युक्रेनमा बख्मुत सहरको अवस्था खराब, रुसलाई सैन्य सहयोग नगर्न चीनलाई अमेरिकी चेतावनी

पीडित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी क्षेत्रमा भइरहेको लडाइँको अग्रभागमा रहेको बख्मुत सहरको अवस्था "झन् कठिन" बन्दै गइरहेको बताएका छन्।

रुसी सेनाले छ महिनाभन्दा लामो समयदेखि उक्त सहर कब्जा गर्ने प्रयास गरिरहेको छ।

"हामी हालसम्म रहेका स्थानहरू जोगाउन प्रयोग गर्न सकिने सबै कुरा दुस्मनले लगातार ध्वस्त पारिरहेका छन्," जेलेन्स्कीले भने।

अमेरिकी अर्थमन्त्री जेनेट यलनले सोमवार किएभ भ्रमणको क्रममा रुसलाई हतियार सहयोग नगर्न चीनलाई चेतावनी दिएपछि जेलेन्स्कीले आफ्नो स्थितिबारे जानकारी दिएका हुन्।

रुसले एक वर्षअघि युक्रेनमा आक्रमण गरे यताका केही विध्वंसकारी लडाइँ दोनेत्स्क क्षेत्रको बख्मुतमा भएको छ।

उक्त सहरको केही भूभाग रुस र उसका पृथकतावादी सहयोगीहरूको नियन्त्रणमा छ।

सहायता लिँदै आम मानिस

हालसालै रुसी सेनाले त्यस औद्योगिक सहरलाई कब्जा गर्ने प्रयास तीव्र बनाएको छ र उसका सेना युद्ध मैदानमा निकै अगाडि बढिरहेका छन्।

स्वघोषित दोनेत्स्क पिपल्स रिपब्लिकका पृथकतावादी नेता डेनिस पुश्लिनले सहर प्रवेश गर्ने सबै सडकहरू "व्यावहारिक रूपमा हमला हुन सक्नेगरि नियन्त्रणमा" रहेको बताए।

नियमित सम्बोधनमा त्यहाँको परिस्थितिबारे बोल्दै राष्ट्रपति जेलेन्स्कीले, रुसको नयाँ आक्रमण नीतिका कारण बख्मुतसम्म पुग्ने व्यवस्था र त्यस भूभागको रक्षा सुनिश्चित गर्न कठिन भइरहेको जनाएका छन्।

redline

तस्बिर स्रोत, Getty Images

redline

तस्बिर स्रोत, Getty Images

उनले "वीरतापूर्वक त्यस क्षेत्रमा लडिरहेकाहरू प्रति कृतज्ञता" व्यक्त गरे।

"आफ्नो देशको सम्पूर्ण क्षेत्र"लाई "रुसी आतङ्क"बाट जोगाउन आधुनिक लडाकु विमान पठाउन उनले पुनः आह्वान समेत गरेका छन्।

सोमवार किएभको आकस्मिक भ्रमणका क्रममा जेनेट यलनले युक्रेनलाई १.२५ अर्ब डलरको आर्थिक तथा बजेट सहायता घोषणा गरिन्।

उनले गत साता किएभ पुग्दा अमेरिकी राष्ट्रपति जो बाइडनले दिएको सन्देशलाई दोहोर्‍याउँदै भनिन्- युद्ध जित्न आवश्यक अवधिभर वाशिङ्गटन युक्रेनको साथमा रहने छ।

भ्रमणका क्रममा यलन

तस्बिर स्रोत, Getty Images

यलनले पश्चिमी शक्तिहरूले रुसमाथि लगाएको ठूलो प्रतिबन्धका बीच उसको अर्थतन्त्र चपेटामा नपरेको सीएनएनसँग बताइन्। यद्यपि, त्यो समयसँगै कमजोर हुँदै जाने उनको अपेक्षा छ।

उनले युक्रेनमा आक्रमणका गर्दा नष्ट भएका सैन्य उपकरणहरू प्रतिस्थापन गर्ने रुसी क्षमता "बिस्तारै खतरामा परेको" बताइन्

चीनले रुसलाई त्यस्तो हतियार आपूर्ति गर्ने कुनै पनि कदमले "गम्भीर" नतिजा निम्त्याउने उनको चेतावनी छ।

"र, हामीले चिनियाँ सरकार र चिनियाँ फर्महरू वा वित्तीय संस्थाहरूलाई ती प्रतिबन्धहरूको उल्लङ्घन गरेमा परिणामहरू निकै गम्भीर हुन सक्नेबारे स्पष्ट पारेका छौँ।"

गत साता अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले चीनले रुसलाई हतियार र गोला बारुद आपूर्ति गर्ने विषयमा विचार गरिरहेको बताएका थिए। यद्यपि, बेइजिङले उक्त दाबीको खण्डन गरेको छ।

चीनका शीर्षस्थ कूटनीतिज्ञ वाङ यी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच गत साता मस्कोमा भएको भेटले रुससँग चीनको घनिष्ठ सम्बन्धको सङ्केत गरेको छ।