इरानमा हमास नेता हानियाको शवयात्रामा ठूलो घुइँचो

तेहरानमा रकेट आक्रमणमा मारिएका हमास नेता इस्माइल हानियाको शवयात्रामा हजारौँ मानिस सहभागी भएका छन्।

उनको शवलाई समाधिस्थ गर्न कतार लगिनुअघि आयोजना गरिएको प्रार्थनाको नेतृत्व इरानका सर्वोच्च नेता आयातूल्लाह अली खामनेईले गरेका छन्।

अमेरिकी सञ्चारमाध्यमहरूले इरानी अधिकारीलाई उद्धृत गर्दै बताएअनुसार सर्वोच्च नेताले इजरेलमा सीधै आक्रमण गर्न निर्देशन दिएका छन्। तेहरानले इरानी भूमिमा हानियामाथि साङ्घातिक आक्रमण गरेको दोषारोपण गरेको छ। यद्यपि इजरेलले उक्त घटनाबारे औपचारिक टिप्पणी गरेको छैन।

प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले हालैका दिनहरूमा शत्रुहरूलाई "उठ्न नसक्ने गरी प्रहार गरेको" बताएका छन्।

तेहरानमा हानियाको हत्या गरिनु केही घण्टाअघि लेबननमा हिज्बुल्लाहका एक वरिष्ठ सैन्य अधिकारी मारिएका थिए।

गत वर्ष अक्टोबर ७ मा १,२०० जनाजतिको मृत्यु हुने गरी हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेपछि इजरेलले हमासलाई निमिट्यान्न पार्ने उद्घोष गरेको थियो। त्यसयता इजरेलले गाजामा सैन्य कारबाही गर्दै आएको छ। त्यस क्रममा झन्डै ४०,००० जनाको मृत्यु भएको र तीमध्ये अधिकांश महिला र बालबालिका भएको हमासद्वारा गाजामा सञ्चालित स्वास्थ्य मन्त्रालयको दाबी छ।

इजरेली प्रधानमन्त्रीले के भने?

मध्यपूर्वमा द्वन्द्व चर्किन सक्ने भय बढिरहेका बेला नेतन्याहूले इजरेलीहरूलाई"भावी दिनहरू चुनौतीपूर्ण रहेको" चेतावनी दिएका थिए।

“बेइरुतमा गरिएको आक्रमणपछि हामीले सबैतिरबाट धम्कीहरू सुनिरहेका छौँ,” उनले एउटा टेलिभिजन सम्बोधनमा भने।

“हामी जुनसुकै परिस्थितिका लागि तयार छौँ अनि हामी एकताबद्ध र दृढसङ्कल्पित रहने छौँ।”

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले उक्त क्षेत्रमा "तनाव रूपमा बढ्न सक्ने" चेतावनी दिएका छन्।

हमासको सशस्त्र एकाइले उक्त समूहको समग्र पक्ष हेर्ने हानियाको मृत्युले "लडाइँलाई नयाँ आयाम दिने" र त्यसले ठूलो असर पार्ने बताएको छ।

हमास नेतृत्व 'स्तब्ध'

हानियाले गाजामा युद्धविरामबारे भइरहेका वार्तामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए।

तेहरानमा इरानका नयाँ राष्ट्रपति मसूद पेजेश्कियानको पदभार ग्रहण कार्यक्रममा सहभागी भएको केही घण्टापछि नै उनी मारिएका थिए।

एक वरिष्ठ हमास अधिकारीले बीबीसीलाई बताएअनुसार विगतमा इरान भ्रमणका क्रममा हानिया बसेकै भवनमा उनीमाथि आक्रमण भएको हो।

उक्त भवनमा उनीसँगै तीन हमास नेता र कैयौँ अङ्गरक्षक रहेको उनीहरूले बताए।

वरिष्ठ हमास अधिकारी खलिल अल हायाले एउटा पत्रकार सम्मेलनमा प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा रकेटले हानियालाई "सोझै" लागेको बताए।

हमासको उच्च नेतृत्व उक्त घटनाका कारण "स्तब्ध" भएको हमासका नेताहरूले जनाएका छन्।

हानियालाई निसाना बनाइएको केही घण्टाअघि इजरेलले आफूले बेइरुतमा वरिष्ठ हिज्बुल्लाह नेता फुआद शुकरलाई मारिदिएको जनाएको थियो।

इजरेलले आफ्नो अधीनमा रहेको गोलन हाइट्समा शनिवार १२ जनाको ज्यान जाने गरी भएको रकेट हमलामा उनी जिम्मेवार रहेको ठानेको थियो।

हिज्बुल्लाहले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ।

इरानको समर्थन पाएको सो समूहले आक्रमणमा परेको आवासीय भवनको भग्नावशेषमा शुकरको शव फेला परेको पुष्टि गरेको छ। दुई बालबालिकासहित अन्य चार जना पनि मारिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।