रोजेक्ट (एसिएलईडी)को अलग्गै विवरण र बीबीसीले गरेको समीक्षाअनुसार इजरेली सेनाले लेबननी क्षेत्रमा सन् २०२४ को सेप्टेम्बर १ देखि अक्टोबर ११ बीचमा कम्तीमा २,७०० पटक हमला गरेको देखिन्छ।

ती हमला मुख्यतः दक्षिणी सीमावर्ती क्षेत्रमा केन्द्रित थिए। यद्यपि इजरेलले उत्तरी र मध्य क्षेत्रमा पनि हमला गर्न थाल्यो।

सोही समयमा हिज्बुल्लाहले इजरेलविरुद्ध ५४० वटा हमला गरेको एसीएलईडीले जनाएको छ। हिज्बुल्लाहले प्रत्येक आक्रमणमा एकैपटक कैयौँ रकेट, क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गर्न सक्छन्।

इजरेली सेनाले लेबननमा गरिएका हवाई आक्रमणहरू हिज्बुल्लाहका भौतिक पूर्वाधारमा लक्षित रहेको जनाएको छ।

इजरेलले हिज्बुल्लाहले गरेका हमलाबाट सीमावर्ती क्षेत्रमा विस्थापित हजारौँ इजरेलीहरूलाई सुरक्षित घर फर्काउन चाहेको छ।

हिज्बुल्लाहबाट दिनहुँ हुने हमलाका कारण उत्तरी इजरेलबाट झन्डै ६०,००० मानिस विस्थापित भएका छन्। हिज्बुल्लाहले प्रहार गरेका केही रकेट अझ दक्षिणसम्म पुगेका छन् र तिनले तटीय नगर हाइफामा घरहरू ध्वस्त बनाएका छन्।

लेबननतर्फ धेरै हवाई हमलाहरू तायर सहर, बेका उपत्यका र राजधानी बेइरुतमा केन्द्रित रहेको एसीएलईडीले सङ्कलन गरेको नयाँ मासिक डेटा मूल्याङ्कन गर्ने क्रममा बीबीसीले पाएको छ।

लेबनन सरकारले १३ लाखजति मानिस आन्तरिक रूपमा विस्थापित भएको जनाएको छ।

त्यहाँका प्रधानमन्त्री नजिब मिकातीले देशकै इतिहासमा "सर्वाधिक मानिस विस्थापित" हुने चेतावनी दिएका छन्।

आईडीएफले बेइरुतका केही क्षेत्रसहित देशभरि मानिसहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको छ।

दक्षिणमा इजरेली सेनाले कैयौँ गाउँका बासिन्दालाई घर छाडेर "तत्काल अवाली नदीको उत्तरतर्फ जान" निर्देशन दिएको छ। उक्त क्षेत्र इजरेली सीमाबाट ५० किलोमिटर टाढा समुद्री तटसँग जोडिन्छ।

“यो भयावह मानवीय सङ्कटको अवस्था हो,” बेइरुतस्थित ब्रिटिश रेडक्रसका मध्यपूर्व व्यवस्थापक ग्याब्रिएल कार्ल्सनले बीबीसीसँग भने। उनले त्यति धेरै विस्थापित मानिसहरूलाई राख्न पर्याप्त आश्रयस्थल नरहेको जनाए।

“मैले बालबालिकाहरू सडकमा सुतिरहेको देखेँ।” उनले बढ्दो सङ्कटका बेला सहकार्य गर्न मानवीय संस्थाहरूलाई आग्रह गरेका छन्।

लेबननी अधिकारीहरूले इजरेलले गरेका हमलामा कम्तीमा २,३५० जना मारिनुका साथै १०,००० जनाभन्दा धेरै घाइते भएको बताएका छन्। लेबननका स्वास्थ्यमन्त्रीले हताहत हुने अधिकांश मानिस सर्वसाधारण नागरिक रहेको बताएका छन्।

इजरेली सैन्य गुप्तचर निकायका पूर्वप्रमुख आमोस याड्लिनले युद्धमा लक्षित नगरिएका मानिसहरूलाई क्षति पुग्ने कुरा टार्न नसकिने बीबीसीलाई बताए।

सेवानिवृत्त मेजर-जेनरलले यो अवस्था हिज्बुल्लाहका कारण आएको भन्दै इजरेलको स्थल कारबाहीले उक्त समूहलाई सीमावर्ती क्षेत्रबाट पर धकेल्ने बताए।

यद्यपि प्याक्स फर पीसका ट्स्विनेन्बर्गले इजरेलको सैन्य अभियानले सर्वसाधारण मानिस र उच्च जनघनत्व भएका क्षेत्रमा पर्ने असरप्रति ध्यानाकर्षण गराएका छन्।

“ठूला विस्फोटनले छेउछाउमा भएका सर्वसाधारण मानिसको ज्यान लिनुका अङ्गभङ्ग गराएका छन्,” इजरेली हवाई हमलालाई सङ्केत गर्दै उनले भने।

“ओपन-सोर्स डेटा र भूउपग्रहका दृश्य एकसाथ राखेर हेर्दा सिँचाइका लागि बनाइएका नहर, ग्यास स्टेशन र विद्युत् आपूर्ति गर्ने ग्रिडजस्ता गैरसैनिक पूर्वाधारहरू ध्वस्त भएको देखिन्छ। त्यसले मानवीय अवस्थालाई खराब पारेको छ,” उनले भने।

पोल कुसिएक र मारिया रशिदको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।