तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अर्जुन तेन्दुलकर: सचिन तेन्दुलकरको छोरा हुनुको बोझ
गत महिना अर्जुन तेन्दुलकरले इन्डियन प्रिमियर लिग (आइपीएल)मा प्रवेश गर्दै मुम्बई इन्डियन्स टोलीका तर्फबाट शान्त खेल प्रदर्शन गरेपछि कैयन् क्रिकेट प्रेमीहरूले उनको खेललाई उनको बुबा तथा महान् क्रिकेट खेलाडी सचिन तेन्दुलकरको खेलसँग दाँज्दै उनको कौशलमाथि दुबिधा प्रकट गरे।
तर त्यस्तो तुलना गर्नु ती तेज गतिका युवा बलरप्रति अन्यायपूर्ण हुने सुरेश मेनन लेख्छन्।
अर्जुन तेन्दुलकरमाथि जति ध्यान दिइयो त्यति ध्यान आइपीएलका अन्य खेलाडीको प्रदर्शनमा विरलै हुने गर्छ।
तर यति त हुनु नै थियो। उनको थरका कारण। आफ्नो क्षेत्रमा उत्तम भनिएका बुवाको कदम पछ्याउँदै सोही क्षेत्रमा प्रवेश गर्न दह्रै आँट भएको छोराले मात्र सक्छ। महान् संगीतज्ञ मोजार्टका दुईजना छोरा नै सिपालु पियानोवादक थिए। तर एकजनाले लेखापाल र अनुवादक बन्न रुचाए भने अर्काले शिक्षक सङ्गीतकार बन्न रुचाए। किनकि त्यसो गर्दा उनीहरूबाट कुनै गल्ती भए पनि समाजले त्यो खुट्याउँदै हिँड्दैन थियो।
अर्जुन त्यति भाग्यशाली रहेनन्। जब पञ्जाब किङ्स टोलीसँगको खेलमा बलिङ् गर्ने क्रममा एउटा ओभरमा ३१ रन जुट्यो उनीमाथि ‘नातावाद’को सहारा लिएको आरोप लाग्यो। तर जब सनराइजर्स हैदराबाद टोलीविरुद्ध २० रन रक्षा गर्ने लक्ष्यसहित अन्तिम ओभर बलिङ् गर्दा उनले केवल ५ रन मात्र लिन दिए, त्यसको खासै चर्चै भएन। मार्क एन्टोनीले कुनै बेला भनेको जस्तै ‘खराब कुरा सम्झिइन्छ जबकि असल बिर्सिइन्छ।’
२३ वर्षको उमेरका एकजना बायाँ हाते मध्यम गतिका तेज बलरको रूपमा राष्ट्रिय मञ्चमा उनको प्रवेश कुनै रोमाञ्चक खेलाडीको जस्तो भएन। प्रति घण्टा १३० किलोमिटरको गतिमा फालिने उनको बलले तेज बलरहरू आन्रेख नोकिया वा जोफ्रा आर्चरको बल झेल्न सक्षम ब्याटरहरू पक्कै तर्सने थिएनन्।
तर पनि उनलाई उनकै गति र समयमा माझिन दिनुपर्थ्यो।
क्रिकेटमा बाबुछोराका यी जोडा
अर्जुनका बुबा सचिन १६ वर्षकै उमेरमा राष्ट्रिय खेलाडी बन्न सक्षम भएका थिए भने १९ वर्षको उमेरमा विश्वकै उत्तम ब्याट्स्म्यान कहलिए। अरू कोहीभन्दा धेरै खेल, धेरै रन र धेरै शतक सचिनले बनाए। त्यस्तो विरासत धान्न साँच्चिकै कठिन हुन्छ।
स्मरणीय छ कि अस्ट्रेलियाका महान् क्रिकेट खेलाडी डन ब्र्याड्म्यानका छोराले वर्षौँसम्म आफ्नो नाम परिवर्तन गरेर ब्र्याड्सेन राखे र उनी क्रिकेटर पनि थिएनन्। आफ्नो बुबाले खडा गरेको पारिवारिक विरासत पछ्याउनु भनेको आशीर्वाद र श्राप दुवै हो। यसले प्रारम्भिक चरणमा ढोकाहरू खोल्नेछन् तर त्यसपछि ती युवाले ठूल्ठूला अपेक्षाहरूको सामना गर्नुपर्नेछ। तपाईँ अर्जुन तेन्दुलकर हो भने के तपाईँले ती अपेक्षाबाट जोगिन सक्नुहुन्छ?
सुरुमा त अर्जुनको प्रवेश पनि नाटकीय नै रह्यो। गत डिसेम्बरमा गोवाका निम्ति खेल्दा उनले फर्स्ट क्लास खेल जीवनको सुरुआत शतकबाट गरेका थिए। आइपीएलमा दुई वर्षसम्म बेन्चमै बस्न बाध्य उनले यसपालि खेल्न पाए र पहिलो ओभरमा झन्डै एक विकेट पनि लिएका थिए।
उनलाई थाहा छ उनका प्रत्येक सफलतालाई बढाइचढाइ अनि प्रत्येक विफलतालाई पनि उत्तिकै बढाइचढाइ मिडियाले प्रस्तुत गर्नेछ। प्रत्येक पिताले आफ्ना सन्तानले आफूलाई जितेको हेर्न चाहन्छ। तर खेलमा यस्तो विरलै हुन्छ।
जोर्ज हेड्ली (जसलाई अश्वेत डन ब्र्याड्म्यान पनि भनिन्थ्यो)का छा रन हेड्लीले वेस्ट इण्डिजका निम्ति दुईवटा टेस्ट म्याच खेले। त्यसपछि उनले धेरै खेल इङ्गल्यान्डका लागि खेले जहाँ उनको छोरा डिनको जन्म भयो र जसले सो देशका निम्ति १५ टेस्ट म्याच खेले। दुई पुस्ताले हेड्लीको विरासत पछ्याउने कठिन प्रयास गर्यो।
भारतमा पटौदीका नवाब पिता इफ्तिखार अलि खानले इङ्गल्यान्ड र भारत दुवैका निम्ति खेले। उनका छोरा मन्सुर अलि खान पटौदीलाई निकै कुशलमध्येका कप्तान मानिन्छ। जब मैले एक पटक कान्छा पटौदीलाई उनको पितासँग तुलना गर्न आग्रह गरेँ तब उनको जबाफ थियो, “शायद वहाँ मभन्दा राम्रो ब्याट्स्म्यान हुनुहुन्थ्यो तर क्षेत्र रक्षण (फिल्डिङ्)मा म नै राम्रो छु।”
लाला अमरनाथ अनि उनका छोराहरू सुरिन्दर र मोहिन्दर सबैले भारतका लागि खेले। तीमध्ये सबभन्दा सफल चाहिँ मोहिन्दर रहे।
विश्वकै सबभन्दा तेज गतिका बलरहरू पाकिस्तानका इमरान खान र वेस्ट इण्डिजका माल्कम मार्शल, माइकल होल्डिङ, एन्डी रोबर्ट्स र जोअल गार्नरविरुद्ध उनले एउटा सिजनमा भएका ११ टेस्ट म्याचमा ५ शतक र ७ अर्ध शतकसहित अनि ६२ रनको औसतसहित ११८२ रन बटुलेका थिए। उनका बुबाले त्यस्तो आकर्षक खेल त प्रदर्शन गरेका थिएनन् तर शायद उनी अझ राम्रा अलराउण्डर थिए।
थर को श्रापले रोहन गावस्करलाई पनि छोडेन। डेढ दशकसम्म भारतको ब्याटिङको जिम्मा आफ्नो काँधमा लिएका महान् ब्याट्स्म्यान सुनिल गावस्करका छोरा रोहन बायाँ हाते ब्याट्स्म्यान थिए जसले बङ्गालका निम्ति फर्स्ट क्लास क्रिकेट खेले र आफ्नो बुबाभन्दा आक्रामक ब्याटरको रूपमा उनले भारतका लागि ११ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेले।
पछिल्ला वर्षहरूमा बाबुछोरा क्रिकेटरमा सबभन्दा चर्चित वेस्ट इण्डिजका चन्दरपाउलहरू भए। बुवा शिवनाराइन चन्दरपाउलले १६४ टेस्ट म्याच खेलेर ११,८६७ रन बटुले। छोरा तेजीनाराइनले जम्मा ६ टेस्ट म्याचमा ओपनरको रूपमा खेलेका छन् तर उनले एउटा दोहोरो शतक हानिसके।
दुवै बाबुछोराको ब्याटिङ शैली भिन्न छन्। जब २६ वर्षका छोरा तेजीनाराइनले एउटा अन्तर्वार्तामा यसो भने तब उनले शायद प्रख्यात बाबुका सबै छोराहरूका निम्ति साझा जबाफ दिएका थिए, “मेरा बुबा मभन्दा बिलकुल भिन्न व्यक्ति हुनुहुन्छ। मैले गर्नसक्ने मात्र मैले गर्नसक्छु’। म आफू नै बन्न सक्छु र म मेरो बुबा बन्न सक्दिनँ…”
ठ्याक्कै। अर्जुन तेन्दुलकरले पनि उनले गर्न सक्ने मात्र गर्न सक्छन्। अन्यथा अपेक्षा गर्नु भनेको मुर्ख्याइँ मात्र नभई उनीप्रति अन्याय पनि हो।
खेल लेखक सुरेश मेननले सचिन तेन्दुलकर तथा बिशन बेदीबारे पुस्तक लेखेका छन्।