जापनीज एन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो, कारणबारे 'स्पष्टता' खोज्दै सरकार

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा जापनीज एन्सेफलाइटिसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या यस वर्ष दुई दर्जन पुग्दा स्वास्थ्य अधिकारीहरूले "खोपको दायरामा समस्या देखिएको हुन सक्ने" भन्दै चिन्ता व्यक्त गरेका छन्।
विगतका वर्षमा सङ्क्रमण कम भईकन पनि मृत्यु बढी हुने प्रवृत्ति देखिएकामा यसपटक सङ्क्रमण नै धेरै देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार मङ्गलवार दिउँसोसम्म देशैभरि २४ जनाको मृत्यु भएको बताइएको छ। कात्तिक-मङ्सिरसम्मै यसको सङ्क्रमण फैलने जोखिम हुने भएकाले यसपटक मृत्युको सङ्ख्या अझ बढ्न सक्ने चिन्ता पाइन्छ।
नियमित खोप सेवाअन्तर्गत १२ महिनाको उमेरमा बालबालिकालाई जापनीज एन्सेफलाइटिसको खोप लगाउने गरिन्छ। तर त्यो छुटेको अवस्थामा पाँच वर्षभित्र समेत लगाइने गरेको अधिकारीहरू बताउँछन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बीबीसीसँग भने, "सबैले खोप नलगाएका हुन् कि भन्नेजस्तो पनि देखिन्छ किनकि प्राय: सङ्क्रमित र मृत्यु हुनेहरू खोप नलगाएकाहरू परेका छन्।"
गत वर्षभरि नेपालमा ८६ जनामा यस रोगको सङ्क्रमण देखिएकामा यो वर्ष हालसम्म ११० कटिसकेको सरकारी विवरण छ।
जापनीज एन्सेफलाइटिस भाइरसबाट हुने रोग हो। यो भाइरस क्युलेक्स लामखुट्टेले सार्छ।
यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन्। यो रोगको भाइरसबाट सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ।
सङ्क्रमण फैलिरहँदा सरकारले पशु सेवा विभागमार्फत् सुँगुरका खोर सरसफाइ तथा तिनलाई यस रोगविरोधी खोप लगाउने काम गरिरहेको बताउँछन्।
नयाँ खोप अभियान आवश्यक भएको हो?
सरकारले अन्तिम पटक सन् २०१६ मा बालबालिका र वयस्कदेखि ज्येष्ठ नागरिकसम्म सबैलाई उक्त रोगविरुद्ध विशेष खोप अभियान चलाएको थियो।
"त्यतिखेर पहाडी भेगका केही मानिसहरूले आफ्नोतिर न लामखुट्टे हुने, न यस्तो रोग फैलने भन्ने ठानेर नलाएका हुन सक्छन्। तिनै अहिले तराईमा बसाइँसराइ गरेको कारणले अहिलेको सङ्क्रमण तिनै मानिसहरूमा धेरै भएको र मृत्यु भएकाहरू पनि तीमध्येकै हुन् कि भन्ने छ। त्यसमा स्पष्टता खोजिँदै छ," प्रवक्ता डा बुढाथोकीले भने।
"सङ्क्रमितहरूमध्ये एक जना जुम्ला जिल्लाका समेत छन्। तर मङ्गलवार दिउँसोसम्मको विवरणमा मृत्यु हुने सबै तराईका जिल्लाका छन्।"

तस्बिर स्रोत, Getty Images
विगतमा सरकारको खोप विज्ञ समिति संयोजक रहेर काम गरिसकेका जनस्वास्थ्यविज्ञ डा. श्यामराज उप्रेती मृत्युका घटना केलाउँदा यससम्बन्धी खोजको कभरेजमा स्वाभाविक रूपमा प्रश्न खडा भएको बताउँछन्।
"अहिले हामीले कुन जिल्लामा, कुन उमेर समूह वा जातिमा जोखिम छ भन्ने मूल्याङ्कन गरेर जोखिमयुक्त समूहमा लक्षित रूपमा खोप अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ," डा उप्रेती भन्छन्।
उनी सन् २००६ मा नेपाल सरकारले बाँके, बर्दिया, दाङ र कैलाली जिल्लामा एक वर्षभन्दा माथिल्लो उमेरका सबैलाई खोप लगाएको स्मरण गर्दै त्यसको सकारात्मक प्रभाव अहिलेसम्म ती जिल्लामा देखिएको बताउँछन्।
"अहिले भएका मृत्युलाई केलाउँदा जसरी धेरैजसो खोप नलगाएका मानिसहरू देखिएका छन् त्यसले खोपको कभरेज कम भएर हो कि भन्ने सङ्केत गर्छ," जनस्वास्थ्यविज्ञ डा उप्रेती भन्छन्।
"गत वर्ष यही समयको तुलनामा सङ्क्रमण र मृत्यु बढिसकेकाले यो वर्ष प्रकोप अझ बढी हुने सम्भावना देखिएको छ। सतर्क हुन आवश्यक छ।"
फैलँदो प्रभाव
गत वर्ष कुल अवधिमा २९ जनाको मृत्यु भएकामा बर्खा सकिनै बाँकी रहेको एवं हिउँदअघिसम्म यसको जोखिम रहेकाले यस पटकको अवस्थालाई विज्ञहरू थप चिन्ताजनक बताउँछन्।
सामान्यतः १५ वर्षभन्दा कम उमेर समूहका बालबालिका एवं विभिन्न स्वास्थ्य अवस्थाका कारण जोखिम समूहमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक एवं प्रतिरोधी क्षमता कम भएका समूहका मानिसहरू जापनीज एन्सेफलाइटिसको जोखिममा रहने बताइन्छ।
एशियामा प्रत्येक वर्ष झन्डै एक लाख जनामा जापनीज एन्सेफलाइटिस पुष्टि हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।

तस्बिर स्रोत, MOHP
यो रोगको छुट्टै उपचार छैन। रोगका लक्षणअनुसार बिरामीको उपचार गरिन्छ। यस रोगको मृत्युदर ३० प्रतिशतसम्म हुने डब्ल्यूएचओले जनाएको छ।
"तर यससम्बन्धी अध्ययनहरूका अनुसार १ प्रतिशतभन्दा कममा मात्र लक्षणहरू देखिन्छ्न। तर ७० देखि ८० प्रतिशत बिरामीमा चाहिँ ठिक भए पनि पछिसम्मै स्नायुसम्बन्धी समस्या ल्याउने र त्यसको प्रभाव जीवनभर हुने बताइन्छ," प्रवक्ता डा बुढाथोकी भन्छन्।
अधिकांश अवस्थामा जापनीज एन्सेफलाइटिसमा मध्यम खालका लक्षणहरू देखिन्छन्। तर केही बिरामीमा त्यस्तो कुनै सङ्केत देखिँदैन।
यसका मुख्य लक्षणहरूमा उच्च ज्वरो आउनु, मुर्च्छा पर्नु, घाँटी अह्ररो हुनु, भ्रममा पर्नु, बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर अनियन्त्रित भएर कामिरहनु, मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु रहेका छन्।
जनस्वास्थ्य विज्ञ डा श्यामराज उप्रेती केही वर्षअघिसम्म आफूहरूले खास गरी तराई र केही भित्री मधेशका गरी २३ देखि २५ जिल्लामा यस रोगको सङ्क्रमण देखिने भन्ने गरेकामा पछिल्ला वर्षमा त्यस परिस्थितिमै समेत व्यापक परिवर्तन आएर क्षेत्र फैलिएको बताउँछन्।
यस वर्ष ३६ जिल्लामा सङ्क्रमण देखा परिसकेकामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा पाइएका थिए।
'न्यू माइक्रोब्स एन्ड न्यू इन्फेक्शन्स' जर्नलमा प्रकाशित एक अनुसन्धानमूलक लेखमा समेत नेपालमा भइरहेको जापनीज एन्सेफलाइटिसका प्रकोपलाई मध्यनजगर गर्दै आपत्कालीन रूपमा अध्यावधिक खोप मापदण्ड आवश्यक पर्ने सुझाइएको छ।
राजधानी काठमाण्डूजस्ता ठाउँमा समेत यसको सङ्क्रमण देखिन थालेको कुरालाई चिन्ताजनक भन्दै यस रोगबाट १ करोड २० लाख मानिसहरू जोगिममा रहेको त्यसमा बताइएको छ।
व्यापक क्षेत्रमा यसको प्रभाव देखिन थाल्नुलाई सो शोधले थप धेरैलाई जोखिममा पार्ने सम्भावना रहेको रूपमा अर्थ्याएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








