इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु

तस्बिर स्रोत, Reuters
- Author, जेरोम विरावान र जोएल गिन्टो
- Role, जाकार्ता र सिङ्गापुर
इन्डोनेशियाको मारापी ज्वालामुखी विस्फोट हुँदा त्यसको मुखनजिकै ११ पदयात्री मृत फेला परेको उद्धारकर्ताहरूले जानकारी दिएका छन्।
उक्त ज्वालामुखी सप्ताहान्तमा विस्फोट भएको थियो र सोमवार मात्रै त्यस क्षेत्रबाट तीन जनाको उद्धार गरिएको छ। हराइरहेका अन्य १२ को खोजी अर्को सानो विस्फोटनका कारण स्थगित गरिएको छ।
ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ। तीमध्ये अधिकांशलाई सुरक्षित रूपमा उद्धार गरिसकिएको छ।
इन्डोनेशियामा रहेका १२७ वटा सक्रिय ज्वालामुखीहरूमध्ये मारापी पर्वतमा आइतवार विस्फोटन भएको थियो। उक्त ज्वालामुखी विस्फोट हुँदा झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुँवाको मुस्लो उठेको थियो।
अधिकारीहरूले त्यहाँ दोस्रो उच्चस्तरको खतराको चेतावनी जारी गरेका छन्।
स्थानीयवासीलाई उक्त ज्वालामुखीको मुख वा खाडलको तीन किलोमिटर वरपर जान निषेध गरिएको छ।

उद्धार
पाडाङ क्षेत्रको खोजी तथा उद्धार निकायका प्रमुख अब्दुल मलिकले भने, “ ज्वालामुखीको मुखनजिकै फेला परेका ती तीन जना निकै कमजोर थिए र तिनको शरीरका केही भागमा पोलेको पनि थियो।”
सोमवार त्यस क्षेत्रबाट उद्धार गरिएका ४९ जना आरोहीहरूमध्ये केही आगोले पोलेर घाइते भएकाहरू छन्।
आइतवारको ज्वालामुखी विस्फोटनको भिडिओमा ज्वालामुखीको खरानी र धुवाँको मुस्लो आकाशमा तीव्र गतिमा उडेर फैलिएको र नजिकका मोटरगाडी र सडकहरू खरानीले ढाकिएको देख्न सकिन्छ।
उद्धारकर्मीहरूले ज्वालामुखी पहाडको दुर्गम बाटोबाट घाइते तथा मृतकहरूलाई पालैपालो बोकेर पर्खिरेहका एम्बुलेन्सहरूसम्म ल्याइपुर्याएका थिए।

तस्बिर स्रोत, Reuters
पश्चिम सुमात्राको विपद् न्यूनीकरण निकायका प्रमुख रुडि रिनाल्डीले भने, “त्यहाँ बेस्सरी तातो भएका कारणले गर्दा केही मानिस पोलेर घाइते भएका छन् र तिनीहरूलाई अस्पताल लगिएको छ।”
झन्डै २,८९१ मिटर अग्लो मारापी पर्वत इन्डोनेशियाको सुदूरपश्चिमको सुमात्रा टापुमा अवस्थित छ।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
इन्डोनेशियाली प्रायःद्वीप प्रशान्त महासागरीय क्षेत्रमा ‘प्यासिफिक रिङ अफ फायर’ भनिने जोखिमपूर्ण क्षेत्रमा पर्छ।
त्यहाँ महादेशीय भूखण्डहरू एकआपसमा ठेलिएर रहँदा ठूलो स्तरको ज्वालामुखी र भूकम्पीय गतिविधि भइरहन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








