सुमात्रामा ज्वालामुखीनजिकै 'चिसो लाभा'को बाढी, दर्जनौँ मानिसको मृत्यु

तस्बिर स्रोत, EPA
पश्चिम इन्डोनेशियाको सुमात्रा द्वीपमा बाढी र एउटा ज्वालामुखी पर्वतबाट बगेको चिसो लाभाका कारण दर्जनौँ मानिसको मृत्यु भएको छ।
शनिवार मुसलधारे वर्षा भएपछि सुमात्राको सबैभन्दा सक्रिय ज्वालामुखी पर्वत 'मरापी'बाट खरानी र चट्टान बगेको थियो।
चिसो लाभा र लेदोयुक्त बाढीले सुमात्राका दुई जिल्ला प्रभावित भए।
बाढीमा परेर कैयौँ मानिसको मृत्यु भयो भने १०० वटाभन्दा बढी घर तथा मस्जिद र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको छ।
अझै १८ जना सम्पर्कविहीन भएको भन्दै अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्।
प्रत्यक्षदर्शी के भन्छन्

तस्बिर स्रोत, EPA
बाढीमा परेर जोगिन सफल केही व्यक्तिले पानी परेपछि ज्वालामुखी पर्वतबाट कसरी लेदो र गिट्टी आफ्नो घरतिर बग्दै आए भनेर वर्णन गरेका छन्।
"मैले गड्याङगुडुङ र पानी उम्लिँदाको जस्तो आवाज सुनेँ । त्यो मरापी ज्वालामुखी पर्वतबाट आएको ठूलो चट्टान बज्रिँदाको आवाज थियो," अगम जिल्लामा बस्ने ४३ वर्षीया गृहिणी रिना डेभिनाले समाचारसंस्था एएफपीसँग भनिन्।
"निष्पट्ट अन्धकार थियो। मैले मोबाइललाई टर्चको रूपमा प्रयोग गरेँ। सडक हिलाम्मे थियो। मेरो मुखबाट 'हे ईश्वर, दया गर' मात्रै निस्किराख्यो," उनले भनिन्।
तीन केटाकेटीकी आमा डेभिनाका अनुसार उनको छिमेकमा अवस्थित घरलाई "ठूलो ढुङ्गोले कचक्कै" पार्यो। उक्त घटनामा चार जनाको मृत्यु भयो।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
'मानवीय गतिविधि पनि जिम्मेवार'
इन्डोनेशियाको खोज तथा उद्धार निकायका अनुसार आइतवार दिउँसोसम्ममा उद्धारकर्ताहरूले सर्वाधिक प्रभावित अगम जिल्लाको कैँडुआङ गाउँमा १९ शव वटा भेटे भने नजिकैको तनाह दातार जिल्लामा अन्य नौ जनाको शव फेला पर्यो।
अगमका बासिन्दा बेर्लिआना रेस्किकाले घाइते छिमेकीहरूलाई सघाउँदाको आफ्नो अनुभव सुनाए।
"परिवारका सदस्य बेपत्ता भएकाहरू रोइकराइ गरिरहेका थिए। आफ्नो प्रियजनको मृत्युबारे भर्खरै थाहा पाउनेहरू पनि थिए", उनले बीबीसी इन्डोनेशियासँग भने।
पर्यावरणविद्हरूले बीबीसी इन्डोनेशियालाई बताएअनुसार अहिलेको बाढी र भूस्खलन प्राकृतिक प्रकोपको त्यस्तो पछिल्लो शृङ्खला हो जसका लागि केही हदसम्म मानवीय गतिविधि पनि जिम्मेवार छ।
इन्डोनेशियाली पर्यावरण मञ्चको पश्चिम सुमात्रा शाखाका निर्देशक वेन्ग्की पुरवन्तो भन्छन्, "प्राकृतिक स्रोतको अत्यधिक दोहन र जथाभाबी विकासका कारण आकस्मिक बाढी र लाभायुक्त भूस्खलनको पुनरावृति जारी छ र तीव्र गतिमा वृद्धि भइरहेको छ।"
"परिणामस्वरूप प्रत्येक वर्ष विपद् दोहोरिन्छ। वास्तवमा यसको क्रम प्रत्येक वर्ष बढ्दै गएको छ। दुई त्यस्ता घटनाबीचको दूरी घट्दै गएको छ," उनले भने।
पहिला पनि प्राकृतिक प्रकोप
मरापी पर्वतनजिकैको क्षेत्रमा विगत छ महिनामा प्राकृतिक प्रकोपका अरू घटना पनि भएका थिए।
गत डिसेम्बर ५ मा ज्वालामुखी विस्फोट हुँदा पदयात्रामा हिँडेका २३ जनाको ज्यान गयो। यसै वर्ष फेब्रुअरीमा अचानक बाढी आउँदा तनाह दातारका दर्जनौँ घरमा क्षति पुग्यो।
गत महिना मात्रै ज्वालामुखी विस्फोटनका कारण दुई किलोमिटरको उचाइसम्म आकाश खरानीयुक्त बादलले ढाकियो। उक्त घटनाका कारण त्यस क्षेत्रमा हवाई उडान अवरुद्ध भयो भने सडक पनि बन्द भएको थियो।
त्यस क्षेत्रका ११,००० मानिसलाई अन्य सुरक्षित स्थानमा जान भनिएको थियो।
स्थानीय मिनाङ भाषामा मरापीको अर्थ "आगोको पहाड" भन्ने हुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








