तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पेलेलाई अन्तिम बिदाइ गर्न उर्लियो प्रशंसकहरूको भिड
- Author, फ्रान्सिस माओ
- Role, बीबीसी संवाददाता, सान्तोस
ब्रजिलको सान्तोस रङ्गशालामा पेलेको पार्थिव शरीरमा सार्वजनिक श्रद्धाञ्जली व्यक्त गर्न दिइएको २४ घन्टापछि सान्तोसका सडकमा शवयात्रा निस्किएको छ।
मङ्गलवार उनलाई समाधिस्थ गरिँदैछ।
यसअघि ब्रजिलका नयाँ राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पेलेप्रति सम्मान प्रकट गर्न उनले पहिला फुटबल खेलेको क्लब सान्तोस रङ्गशाला पुगेका थिए।
टेलिभिजनमा देखाइएका दृश्यहरूमा निधन भएका फुटबल खेलाडीको शवपेटिका वरपर जम्मा भएको सानो भिडमा राष्ट्रपति लुला देखिएका थिए।
दशौँ हजार मानिसहरू रातभर पङ्क्तिबद्ध भएर उनलाई अन्तिम सम्मान व्यक्त गर्न बसेका छन् जसक्रममा कतिपयका आँखामा आँसु समेत देखिएको थियो।
उनको क्लबले करिब अढाई लाख मानिसले रङ्गशाला पुगेर श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ।
आइतबार भएको राष्ट्रपतिको पदभार ग्रहण समारोहमा ब्रजिललाई तीनपटक विश्वकप जित्न सघाएका खेलाडीको सम्मानमा एक मिनेटको मौन धारण गरिएको थियो।
उनको गत साता ८२ वर्षको उमेरमा निधन भएको थियो।
"हामी विश्वका हरेक देशलाई आफ्नो एउटा फुटबल रङ्गशालाको नाम पेलेको नाममा राख्न आग्रह गर्नेछौँ," श्रद्धाञ्जलि अर्पण गर्न पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने।
पेलेको निधनपछि ब्रजिल सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
विश्वकै सबैभन्दा महान् खेलाडीमध्ये एक मानिने पेलेलाई ठूलो आन्द्राको क्यान्सर भएको थियो।
'पेलेजस्तो अरू कोही हुनेछैन'
सोमवार बिहान शववाहन रङ्गशालामा आइपुगेसँगै हजारौँ प्रशंसकहरू सडकमा निस्किएका थिए।
पेलेलाई श्रद्धाञ्जलि अर्पण गर्न केही मानिस रातिदेखि नै लाइनमा बसेका थिए।
शव राखिएको पेटिका बोक्न ब्रजिलका भूतपूर्व खेलाडि जे रोबेर्टो र पेलेका छोरा एडिन्होले सहयोग गरेका थिए भने नेइमार, भिनिसस जुनिअर र रेआल मड्रिड क्लबले पुष्पगुच्छा पठाएका थिए।
बिहान ६ बजे उठेर आफ्ना पतिसँग सोरकाबा सहरदेखि यात्रा गरेकी बीएट्रिस दुई घण्टाभन्दा बढी लाइन लागेकी थिइन्।
“अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न म कटिबद्धछु,” ५६ वर्षकी उनले बीबीसीलाई भनिन्।
तेह्र वर्षे छोरासहित विल्सन जेनियो पनि सेतो गुलाफको फूल र पेलेले हस्ताक्षर गरेको सान्तोस फुटबल क्लबको झण्डा बोकेर लाइन लागेका थिए।
झण्डामा लेखिएको थियो: “जेनियो परिवारका लागि, तिम्रो साथी पेले।”
जेनियो र उनका छोराले रातभरि शववाहन पच्छाएका थिए।
“हामी उनको पछिपछि आएका हौँ। बिहान साढे तीन बजेदेखि हामी यहाँ छौँ,” उनीहरूले भने।
“अर्को १,००० वा २,००० वर्षपछि पनि पेलेजस्तो कोही हुनेछैन। उनी एक मात्र त्यस्ता हस्ती हुन्।”
‘पूरै सहर रङ्गशालामा उर्लिएको छ'
सान्तोस रङ्गशालामा रहेका उनलाई अन्तिम सम्मान व्यक्त गर्न मानिसहरू पुगिरहँदा त्यहाँ बीबीसी संवाददाता फ्रान्सिस माओ समेत थिइन्।
यहाँ निकै गर्मी छ। तापमान झन्डै ३० डिग्री सेल्सिअस पुगेको छ। तर पूरै सहर पेलेको शव राखिएको रङ्गशालातिर उर्लिए जस्तो देखिन्छ ।
शोकाकुल प्रशंसकहरूले रङ्गशालाको बीचको भागमा पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।
ब्रजिलका सबै भाग मात्रै नभएर विश्वभरिबाट मानिसहरू यहाँ आइपुगेका छन्। मैले मेक्सिकोको झण्डा र द नेदरल्यान्ड्सको 'पिन’ पनि देखेँ।
समाचार सङ्कलन गर्न सञ्चारमाध्यमले प्रयोग गरेका हेलिकप्टरहरू उडिरहेका छन्। पेलेको क्लब सान्तोसको कालो र सेतो रङ्गको जर्सी वा ब्रजिलको राष्ट्रिय टोलीको पहेँलो रङ्गको जर्सी लगाएर मानिसहरू निस्किएका छन्।
रङ्गशालामा पेलेको स्वर गुन्जिएको छ। सन् २००६मा उनले गाएको “मीउ लेगादो” अर्थात् मेरो विरासत बोलको गीत दोहोर्याएर तेहेर्याएर बजाइएको छ।