न्यूयोर्कमा शङ्कास्पद ‘गोप्य चिनियाँ प्रहरी चौकी’, दुई जना पक्राउ

तस्बिर स्रोत, Reuters
- Author, होली होन्डरिच
- Role, वासिङ्टन
अमेरिकी अभियोजनकर्ताहरूले म्यानहटनको चाइनाटाउन नजिकै चिनियाँ "गोप्य प्रहरी चौकी" सञ्चालन गरेको आरोपमा न्यूयोर्कबाट दुई जनालाई पक्राउ गरेका छन्।
न्यूयोर्कमा बस्दै आएका ६१ वर्षीय लु जिआनवाङ र ५९ वर्षीय चेन जिन्पिङमाथि चीनका लागि बिचौलियाको रूपमा काम गर्न षडयन्त्र रचेको र न्यायिक प्रक्रियामा अवरोध खडा गरेको आरोप छ।
उनीहरूलाई सोमवार ब्रुकलिनको सङ्घीय अदालतमा उपस्थित गराइने ठानिएको छ।
यसअघि चीनले त्यहाँ प्रहरी चौकी खडा गरेको अस्वीकार गर्दै विदेशी नागरिकहरूका लागि "सेवा केन्द्रहरू" स्थापना गरेको बताएको थियो।
सोमवार अमेरिकी न्याय मन्त्रालयले, ब्रोन्क्समा बस्ने लु र म्यानहटनका चेनले अमेरिकामा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको तर्फबाट पहिलो विदेशी प्रहरी चौकी स्थापना गर्न मिलेर काम गरेको आरोप लगाएको छ।

उक्त कार्यमा संलग्न व्यक्तिहरूले एफबीआईले अनुसन्धान गर्ने थाहा पाएपछि सन् २०२२ को शरद ऋतुमा उक्त संरचना बन्द गरिएको मन्त्रालयले जनाएको छ।
"यो अभियोजनले न्यूयोर्क सहरको केन्द्रमा एउटा गोप्य प्रहरी चौकी स्थापना गरी चिनियाँ सरकारले हाम्रो राष्ट्रको सार्वभौमसत्ताको उल्लङ्घन गरेको खुलाएको छ," ब्रुकलिनका शीर्ष सरकारी वकिल ब्रेओन पिअर्सले भने।
यस्ता चौकीहरू बेलायत र द नेदरल्यान्ड्ससहित विश्वभर ५३ देशहरूमा कम्तीमा एक सय वटा सञ्चालनमा रहेको विश्वास गरिन्छ। गत महिना क्यानडाको सङ्घीय प्रहरीले दुई मोन्ट्रिअल-क्षेत्रका केही भागमा त्यस्ता प्रहरी चौकीमा अनुसन्धान गर्ने घोषणा गरेको थियो।


"चीनका गतिविधिहरूले राज्यका नीतिहरूबारे स्वीकार्य मान्यताको सीमा नाघेको छ। हामी हाम्रो देशमा बस्ने सबैको स्वतन्त्रतालाई तानासाही दमनको खतराबाट दृढताका साथ जोगाउने छौँ," न्याय मन्त्रालय अन्तर्गत राष्ट्रिय सुरक्षा शाखाका सहायक महान्यायाधिवक्ता म्याथ्यू ओल्सेनले भने।
अभियोजनकर्ताहरूका अनुसार लु चिनियाँ न्यायिक अधिकारीहरूसँग निकट थिए। उनले सन् २०१५ मा अमेरिकामा चिनियाँ सरकार विरोधीहरू विरुद्ध "दमनकारी गतिविधिहरू"मार्फत् चीनलाई सहयोग गर्न सुरु गरेको आरोप छ।
उनले सन् २०१८ मा चीनबाट भागेर अमेरिकामा बसिरहेका एकजना व्यक्तिलाई चीन फर्कन दबाव दिनुका साथै चीन र अमेरिकामा बसोबास गर्ने उनको परिवारलाई बारम्बार उत्पीडन र धम्कीहरू दिएका थिए।
अभियोजनकर्ताहरूका अनुसार उनलाई चीनको प्रजातन्त्र समर्थक अभियानकर्मीहरुलाई पत्ता लगाउनसमेत अह्राइएको थियो। अमेरिकी अधिकारीहरूले लगाएको आरोप लुले भने अस्वीकार गरेका छन्।

तस्बिर स्रोत, Reuters
सन्दिग्ध चौकी खोज्ने क्रममा सन् २०२२ को अक्टोबर महिनामा एफबीआईका अधिकारीहरूले उनी र चेनसँग सोधपुछ गरेका थिए। खोजीकै क्रममा उनीहरूको फोन जफत गरिएको थियो र दुवैले चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका एक जना अधिकारीसँगको सम्पर्क भएको र त्यसको प्रमाण मेटेको स्वीकारेका थिए। तिनै अधिकारीको निर्देशनमा उनीहरूले काम गरेको अभियोजनकर्ताहरूको आरोप छ।
दोषी प्रमाणित भएमा लु र चेन दुवैलाई २५ वर्षसम्मको जेल सजाय हुनसक्छ।
अमेरिका र क्यानडाका लागि चिनियाँ दूतावासहरूले ती "विदेशी सेवा केन्द्रहरू" महामारीको समयमा नागरिकहरूलाई चालक अनुमति पत्र नवीकरण र उस्तै प्रकृतिका अन्य समस्यामा सहायता प्रदान गर्नका लागि खोलिएको बताएका छन्।
तर मानवअधिकार समूहहरूले चीनले विदेशमा रहेका चिनियाँ नागरिकहरूलाई धम्की दिन र निगरानी गर्न त्यस्ता चौकीहरूको प्रयोग गरेको आरोप लगाएका छन्।
गत महिना क्यानडाको सङ्घीय फौजले चिनियाँ क्यानडालीहरूलाई "कथित चिनियाँ प्रहरी चौकी"बाट धम्की आउनसक्ने लक्षित वर्गलाई त्यसबारे जानकारी दिन आग्रह गरेको थियो।
"हाम्रो प्रहरीले यस घटनालाई हेरिरहेको छ र गुप्तचर प्रणालीले यसलाई गम्भीरताका साथ लिइरहेको छ भन्ने सुनिश्चित गर्ने प्रक्रियामा हामी छौँ," क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने।


एफबीआई निर्देशक क्रिस्टोफर रेले गत नोभेम्बरमा उनको एजेन्सीले त्यस्ता चौकीबारे आएको जानकारी अनुगमन गरिरहेको र ती "वास्तविक समस्या" भएको बताएका थिए।
"चिनियाँ प्रहरीले न्यूयोर्कमा कुनै समन्वयबिना चौकी स्थापना गर्नु निकै अपमानजनक छ," रेले भने। "यसले सार्वभौमसत्ताको उल्लङ्घन गर्छ र कानुनी प्रक्रियाको बेवास्ता गर्छ।"
सोमवार अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको छुट्टै विवरणमा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका ३४ जना अधिकारीहरूलाई अमेरिकामा चिनियाँ विद्रोहीहरूलाई दुर्व्यवहार गरेको र चिनियाँ सरकारको आधिकारिक प्रचारका लागि सामाजिक सञ्जालहरूमा नक्कली खाता प्रयोग गरेको आरोप लगाइएको छ।
अभियोजनकर्ताहरूका अनुसार सबै अभियुक्तहरू ९१२ स्पेसल प्रोजेक्ट वर्किङ् ग्रुप भनेर चिनिने विशेष कार्यदलका सदस्य हुन्। उनीहरूलाई "अमेरिका लगायत विश्वभर रहेका चिनियाँ विद्रोही लक्षित गतिविधि गर्न" खटाइएको दाबी गरिएको छ।
"चीन सरकारले आफ्नो राष्ट्रिय प्रहरी र ९१२ स्पेसल प्रोजेक्ट वर्किङ् ग्रुप कानुन र सार्वजनिक सुरक्षाको रक्षा गर्नका लागि नभई अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको अभ्यासमा आक्रमण गर्नका लागि तैनात गर्छ," अमेरिकी अधिवक्ता पिसले भने।
यी सबै ३४ जना प्रतिवादीहरू चीन वा एशियाको अन्य देशमा बस्ने ठानिएको छ।








