तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चेन्नई फेरि आईपीएल फाइनलमा, के धोनीले अब अवकाश लेलान्
इन्डियन प्रिमिअर लीग (आईपीएल) क्रिकेटको एउटा रोमाञ्चक क्वालिफायरमा गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई सुपर किङ्स फाइनलमा पुगेको छ।
चेन्नई सुपर किङ्सले दिएको १७३ रनको लक्ष्य भेटाउन गुजरात टाइटन्स विफल भएको थियो।
चेन्नईको एमए चिदम्बरम स्टेडियममा मङ्गलवार साँझ भएको खेलमा महेन्द्र सिंह धोनीको टोलीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।
गुजरातका खेलाडीहरू बसेको भागबाहेक रङ्गशालाको बाँकी भाग पहेँलो रङ्गले ढाकिएको थियो।
'धोनी, धोनी' भन्दै समर्थकहरूले चेन्नई सुपर किङ्स र त्यसका कप्तान धोनीलाई प्रोत्साहन दिएका थिए।
महेन्द्र सिंह धोनीलाई पुरानै प्रश्न
यसपालिको आईपीएल शृङ्खलामा चेन्नई सुपर किङ्सले खेल्दा हुँदा धोनीका समर्थकहरू ठूलो सङ्ख्यामा खेल गर्न गएका छन्।
यो आईपीएलकै क्रममा धोनीले अवकाशको घोषणा गर्ने कतिपयले अनुमान छ।
मङ्गलवार गुजरात टाइटन्सलाई हराएर आईपीएलमा यो सीजनको फाइनलमा पुगेपछि धोनीलाई उनको सम्भावित अवकाशबारे पनि सोधिएको थियो।
उनलाई सोधिएको थियोः के चेन्नईका दर्शकहरूले तपाईँलाई फेरि यहाँ देख्न पाउँछन्?
धोनीले "तपाईँले म अब फेरि यहाँ खेल्छु कि खेल्दिनँ भनेर सोध्न चाहनुभएको हो?" भन्दै प्रतिप्रश्न गरेका थिए।
त्यसपछि प्रश्नकर्ता हर्ष भोगलेले के तपाईँ यहाँ आएर फेरि खेल्नुहुन्छ भनेर सोधेका थिए।
मुस्कुराउँदै धोनीले भने, “मलाई थाहा छैन। यो निर्णय गर्नका लागि मसँग आठ-नौ महिना छ। डिसेम्बरको आसपास एउटा सानो लिलामी हुने छ त्यही भएर अहिलेदेखि नै किन टाउको दुखाउनु?”
उनले आफूसँग निर्णय गर्नका लागि पर्याप्त समय रहेको उल्लेख गर्दै आफू कुनै न कुनै रूपमा टोलीसँग जोडिरहन चाहेको बताए।
जारी आईपीएल सीजन धोनीको अन्तिम हुने भन्ने विषयमा यसअघिका खेलहरूमा पनि चर्चा हुने गरेको थियो।
कमेन्टेटर ड्यानी मोरिसनले अन्तिम सीजनमा धोनीलाई प्रत्येक मैदानमा व्यापक समर्थन मिलिरहेको भन्दै त्यसलाई कसरी लिइरहनुभएको छ भनेर प्रश्न गरेका थिए।
त्यसको जबाफमा 'क्याप्टेन कुल'को उपनामले परिचित धोनीले भने, “उसो भए तपाईँले यो मेरो अन्तिम सीजन हो भनेर तय गरिसक्नु भयो?”
"यसको मतलब तपाईँ फेरि आउनुहुन्छ?” भन्दै मोरिसनले दर्शकतिर फर्किएर अर्को वर्ष पनि धोनी आउने छन् भने। अनि धोनी त्यहाँबाट हाँस्दै गएका थिए।
धोनी र आईपीएलका कमेन्टेटरहरूबीच यस्तो प्रश्नोत्तर नौलो होइन।
सन् २०२० मा पनि उनलाई यही प्रश्न सोधिएको थियो। त्यसबेला धोनी स्वयंले आफ्नो अन्तिम आईपीएल म्याच चेन्नईमा हुने बताएका थिए।
उनको त्यो भनाइअनुसार हुने हो भने यो आईपीएल उनको अन्तिम होइन। तर उनको घुँडामा गहिरो चोट छ जसबारे आईपीएलको समयमा बारम्बार चर्चा हुने गरेको छ।
आईपीएल फाइनलमा फेरि पुगेपछि धोनीले के भने?
आईपीएल चेन्नई सुपुर किङ्स दशौँ पटक फाइनलमा पुगेको हो।
चेन्नई सुपर किङ्स चार पटक विजेता बनिसकेको छ। पहिलो पटक चेन्नई सुपर किङ्स सन् २०१० मा आईपीएल फाइनलमा पुगेको थियो।
त्यसपछि सन् २०११, २०१८ र २०२१ मा विजेता बनेको उक्त टोलीले यस पटक पनि जित हासिल गरे पाँच पटक उपाधि जितेको मुम्बई इन्डियन्ससँग बराबरी गर्ने छ।
धोनीलाई यस पटकको उनको टोलीको फाइनल यात्राका बारेमा पनि सोधिएको थियो।
“यो एउटा अर्को फाइनलजस्तो मात्रै होइन। पहिले यहाँ दुनियाँभरिका उत्कृष्ट क्रिकेटरहरू भएका आठ वटा टोली हुन्थे। अहिले १० वटा छन् जुन पहिलेभन्दा अत्यधिक मुस्किल हो।”
दुई महिनाभन्दा बढी समयको अत्यधिक मेहनत जोडिएको भन्दै उनले प्रत्येक सदस्यले उत्कृष्ट योगदान गरेर टोलीलाई यहाँसम्म ल्याइपुर्याएको बताए।
यसपालिको आईपीएलमा चेन्नईको माथिल्लो क्रमका ब्याटरहरूले लगभग प्रत्येक खेलमा राम्रो प्रदर्शन गरेका छन्।
गत वर्षको चेन्नई सुपर किङ्स आईपीएलको नवौँ स्थानमा थियो भने मुम्बई इन्डियन्स दशौँ स्थानमा थियो।
यसपालि चेन्नई फाइनलमा पुग्दा 'शीर्ष चार' मा भित्र परेको मुम्बई इन्डियन्स प्लेअफका लागि छनोट भएको छ।
अब मुम्बई इन्डियन्सले लखनऊ सुपर जायन्ट्ससँग खेल्ने छ। उक्त खेलको विजेता र गुजरात टाइन्ट्सबीच फाइनलमा जान अर्को खेल हुने छ।
गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले आइतवार हुने फाइनलमा आफ्नो टोलीको भेट चेन्नईसँग हुने अपेक्षा गरेको बताएका छन्।