वीरगन्जमा हैजाको कारण अहिलेसम्म पत्ता लागेन, विद्यालयहरू अझै बन्द

 गृहमन्त्री बिरामी भेट्न अस्पताल पुगेका थिए

तस्बिर स्रोत, MADHURI MAHATO/BBC

    • Author, माधुरी महतो
    • Role, वीरगन्ज

वीरगन्जका विभिन्न वडामा झाडापखाला र हैजा प्रभावितहरू देखिएकामा पछिल्लो समय वीरगन्जबाहेक पर्साको पोखरिया नगरपालिकाको अस्पतालमा समेत त्यस्ता बिरामीहरू भर्ना भएका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

तर हैजा र झाडापखालाका बिरामीहरू अस्पतालमा उपचारपछि निको भएर घर फर्किनेहरूको सङ्ख्या पनि दिनहुँ बढ्दै गएको स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झाले बताए।

उनका अनुसार हालसम्म पर्साका अस्पतालहरूमा ८२१ जना हैजा प्रभावित बिरामी भर्ना भएर उपचार गराएकोमा ६२२ जना उपचारपछि निको भएर घर फर्किएका छन्। त्यस्तै १९९ जनाले वीरगन्जलगायत पर्साका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।

शनिवार मात्रै झाडापखाला र हैजा प्रभावित ३१ जना नयाँ बिरामीहरू अस्पताल भर्ना भएका उनले बताए।

"हैजा र झाडापखालाका बिरामीहरू दिनहुँ अस्पताल भर्ना हुने र उपचारपछि केही घर फर्किने क्रम चलिरहँदा अहिले यसलाई महामारीको रूपमा लिन नसकिने तर सतर्कता भने उच्च स्तरमा अपनाउनुपर्ने छ। नत्र योभन्दा पनि भयावह अवस्था सिर्जना हुन सक्ने देखिन्छ," झाले भने।

उनले वीरगन्जका साथै पर्साका अन्य स्थानीय तहहरूमा पनि गएर स्वास्थ्यकर्मीको टोलीले सचेतना अभियान चलाइरहेको बताए।

सबै पालिकामा आवश्यक औषधि, किट लगायतका औषधिजन्य सामग्री तयारी अवस्थामा राख्न पर्याप्त मात्रामा पठाइसकिएको पनि उनले जानकारी दिए।

बिरामीको सङ्ख्या घट्दै

अस्पतालमा भर्ना भएका बिरामी

तस्बिर स्रोत, MADHURI MAHATO/BBC

हाल सबैभन्दा बढी वीरगन्जमै बिरामीहरू देखिएकाले वीरगन्जमा विशेष सतर्कता भने अपनाएर काम भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए।

नारायणी अस्पतालका प्रवक्ता एवं वरीष्ठ फिजिसिअन डा. उदयनारायण सिंहले महानगरपालिकासहित आसपासका क्षेत्रमा हैजाको प्रकोप देखिँदा खासगरी बालबालिका, गर्भवती महिलाहरू अस्पताल आउने क्रम जारी रहेको बताएका छन्।

गत नौ दिनदेखि दिनहुँजसो हैजा र झाडापखालाका बिरामीहरू अस्पताल भर्ना हुन आउने क्रम चलिरहेको छ। तर पहिलेभन्दा अहिले बिरामीहरूको सङ्ख्या कम हुँदै गएको उनले जानकारी दिए।

अस्पतालहरूमा बिरामीहरूको सहज उपचारका लागि छुट्टै कक्षको प्रबन्ध समेत गरिएको छ।

स्वास्थ्यकर्मी, जनस्वास्थ्य कार्यालय, प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य सामग्री तथा आवश्यक औषधि आपूर्ति भइरहेको बताइएको छ।

यसअघि विक्रम संवत् २०७२ सालमा वीरगन्जमा हैजाको प्रकोप देखिएको भए पनि यस पटकको प्रकोपलाई गम्भीर रूपमा लिइएको बताइएको छ।

प्रकोप नियन्त्रणका लागि स्थानीय तह, स्वास्थ्य कार्यालय, अस्पताल, जनस्वास्थ्य विभाग, सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेश , स्वास्थ्य निर्देशनालय लगायतसँग समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए।

कारण अझैसम्म अज्ञात

सचेतना कार्यक्रम गरिँदै

तस्बिर स्रोत, MADHURI MAHATO/BBC

हैजा र झाडापखालाका बिरामीहरू सबैभन्दा पहिले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ मा देखिएका थिए।

खास गरी यो पानीजन्य रोग भएकाले उक्त वडाहरूबाट पानी सङ्कलन गरी परीक्षणका लागि मधेश प्रदेश परीक्षण प्रयोगशालामा पठाएपछि रिपोर्ट नेगेटिभ आएको थियो।

त्यसपछि अहिले काठमाण्डू प्रयोगशालामा पानी परीक्षणका लागि पठाइएको र हालसम्म रिपोर्ट नआएकोले केही भन्न नसकिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख झाले जानकारी दिए।

फिजीसिअन डा. अनुपम उपाध्यायले भने हैजा नियन्त्रण तथा रोकथामका लागि जनतामा सचेतना फैलाउन आवश्यक रहेको बताए।

उनले विशेष गरी सरसफाइमा ध्यान दिन, उमालेर मात्र पानी पिउन, पानी राखिएका भाँडामा ढकनी लगाउन र खानपानमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।

लगातार विद्यालय बन्द

समुदायस्तरमै हैजा र झाडापखाला प्रभावित बिरामीहरू अस्पताल भर्ना हुने क्रम जारी रहेकोले सबैभन्दा बढी संवेदनशील मानिएका बालबालिकाहरूलाई सुरक्षित राख्न एक सातादेखि विद्यालयहरू बन्द गरिएका छन्।

सुरुमा तीन दिनका लागि बन्द भएको विद्यालय पछि समयावधि थप हुँदै वीरगन्ज महानगरपालिकाको कार्यालयले फेरि तीन दिनका लागि विद्यालय बन्द गरेको महानगरपालिका अन्तर्गतका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले बताए।

अवस्था बुझ्न गृहमन्त्री पुगे

वीरगन्जमा समुदायस्तरमै हैजा र झाडापखाला फैलिएपछि मन्त्रीहरूको पनि निरीक्षण र अनुगमन तीव्र भएको छ।

केही दिन पहिला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पताल पुगेर बिरामीहरूसँग प्रत्यक्ष भेटेर अवस्था बुझेका थिए।

आइतवार गृहमन्त्री रमेश लेखक, कानुनमन्त्री अजय चौरसिया र खानेपानीमन्त्री प्रदीप यादव पनि अस्पतालहरूमा अनुगमन र निरीक्षणका लागि पुगेका थिए।

यसअघि कांग्रेस महामन्त्री गगन थापा पनि हैजा र झाडापखालाका कारण अस्पतालमा भर्ना भएका बिरामीहरू भेट्न पुगेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।