दशैँपछि 'सहरमा डेङ्गीका बिरामी बढे', जोखिम कहिलेसम्म

टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताला डेङ्गी भएका एक बिरामी

तस्बिर स्रोत, Reuters

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

दशैँपछि सहरी क्षेत्रमा डेङ्गी रोगको प्रकोप र पहिल्यै अन्य रोग भएका बिरामी अस्पतालमा भर्ना हुने दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बताएका छन्।

"अझै एक महिना नेपालमा डेङ्गी सङ्क्रमण बढ्न सक्ने देखिन्छ र त्यसबीचमा थप क्षति नहोस् भन्नका लागि हामी सजग भएका छौँ," प्रवक्ता डा प्रकाश बुढाथोकीले बीबीसी न्यूज नेपालीसँग भने।

जनस्वास्थविज्ञ तथा स्वास्थ्यकर्मीले सङ्क्रमित लामखुट्टेबाट सर्ने उक्त रोगको थप जोखिम औँल्याएपछि यही साता स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशका स्वास्थ्यमन्त्रीहरूसहित स्थानीय निकायका सङ्गठनका प्रतिनिधिसँग छलफल गरेका छन्।

"डेङ्गी नियन्त्रणको एकमात्र उपाय लामखुट्टे खोज्नु र र नष्ट गर्नु हो। आइतवारको बैठकको जोड त्यसका लागि सम्बन्धित निकायलाई पुनः सक्रिय गराऔँ भन्ने हो।"

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत एक सङ्क्रामक रोग विशेषज्ञका अनुसार नेपालमा बर्खा सकिएपछि डेङ्गी फैलिने जोखिम पहिलादेखि नै देखिँदै आएको थियो। अब केही साता सजगता अपनाउनुपर्ने उनले बताए।

"यो वर्ष पनि दशैँअघि बिरामीको बढ्दो क्रम देखा पर्न थाल्नु अस्वाभाविक होइन," डा शेरबहादुर पुनले भने। "यो वर्ष पनि त्यही प्रवृत्ति देखिएको हो। किनकि वर्षापछिको अवस्था तापक्रम र जीवनचक्रका हिसाबले लामखुट्टेका लागि उपयुक्त हुन्छ।"

यद्यपि अहिलेको अवस्था दुई वर्षअघिको जस्तो भयावह नरहेको उनले बताए।

डा पुनले दशैँमा दशैँका बेला मानिसहरूको आवतजावत बढेको हुँदा सङ्क्रमितको सङ्ख्या केही बढेको हुन सक्ने भए पनि मुख्य कारक चाहिँ लामखुट्टेको वृद्धिविकास नै भएको बताए।

"त्यसै पनि धेरै सङ्ख्यामा सङ्क्रमित बढ्ने बेला मानिसहरूको आउजाउ व्यापक हुने र एक्लिएर बस्ने सम्भावना कम हुँदा वृद्धिदर केही बढ्ता हुने हो।"

झुलभित्र बसेका डेङ्गीका बिरामी

तस्बिर स्रोत, Getty Images

'भित्रभित्रै फैलिरहेको हुन सक्छ'

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आइतवार सबै प्रदेश स्वास्थ्यमन्त्रीहरूसँग डेङ्गी रोकथाम गर्ने विषयमा बैठक गरेका थिए

तस्बिर स्रोत, mohp

तस्बिरको क्याप्शन, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आइतवार सबै प्रदेशका स्वास्थ्यमन्त्रीहरूसँग डेङ्गी रोकथाम गर्ने विषयमा बैठक गरेका थिए

यो वर्ष हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीका बिरामी फेला परेका छन्। ती ७६ जिल्लामा सङ्क्रमण पुष्टि भएका बिरामीको सङ्ख्या २२,००० नाघिसकेको सरकारी तथ्याङ्कले देखाउँछ। तीमध्ये ११ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार डेङ्गीका धेरै बिरामी फेला परेका जिल्लामध्ये काठमाण्डू, कास्की, तनहुँ र पर्वत छन्। काठमाण्डू र कास्की दुवै जिल्लामा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ३,००० हजार माथि छ।

तर सङ्क्रमित हुने मानिसको सङ्ख्या अझ धेरै हुन सक्ने ठानिएको छ।

"त्यो हामीले परीक्षण गरेकामध्येको पोजिटिभ मात्र हो। धेरै सङ्क्रमित अर्थात् ८० प्रतिशतजतिलाई रोगको लक्षण नै नदेखिएको पनि हुन सक्छ। अथवा सामान्य ज्वरो आउँदा घरमै सिटामोल खाएर निको भएको समेत हुन सक्छ," प्रवक्ता डा बुढाथोकीले भने।

उनका सरकारी विवरण 'सतही तथ्याङ्क मात्र हुनसक्ने' भन्दै डेङ्गीको सङ्क्रमण समुदायमा भित्रभित्रै फैलिरहेको हुन सक्ने बताए।

वर्षाका बेला पनि डेङ्गी सङ्क्रमणको लहर कायम रहेकाले दशैँतिहारका बेला अर्को लहर देखा पर्ने जोखिम रहेको डा पुन ठान्छन्।

"हामीकहाँ सङ्क्रमित मानिसहरूले पनि स्वाभाविक रूपमा आफ्नो दिनचर्या गरिरहेको अवस्था रहेकाले डेङ्गीको सङ्क्रमण एउटै ठाउँमा मात्र केन्द्रित रहेको अवस्था छैन," डा पुनले भने।

"धेरै दिनदेखि खाना नै नखाईकन बस्नुपर्ने अवस्था वा नाक वा गिजाबाट रगत आउने जस्तो परिस्थिति बने मात्र मानिसहरू अस्पताल आएको देखिन्छ। सहन गर्न सक्ने पीडा हुँदासम्म पनि मानिसहरू घरमै बसेको पाइन्छ।"

डेङ्गीबाट जोगिन के गर्नुपर्छ?

डेङ्गी सार्ने लामखुट्टे मार्ने अभियान

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, लामखुट्टे नियन्त्रण गरेर डेङ्गी रोगलाई फैलिन नदिन सकिन्छ

यतिखेर स्वास्थ्यकर्मीहरू सामान्यतया अन्य कारणले ज्वरो आएको पुष्टि भएन भने त्यसलाई डेङ्गी ठान्नुपर्ने गरी व्यवहार गरिने गरेको बताउँछन्।

"त्यसैले घरमा वा समुदायमा त्यस्ता व्यक्ति भएमा डेङ्गी पोजिटिभ नै भएको ठानेर सजग पर्छ," बुढाथोकीले भने।

"दुखाइ कम गर्नका लागि प्यारासिटामोलबाहेक अन्य पेनकिलर प्रयोग गर्न हुँदैन। तिनले झन् जटिलता निम्त्याउँछन्।"

डेङ्गी हुँदा उपचार गर्ने छुट्टै विधि छैन। लक्षणकै आधारमा बिरामीको उपचार गरिन्छ। बिरामीलाई ज्वरो आउँदा सिटामोल र झाडापखाला लाग्दा जीवनजल दिने र शरीरमा पानीको मात्रा कम हुन नदिने जस्ता उपाय अवलम्बन गरिन्छ।

गरिष्‍ठ खानेकुरा भन्दा नरम, रेसादार, झोलिलो पदार्थ वा शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सघाउने खालका भोजन आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

"त्यसो गर्दागर्दै समेत घरमा तारम्तार बान्ता भएमा, असह्य दुखाइ भएमा, गिजा वा शरीरका अन्य ठाउँबाट रक्तस्राव हुन थालेमा स्वास्थ्यसंस्था जानुपर्छ। ती चाहिँ डेङ्गी जटिल हुन थालेका सङ्केत हुन्," प्रवक्ता डा बुढाथोकीले भने।

डेङ्गी नदेखिएको कुनै महिना छैन

नेपालमा डेङ्गी बाह्रै महिना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए।

"सङ्ख्या मात्र तलमाथि हुने हो। कुनै महिनामा महामारी वा प्रकोप भइहाल्दैन भन्ने हो," उनले भने।

"अबको एक महिनाजति भने महामारी वा प्रकोपकै रूप लिन सक्ने जोखिम भएको अवस्था हो। अझै पनि केही प्रदेशमा छिटपुट वर्षा भइरहेको छ।"

स्वास्थ्य अधिकारीहरूले तापक्रम कम भइसक्दा वा पानी पर्न रोकिँदा पनि अबका "केही साता जोखिमयुक्त" हुने चेतावनी दिएका छन्।

"किनकि अण्डाबाट वयस्क लामखुट्टे बनेर टोक्ने अवस्थासम्म पुग्ने चक्र तीन साताको हुन्छ," बुढाथोकीले भने।

"अहिलेको अवस्था हेर्दा कात्तिक महिना पूरै र मङ्सिर मध्यसम्मै जोखिमयुक्त हुने ठानेका छौँ।"

स्वास्थ्य मन्त्रालयका अनुसार यसपालि पुष्टि भएका सङ्क्रमितमध्ये गण्डकी प्रदेशका ४४ प्रतिशत र बागमती प्रदेशका ३४ प्रतिशत हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।