नेपालभरिका डेङ्गी सङ्क्रमितमध्ये आधा गण्डकीका, हिमाली जिल्लामा पनि बिरामी

पर्वतस्थित अस्पतालमा डेङ्गी बिरामी

तस्बिर स्रोत, Parbat Health Office

तस्बिरको क्याप्शन, यो वर्ष डेङ्गी गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्रकोप बनेर फैलिएको छ
    • Author, कृष्णमणि बराल
    • Role, पोखरा

विगत १० महिनामा डेङ्गी रोगका कारण नेपालभरि ११ जनाको ज्यान गइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या २७,००० नाघेको छ।

यो वर्ष गण्डकी प्रदेश सबैभन्दा धेरै प्रभावित भएको पाइएको छ। डेङ्गीका कारण गण्डकी प्रदेशमा आठ जनाको मृत्यु भएको छ। तीमध्ये छ जना कास्की जिल्लाका भएको प्रदेशका अधिकारीहरूले जनाएका छन्।

गत वर्ष गण्डकीमा १२,००० को हाराहारीमा सङ्क्रमित फेला परेका थिए भने तीमध्ये चार जनाको मृत्यु भएको थियो।

उक्त सङ्ख्या बढेर यो सातासम्म १६,००० जनाभन्दा बढी डेङ्गी सङ्क्रमण देखिइसकेको गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका चिकित्सा शाखा महाशाखा प्रमुख डा रमेश केसीले बताए।

सङ्क्रमणको केन्द्रबिन्दुमा गण्डकी

केन्द्रको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडेमिओलजी तथा रोग नियन्त्रण महाशाखले गत साता सार्वजनिक गरेको तथ्याङ्कका अनुसार गण्डकीमा फेला परेका पुष्टि भएका सङ्क्रमितको सङ्ख्या देशभरि फेला परेका बिरामीको सङ्ख्याको ५० प्रतिशत नाघेको छ।

महाशाखाले गत अक्टोबर २५ सम्म झन्डै १४,००० जनामा डेङ्गीबाट बिरामी भएको जनाएको थियो। उक्त सङ्ख्या प्रदेश सरकारले उपलब्ध गराएको विवरणभन्दा झन्डै २,५०० ले बढी हो।

डेङ्गी सङ्क्रमणबाट हालसम्म कास्की जिल्लामा ६ जना, तनहुँमा एक जना र म्याग्दीमा एक जनाको मृत्यु भएको प्रदेश अधिकारीहरूले बताएका छन्।

पर्वतको एउटा अस्पतालमा डेङ्गीका बिरामीको उपचारमा सल्लाह गर्दै चिकित्सकरूको टोली

तस्बिर स्रोत, Parbat Health Office

तस्बिरको क्याप्शन, डेङ्गी बिरामीले स्वास्थ्य केन्द्रहरूमा चाप परेको अधिकारीहरूले बताएका छन्

उनका अनुसार ज्यान गुमाउनेमा अधिकांश दीर्घरोगी छन्। उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या भएका वा अन्य हिसाबले रोग प्रतिरोथी क्षमता कम भएकाहरूको बढी मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

गत कार्तिक ४ गते पोखराको बैदाममा पाँच महिनाकी गर्भवती महिलाको पनि मृत्यु भयो।

लक्षणका आधारमा सामान्य र जटिल खालका डेङ्गी हुने गरेको डा केसीले बताए।

विज्ञहरूका अनुसार डेङ्गी गराउन भाइरस चार थरीका हुन्छ। तिनलाई सीरोटाइप भनिन्छ।

कुनै एकथरी भाइरसबाट सङ्क्रमित भएका मानिसलाई अर्को पटक अर्कोथरी भाइरसबाट सङ्क्रमण भएमा समस्या जटिल बन्न सक्ने उनीहरू बताउँछन्।

डा केसीका अनुसार यस्तो अवस्थामा बढी सचेत हुनुपर्छ। नेपालमा डेङ्गी सङ्क्रमण हुन थालेको झन्डै दुई दशक भएको र डेङ्गीका सबै खालका भाइरस नेपालमा पाइएको बताइन्छ।

उनीहरूका अनुसार प्रदेशभित्र सबैभन्दा धेरै सङ्क्रमित कास्कीमा ८,००० हजारभन्दा धेरै देखिएको छ। तनहुँमा ३,००० भन्दा धेरै देखिएको छ।

जिल्लागत विवरण हेर्दा कास्की सर्वाधिक प्रभावित जिल्ला हो। तनहुँ अतिप्रभावित १० जिल्लामध्ये तेस्रो स्थानमा छ।

हिमालपारिका जिल्ला मुस्ताङ र मनाङमा पनि क्रमश: ११ र पाँच जनामा डेङ्गी सङ्क्रमण देखिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत वर्ष तनहुँको व्यास नगरपालिका बढी समस्या देखिएकोमा यस वर्ष कास्कीमा सङ्क्रमण केन्द्रित भएको देखिन्छ।

डेङ्गी सङ्क्रमणबाट मृत्यु हुनेमा २६ वर्षदेखि ८० वर्ष उमेरसम्मका मानिसहरू रहेको डा रमेश केसीले बताए।

डेङ्गी कसरी नियन्त्रण गर्न सकिन्छ

डेङ्गी भाइरस सर्ने चक्र

डेङ्गी सङ्क्रमण नियन्त्रण गर्न यो रोग सार्ने लामखुट्टे नियन्त्रण नै प्रमुख उपाय भएको चिकित्सकहरू बताउँछन्।

“डेङ्गी सार्ने लामखुट्टेको वृद्धिविकासलाई रोक्नुपर्छ। पोखराजस्ता सहरमा लामखुट्टेको वृद्धि विकास हुने क्रम रोक्न पानी जम्न दिनु हुँदैन,” डा केसी बताउँछन्।

“सफा पानी जमेका ठाउँमा लामखुट्टेले अण्डा पार्छ र तिनको वृद्धिविकास हुन्छ। टायर, बाल्टी, ड्रम, गमला, गमलाका प्लेट, अव्यवस्थित रूपमा कवाडी सामान राख्ने ठाउँ, ग्यारेज लगायतमा जमेका सफा पानीमा लामखुट्टेले अण्डा पार्ने र जोखिम बढ्ने हुन्छ।”

विकास निर्माणका काम भएका ठाउँ, राजमार्ग निर्माण, भवन, पुल लगायतका काम भएका ठाउँमा लामो समय जमेर रहेका पानीमा डेङ्गी सङ्क्रमण गराउने लामखुट्टे हुने भएकोले त्यस्ता क्षेत्रमा विशेष ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्।

विशेषत: आफ्नो घर र वरपर समुदायमा पानी जम्न नदिने र लामखुट्टेले अण्डा पार्ने ठाउँ छैन भन्ने सुनिश्चित गर्न सके यो सङ्क्रमण धेरै कम भएर जाने डा केसीले बताए।

डेङ्गी रोगका लक्षणहरू

हिमाली क्षेत्रमा पनि पुग्यो डेङ्गी

यो वर्षको ताजा तथ्याङ्क केलाउँदा हुम्लाबाहेक अरू हिमाली जिल्लामा पनि डेङ्गी पुगेको छ।

हिमालपारिका भनिने दुई जिल्ला मनाङ र मुस्ताङसहित उच्च पहाडी एवं हिमाली भेगका अरू जिल्लामा पनि उक्त सङ्क्रमण पाइएको छ।

केही वर्षयता सत तापक्रम बढ्दै गएकोले त्यसको असरले हिमाली क्षेत्रमा पनि लामखुट्टे देखिन थालेको अधिकारीहरूले बताएका छन्। जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा पनि डेङ्गी सार्ने लामखुट्टे देखिएको हुन सक्ने डा केसीले बताए। उनका अनुसार सामान्यतया २५ डिग्री देखि ३० डिग्री सेल्सिअससम्म लामखुट्टेको वृद्धिविकास बढी हुन्छ भन्ने मान्यता छ।

लामखुट्टेको जीवनचक्र

हिमाली जिल्ला पनि डेङ्गी सङ्क्रमण गराउने लामखुट्टेका लागि अनुकूल बन्न थालेकाले पछिल्लो समयमा ती जिल्ला मा पनि सङ्क्रमण देखिएको हुन सक्ने ठानिएको छ।

हिमाली जिल्लामा सडक पहुँचका कारण पनि मानिसहरूको आवतजावत बढेको र लामखुट्टेलाई पनि त्यहाँ पुग्न सजिलो भएको जनस्वास्थ्यविद्हरू बताउँछन्।

तर डेङ्गीको समस्या सामान्यतया बढी जनघनत्व भएका सहरी क्षेत्रमा बढी देखिने गरेको छ। सङ्क्रमण फेला परेका स्थानको तथ्याङ्क हेर्दा पनि यो रोगको प्रकोप सहरी क्षेत्र र राजमार्ग भएका क्षेत्रमा बढी देखिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।