इरानमा सरकारविरोधी प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्ड

शेकारी

तस्बिर स्रोत, MOHSEN SHEKARI

    • Author, डेभिड ग्रीटन
    • Role, बीबीसी न्यूज

इरानले सरकारविरुद्ध जारी प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ।

विरोध प्रदर्शन गर्नेलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो। मोहसिन शेकारीलाई बिहीवार बिहान फाँसी दिइएको थियो।

उनीमाथि एउटा रिभोल्यूशनरी अदालतले “मोहरेबेह” अर्थात् ईश्वरविरुद्ध युद्ध शुरू गरेको आरोप लगाइएको थियो।

सेप्टेम्बरमा तेहरानको मुख्य सडक अवरुद्ध गरेको र अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोग थियो।

एक अभियानकर्मीका अनुसार उनलाई “कुनै प्रकियाबिना दोषी ठहर गरिएको थियो।”

“अन्तर्राष्ट्रिय समुदायले यो मृत्युदण्डविरुद्ध तत्काल र सशक्त प्रतिक्रिया जनाउनुपर्छ,” नर्वेस्थित इरान मानव अधिकारका निर्देशक महमुद अमिरी मोगदमले भने।

“शेकारीको मृत्युदण्डले इरान सरकारले गम्भीर परिणामहरू नभोगेमा हामीले प्रदर्शनकारीहरूको सामूहिक फाँसी देख्नेछौँ,” उनले थप भने।

बसिज प्रतिकार बललाई प्रायः विरोध प्रदर्शनहरूलाई शान्त बनाउन खटाइन्छ।

नोभेम्बर १ मा अदालतले शेकरीलाई “हत्या गर्ने, आतङ्क मच्चाउने र समाजको सुरक्षामा खलल पुर्‍याउने नियतले” झगडा गरेको एवं हतियार बोकेको आरोपमा दोषी ठहर गरेको हो।

अदालतको फैसलाविरुद्ध दोषी भनिएका शेकारीले अपिल गरेका थिए। तर उनीविरुद्ध पुरानै फैसलालाई सर्वोच्च अदालतले सदर गर्‍यो।

इरान मानव अधिकार संस्थाले भने शेकरीलाई “सोधपुछ र अन्य कानुनी कारबाहीको क्रममा उनको वकिलसँगको पहुँच नदिइएको” बताएको छ।

उक्त समूहले कट्टरपन्थी फार्स समाचार संस्थाले उनको मृत्युदण्डको केही घण्टापश्चात् “जबरजस्ती स्वीकारोक्ति” प्रसारण गरेको थियो।

उक्त भिडिओमा उनको दाहिने गालामा चोट देखिएको छ।

रिभोल्यूशनरी अदालतले “ईश्वरविरुद्धको दुस्मनी” वा “पृथ्वीमा भ्रष्टाचार” गरेको आरोपमा अन्य १० जना प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ। यद्यपि अभियुक्तहरूको परिचय खुलाइएको छैन।

एम्नेस्टी इन्टरन्याश्नलका अनुसार मृत्युदण्डको सजाय “जनविद्रोहलाई दबाउन” र “आममानिसमा” त्रास पैदा गर्न नियोजित हो।

अदालतमा

तस्बिर स्रोत, IRIB/@HAFEZEH_TARIKHI

रिभोल्यूशनरी अदालतहरू “सुरक्षा तथा जासुसी संयन्त्रको प्रभावमा सञ्चालित छन् जसले पूर्वाग्रही र गोप्य ढङ्गले मुद्दाहरूको सुनुवाइ गरी कठोर सजायहरू दिने गर्छन्,” संस्थाले भनेको छ।

न्यायालयका प्रमुख गोलामहोसैन मोहसिनी इजेइले आफूले न्यायाधीशहरूलाई “अवरोध गरेको खण्डमा यो दङ्गामा सहभागी मुख्य व्यक्तिहरूमाथि अनावश्यक सहानुभूति नदेखाउन र उनीहरूलाई कठोर सजाय दिन” निर्देशन दिएको बताए।

इरानको संसद्का अधिकांश सदस्यले न्यायपालिकाबाट “निर्णायक कारबाही”को माग गरेका छन्।

उनीहरूका अनुसार राज्यविरुद्ध “युद्ध सुरु” गरेकाहरूमाथि बदलाको माग गरेका छन्।

हालको अशान्ति अगावै संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले इरानमा मृत्युदण्डको सिलसिलामा डरलाग्दो वृद्धि भइरहेको बताएका थिए।

यसरी दिइने मृत्युदण्डको सङ्ख्या सन् २०१७ यता एकै वर्ष ४०० पार गरेको छ।

इरानको तथाकथित आचार तथा व्यवहार निगरानी गर्ने प्रहरी निकायले हिरासतमा राखेकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि त्यहाँ महिलाहरूको नेतृत्वमा आक्रोशपूर्ण प्रदर्शनहरू शुरू भएका थिए।

महसालाई गत सेप्टेम्बर १३ मा विशेष प्रहरीले गलत तरिकाले हिजाब लगाएको भन्दै हिरासतमा लिएको थियो।

'म इरान पुगेँ भने श्रीमान्‌ले मारिदिन्छन्'

त्यस्ता प्रदर्शन हाल ३१ वटा प्रान्तका १६० वटा सहरमा फैलिएका छन् र इरानमा सन् १९७९ मा भएको इस्लामिक क्रान्तियता यस प्रदर्शनलाई गम्भीर चुनौतीको रूपमा हेरिएको छ।

अधिकारीहरूले भने यसलाई विदेशी शत्रुहरूले उक्साएको दङ्गाको रूपमा व्याख्या गरेका छन्।

यद्यपि अधिकांश प्रदर्शनकारीहरू निरस्त्र र शान्तिपूर्ण छन्।

ह्युमन राइट्स एक्टिभिस्ट समाचार संस्था एचआरएएनएका अनुसार हालसम्म कम्तीमा ४०० प्रदर्शनकारी मारिएका छन् र १८,२४० जना हिरासतमा लिइएका छन्। उसका अनुसार ६१ जना सुरक्षाकर्मी मारिएका छन्।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा आयोगले भने हालसम्म सुरक्षाकर्मीसहित २०० जना मारिएको जनाएको छ।