जादुबाट पैसा बढाइदिने लोभ देखाएर 'कम्तीमा १२ जनाको हत्या'

कम्तीमा १२ जनाको हत्या गरेको आरोपमा यो साता प्रहरीले स्लामेत तोहारीलाई पक्राउ गरेको हो

तस्बिर स्रोत, KOMPAS

तस्बिरको क्याप्शन, कम्तीमा १२ जनाको हत्या गरेको आरोपमा यो साता प्रहरीले स्लामेत तोहारीलाई पक्राउ गरेको हो

इन्डोनेशियाको एउटा गाउँमा कम्तीमा १२ जनाको हत्या गरेको आरोपमा झाँक्रीको काम गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले उनको बगैँचामा गाडिएका शवहरू पनि फेला पारेको छ।

प्रहरीका अनुसार स्लामेत तोहारी नामक ती ४५ वर्षीय अभियुक्तले आफ्नो बगैँचामा दर्जनौँ मानिसलाई गाडेको स्वीकार गरेका छन्।

मध्य जाभाको बन्जरनगरस्थित आफ्नो घरमा झारफुक र जादु गराउन आउने मानिसहरूको योजनाबद्ध हत्या गरेको अभियोग उनीविरुद्ध लगाइएको छ।

प्रहरीका अनुसार उनी मानिसहरूलाई चमत्कार गरेर पैसा बढाइदिने आश्वासन दिन्थे तर पैसा फिर्ता मागेपछि विष दिएर उनले ती सेवाग्राहीको हत्या गरेका हुन्।

झाँक्रीले आफूले हत्या गरेका मानिसलाई एउटा बगैँचामा गाडेको प्रहरीले जनाएको छ

तस्बिर स्रोत, KOMPAS

तस्बिरको क्याप्शन, बालुन गाउँमा ती झाँक्रीले आफूले हत्या गरेका मानिसलाई बगैँचामा गाडेको प्रहरीले जनाएको छ

कसरी खुल्यो भेद?

एक व्यक्ति हराएपछि उनका छोराले प्रहरीलाई आफ्ना बुवाले अन्तिम पटक तोहारीको घरबाट सन्देश पठाएको बताएपछि प्रहरीले यो साता तोहारीलाई पक्राउ गरेको हो।

परियन्तोले गत मार्च २४ मा अन्तिम पटक परिवारजनसँग सम्पर्क गरेका थिए। ह्वाट्स्यापमा सन्देश पठाउँदै उनले छोरालाई आफू तोहारीको घरमा भएको र दुई दिनभित्र आफू घर नफर्किए प्रहरीलाई सूचित गर्न भनेका थिए।

परिवारले त्यसबारे प्रहरीलाई खबर गर्‍यो। त्यसपछि सोमवारको दिन प्रहरीको एउटा टोली तोहारीको घर भएको देसा बालुन गाउँ पुग्यो। त्यहाँ नजिकै प्रहरीले चिहानहरू फेला पार्‍यो।

केही चिहानमा दुई वा तीन जनालाई सँगै गाडिएको थियो। प्रत्येक चिहानमा मिनरल वाटरका एक-एकवटा बोतल पनि थिए।

तोहारीले हत्या गरेका मानिसका शवलाई फेरि सामूहिक चिहानमा गाडिएको छ
तस्बिरको क्याप्शन, तोहारीले हत्या गरेका मानिसका शवलाई फेरि चिहानमा गाडिएको छ
रातो रेखा
रातो रेखा

के भन्छ प्रहरी

प्रहरीका अनुसार ताहेरीले हत्या गरेको ठानिएका मानिसहरू २५ देखि ५० वर्ष उमेरका थिए। तीमध्ये केहीलाई छ महिनाअघि गाडिएको थियो।

शव परीक्षण गर्दा कुटपिट गरिएको कुनै सङ्केत फेला नपरेको प्रहरीले जनाएको छ।

मृतकहरूको सनाखत भइसकेको छ कि छैन भन्ने स्पष्ट हुन बाँकी छ।

शव फेला परेका सबै जनाको हत्याबारे अनुसन्धान भइरहेको छ कि छैन भन्ने विषयमा प्रहरीले कुनै जानकारी दिएको छैन।

प्रहरीका अनुसार तोहारी पटके अपराधी हुन्। उनी यसअघि सन् २०१९ मा जाली नोटको मुद्दामा जेल परेका थिए।

अहिलेको मुद्दामा उनलाई मृत्युदण्ड पनि हुन सक्छ।

तोहारीको घर
तस्बिरको क्याप्शन, तोहारीको घर

प्रहरीका अनुसार उनले आफूसँग चमत्कार गर्न सक्ने शक्ति भएको र सात करोड इन्डोनेशियाली रुपियालाई बढाएर पाँच अर्ब बनाइदिने दाबी गरेका थिए।

प्रहरीले सन् २०२० देखि उनले हत्याको शृङ्खला सुरु गरेको हुनसक्ने जनाएको छ।

जाली नोट

तस्बिर स्रोत, DETIK.COM

तस्बिरको क्याप्शन, यो घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले एक रु १,००,००० दरका जाली नोटहरू पनि फेला पारेको छ
रातो रेखा
रातो रेखा

कसरी गर्थे हत्या

प्रहरीका अनुसार चमत्कार गरेर पैसा बढाउने इच्छा भएका ग्राहकहरूलाई उनी दिउँसोपख गरिने अनुष्ठानमा सहभागी हुन बोलाउँथे अनि निद्रा लाग्ने औषधि र पोटासियम साइनाइड मिश्रित पेयपदार्थ खान दिन्थे।

सामाजिक सञ्जालमा तोहारीले प्रदान गर्ने "पैसा बढाउने सेवा"बारे प्रचार गर्ने एक व्यक्तिलाई उनको मतियार भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

तर तोहारीले आफू एक्लैले ती कुकृत्य गरेको प्रहरीलाई बताएका छन्।

विज्ञहरूले बीबीसीलाई बताएअनुसार इन्डोनेशियामा "चमत्कारबाट पैसा बढाउने" धन्दा निकै सामान्य छ। त्यस्तो सेवाबारे सामाजिक सञ्जालमा विज्ञापन गरेको पनि पाइन्छ।

समाजमा अझै पनि चमत्कारमा विश्वास गर्ने मानिसहरूको सङ्ख्या ठूलो भएकाले त्यस्तो धन्दा चलिरहेको पाइन्छ।

यूनिभर्सिटी अफ इन्डोनेशियासँग आबद्ध समाजशास्त्री इमाम प्रसोद्जोका अनुसार मानिसहरूलाई यस्तो धन्दाबारे सचेत बनाउन समय लाग्छ।

प्रहरीले त्यस्तो धन्दा गर्ने मानिसहरूविरुद्ध अझ चाँडै कारबाही गर्नुपर्ने उनको धारणा छ।