ला पाल्मा ज्वालामुखी: लाभा समुद्रमा मिसिएपछि के हुन्छ?

ला रियुनिअन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पग्लिएको लाभाले उत्पन्न गराएको लेज (धुवाँको मुस्लोजस्तो अम्लीय वस्तु)

पग्लिएका चट्टानको रातो नदी पानीमा मिसिनुअघि लाभाले त्यहाँसम्म पुग्ने मुख अर्थात् डेल्टा निर्माण गर्छ। रातो नदी र समुद्र मिसिने ठाउँबाट चट्टानहरू २५० मिटर परसम्म उछिट्टिइरहँदा ग्यासको मुस्लोमाथि उडिरहन्छ।

समुद्रको पानीमा लाभा बगिरहँदा त्यो दृश्य मन्त्रमुग्ध बनाउने खालको हुनसक्छ। तर त्यो घातक पनि हुनसक्छ किनभने ग्यास विषाक्त हुन्छ, पानी भतभती पोल्ने खालको हुन्छ र चट्टान भीमकाय हुन्छ।

त्यतिबेला वास्तवमा के भइरहेको हुन्छ त? यदि तपाईँले व्यक्तिगत रूपमा त्यस्तो घटना प्रत्यक्ष देख्नुभयो भने कसरी सुरक्षित बस्न सकिएला?

विषालु ग्यास

अमेरिकाको भौगर्भिक निकाय यूएसजीएसका अनुसार लाभा समुद्रमा मिसिँदा त्यसले विशेष खालका विपद्हरू निम्त्याउन सक्छ अनि त्यसबारे थाहा नभएका मानिसहरूलाई घाइते बनाएको वा ज्यान पनि गएको छ।

तातो म्याग्मा वा पग्लिएको चट्टान र चिसो पानी एक आपसमा मिसिँदा त्यसले विषालु तुवाँलो निकाल्छजसलाई लेज भनिन्छ। त्यो सोचेभन्दा धेरै नै घातक हुन्छ।

ज्वालामुखी क्षेत्रमा पुगेका मानिसहरू विषालु ग्यासका कारण मरेका पनि छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ज्वालामुखी क्षेत्रमा पुगेका मानिसहरू विषालु ग्यासका कारण मरेका पनि छन्

"म्याग्मा समुद्रमा पुग्दा त्यसले बाफको तह निर्माण गर्छ किनभने ठूलो परिमाणको नुनिलो पानी बाफिन्छ। तापक्रमको ठूलो अन्तरका कारण यस्तो भएको हो। लाभाको तापक्रम ९०० डिग्री सेल्सीअसभन्दा बढी हुन्छ भने पानीको तापक्रम करिब २३ डिग्री सेल्सीअस हुन्छ," कनरीज द्वीपस्थित यूनिभर्सिटी अफ ला पाल्माका प्राध्यापक होसे मान्गस भन्छन्। त्यहाँ कुम्ब्रे भिएखा ज्वालामुखी अहिले विस्फोट भइरहेको छ।

यी ग्यासहरूले छाला, आँखा र श्वासप्रश्वास प्रणालीमा समस्या देखिन सक्छ। मान्गसले हवाईका ज्वालामुखी रहेका समुद्री क्षेत्र नजिकैको उदाहरण दिँदै ज्वालामुखी भइरहेको थाहा नपाएर भ्रमण गरेका व्यक्तिहरू विषालु ग्यासका कारण मरेको बताए।

ती ग्यासहरूले नजिकैको क्षेत्रमा दुर्गन्ध फैलाउँछन्। तर पछि ती हट्छन्। हवाईको किलावेआमा ज्वालामुखी कपाफो वेमा हाइड्रो क्लोरिक एसिडको तुवाँलो उत्पन्न भएको थियो।

उडिरहेका चट्टान र विस्फोटन

लाभा समुद्री सतहतर्फ थुप्रिँदै जाँदा अस्थिर डेल्टा निर्माण हुन्छ जसले अर्को खालको विपद् निम्त्याउँछ।

पानीसँग सम्पर्कमा आएपछि तीव्र गतिमा डेल्टा चकनाचुर हुन्छ र कतिपय अवस्थामा उक्त विस्फोटनका क्रममा लाभाका अंश र चट्टानहरू समुद्र वा जमिनको सतहतिर उछिट्टिन्छन्।

यो YouTube पोस्ट छोड्नुहोस्
Google YouTube को सामग्रीलाई अनुमति छ?

यो लेखमा Google YouTube बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Google YouTube cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

YouTube पोस्ट समाप्त

वैज्ञानिकहरूले डेल्टा विस्फोटनको समय वा परिमाणको भविष्यवाणी गर्न सक्दैनन्।

यूएसजीएसले डुङ्गामा भए पनि लाभा र समुद्रको सम्पर्क भएको ठाउँबाट कम्तीमा ३०० मिटरजति पर बस्नुपर्ने बताएको छ। विगतको समयमा चट्टान र भग्नावशेष त्यति परसम्म पुगेको बताइन्छ।

हवाई

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चट्टानहरू अढाइसय मिटरसम्म उछिटिनसक्छन्

न्याश्नल जीओग्राफिक इन्स्टिट्यूटका हेक्टर लमोल्डा ओर्डोनेजले चट्टानहरूबीच च्यापिएको विषालु ग्यास पनि डेल्टा चकनाचुर हुँदा बाहिर निस्कन सक्ने बताउँछन्।

यूएसजीएसका अनुसार लाभाबाट बनेका डेल्टाहरू विज्ञबाहेक अरूले हेर्दा स्थिर जस्तै देखिन्छन् तर ती ज्यादै संवेदनशील हुन्छन्।

सन् १९९३ मा एक फोटोग्राफरलाई डेल्टा विस्फोटनका क्रममा समुद्रले बगाएको थियो।

त्यस बेला तातो चट्टान र भग्नावशेषका कारण दर्जनौँ घाइते भएका थिए।

सन् २०१८ मा हवाईमा एउटा बेसबल आकारको लाभा बम पनि भनिने पग्लिएको चट्टान पर्यटकीय डुङ्गाकोछानोमा ठोक्किँदा २३ जना घाइते भएका थिए।

हवाई

तस्बिर स्रोत, Getty Images

तातो छाल

लाभा डेल्टाको सतह हुँदै बग्ने पानीका कारण निर्माण हुने सम्भावित तातो पानीको छाल पनि उत्तिकै खतरनाक हुन्छन्।

विगतमा त्यस्ता घटना भएका स्थाननजिकै उभिएका व्यक्तिलाई तातो पानी र बाफले पोल्दा हुने चोटपटक लागेको यूएसजीएसले जनाएको छ।

डेल्टा भत्किँदा त्यसले जमिन र तटीय छालहरू निम्त्याउँछ जसले त्यस क्षेत्रका डुङ्गाहरूलाई जोखिममा पार्छ।

रणभूमि

पग्लिएको लाभाको नदी समुद्रको पानीसम्म मिसिने क्रममा उथलपुथलकारी प्राकृतिक प्रक्रिया देखा पर्छ।

हवाईमा ती घटनाक्रमलाई 'ब्याटलफील्ड' अर्थात् रणभूमि समेत भनेर व्याख्या गरिएको छ। हवाईका ज्वालामुखी र समुद्रका भगवान्‌लाई आधार मान्दै त्यस्तो भनिएको यूएसजीएसले जनाएको छ।

उक्त पदावलीले लाभा र समुद्रको पानी मिसिएको क्षणमा उत्पन्न हुने भौतिक अन्तरक्रियालाई उपयुक्त ढङ्गले दर्शाउने बताइन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ला पाल्मा ज्वालामुखीः स्पेनी टापुमा हजारौँ मानिस प्रभावित