तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रधानमन्त्री ओली राष्ट्रसङ्घीय महासभामा कुनकुन विषय उठाउँदै छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जानुअघि नेपालले त्यहाँ प्रस्तुत गर्ने विषयमा संसद्लाई जानकारी गराएका छन्।
राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओलीले नेपालको तटस्थ परराष्ट्रनीति र कसैसँग शत्रुतापूर्ण सम्बन्ध नरहेको विषय पनि राष्ट्रसङ्घको महासभामा स्पष्ट पारिने संसद्लाई जानकारी गराए।
“आन्तरिक मामलाहरूमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दक्खल नदिने र आफ्नो स्वतन्त्र हैसियतको नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको नीति छ। त्यो कुरा पनि म संयुक्त राष्ट्रसङ्घमा राख्दै छु,” ओलीले भने।
“नेपाल असल छिमेकीको रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ,” उनले भने।
“आफ्ना जायज र न्यायोचित राष्ट्रिय हितहरू अन्तर्राष्ट्रिय उत्तरदायित्व भित्र रहेर पूरा गर्ने कुरामा नेपालको प्रतिबद्धता,” दोहोर्याउने प्रधानमन्त्रीको भनाइ छ।
उनले नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता पनि राष्ट्रसङ्घमा दोहोर्याउने बताएका छन्।
जलवायु परिवर्तन
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पुर्याइरहेको असरबारे संयुक्त राष्ट्रसङ्घमा नेपाली प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराउने बताए।
“एउटा नियमित चक्रमा मात्रै होइन त्यो भन्दा बढि हिउँ पग्लिएर गइरहेको छ। जति हिमालले हिउँ बोक्नुपर्थ्यो त्यो छैन। त्यो किन भइरहेको छ त्यसका कारणहरूमा जानुपर्छ,” ओलीले भने।
उनले जलवायुको समस्यासँग नेपालको हिमालहरूको सम्बन्धबारे ध्यानाकर्षण गराइने संसदलाई जानकारी गराए।
“आज ध्यान दिनुपर्ने दुईवटा विषय हुन् - पीपल एन्ड प्ल्यानिट,” ओलीले भने।
अरू विषय
उनले लागुपदार्थ दुर्व्यसनको समस्याबारे पनि महासभामा छलफल हुने बताए।
“लागुपदार्थ नियन्त्रण र कारोबार अन्त्य गर्ने सम्बन्धमा पनि नेपालको दृष्टिकोण मैले त्यहाँ प्रस्तुत गर्ने छु,” ओलीले संसद्मा भने।
अमेरिका बसाइका क्रममा ओलीले न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयमा र बोस्टनस्थित हार्भर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यतालिकाबारे सदनलाई जानकारी गराएका छन्।
“म नेपालको शिर ढल्ने गरी, इज्जत तल पर्ने गरी काम गर्दिनँ,” ओलीले भने।
अधिवेशन अन्त्य
यसैबीच संसद्को बर्खे अधिवेशन सोमवारबाट अन्त्य भएको छ। वैशाख २८ गतेबाट सुरु भएको अधिवेशन १३० दिनसम्म चलेको थियो।
यसमा ५३ दिनमा ५६ पटक बैठक बसेको र सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक पनि यसबीचमा दुई पटक बसेको सभामुख देवराज घिमिरेले जानकारी दिए।
यसबीचमा संसद्ले २०६ घण्टा २५ मिनेट संसदीय कारबाहीमा व्यतीत गरेको सभामुखले सदनलाई जानकारी गराएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।