वर्षाले खेल हुन सकेन, नेपाल सोझै सेमिफाइनलमा

मूलपानी क्रिकेट मैदान बनाउने घोषणा गरेको १९ वर्षपछि सोही मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमवार पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै थियो।

तर सोमवार निरन्तर वर्षा भएपछि टस नै हुन नपाई एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरबबीचको खेल रद्द भयो।

खेल हुन सक्ने स्थिति नभएपछि दुबै टोलीले एक-एक अङ्क बाँडेका छन्।

एक अङ्क पाउनासाथ नेपाल समूह 'ए' बाट सेमिफाइनलमा पुगेको छ भने सोही समूहमा रहेका मलेशिया र कतार प्रतियोगिताबाट बाहिरिएका छन्।

आइतवार साँझदेखि परेको पानीका कारण मूलपानी मैदान भिजेको थियो। सोमवार बिहान आयोजकले खेलका लागि मैदान सुकाउने प्रयास गरेका थिए।

तर दिउँसो अझ ठूलो वर्षा भएपछि खेल रोक्ने निर्णय भएको हो।

मूलपानीमा पहिलोपटक नेपालको खेल हेर्न भनी आएका दर्शकहरू निराश हुँदै फर्किएका छन्।

नेपालले अब यसै प्रतियोगिताको दोस्रो सेमिफाइनलको टाइशीटमा परे मात्र मूलपानीमा खेल्ने छ। नत्र भने अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता पर्खिनुपर्नेछ।

सेमिफाइनलमा प्रवेश

यसअघि मलेशिया र ओमानसँगको खेल जितिसकेको नेपालको कुल अङ्क ५ पुगेको छ।

यता नेपालसँग एक अङ्क पाउन सफल साउदी अरबले भने सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ।

ओमानको ४ अङ्क छ भने साउदी अरबसँग ३ अङ्क छ। यी दुई टोलीबीच आगामी खेल हुने भएकाले यीमध्ये खेल जित्ने टोलीले सेमिफाइनलमा प्रवेश पाउने छ।

नेपालले अब लीगको अन्तिम खेलमा कतारसँग आगामी बिहीवार खेल्ने छ। सो खेल जितेमा भने नेपाल तालिकाको शीर्ष स्थानमा रहने छ।

दुई अङ्क पाएको मलेशिया र अङ्कविहीन कतारको भने सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ।

वर्षाकै कारण सोमवार कीर्तिपुर मैदानमा समूह 'बी'को हङ्‌कङ र बाहरेन बीचको खेल पनि हुन सकेन। दुबै टोलीले अङ्क बाँडे।

वैकल्पिक ले गुमाए मौका

साउदी अरब चुनौतीपूर्ण प्रतिद्वन्द्वी नठानिएका कारण नेपाली प्रशिक्षक मोन्टी देशाईले नेपाली टोलीमा खेलाडी परिवर्तन गर्ने सम्भावना थियो।

नियमित खेलाडी सन्दीप लामिछाने, सोमपाल कामी र कुशल मल्ललाई विश्राम दिइन सक्ने अनुमान गरिएको थियो भने बेन्चमा रहेका ज्ञानेन्द्र मल्ल, प्रजित जिसी र गुलशन झालाई मौका दिन सक्ने सम्भावना बढी थियो।

यसअघि आईसीसी विश्वकप लीग-२ मा यूएईमा भएको खेलमा 'डेब्यू' गरेका नवप्रवेशी प्रजित जिसी राष्ट्रिय टोलीमा दोस्रो खेल खेल्ने पर्खाइमा लामो समयदेखि बेन्चमा छन्।