'साधारण महिलाहरूले अरूको ज्यान जोगाउन गरेका असाधारण काम'

ननहरूको प्रतीकात्मक चित्र

तस्बिर स्रोत, By arrangement

तस्बिरको क्याप्शन, सन् १९४३ मा नाजीहरूद्वारा ११ जना ननहरूको हत्या गरिएको थियो
    • Author, स्वामिनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा

"उनीहरूले जसरी मृत्युवरण गरे त्यो स्पष्ट रूपमा यस कथाको एक महत्त्वपूर्ण अंश हो। तर मेरा लागि उनीहरू साधारण महिलाहरू वा ननहरू थिए जसले असाधारण काम गरे। यही कुराले यसलाई विशेष बनाउँछ।“

असी वर्षअघि सन् १९४३ को अगस्ट १ मा जर्मन नात्सी सेनाले ११ जना रोमन क्याथोलिक ननहरूको हत्या गरेको थियो।

सिस्टर क्लारा भोल्चेक अक्सर 'ब्लेस्ड मेरी स्टेला र उनका दश जना सहकर्मीहरू' अर्थात् 'नोवोग्रोदेकका शहीदहरू'को समाधिस्थलमा जान्छिन्।

"ती ननहरूले १२० जना मानिसहरूको ज्यान बचाउन मद्दत गरे जो मृत्युको मुखमा पुगेका थिए तर त्यसरी बाँचेकाहरूलाई श्रम शिविरमा जान बाध्य पारियो,” पूर्वी युरोपको बेलारुसबाट बीबीसीसँग फोनमा कुरा गर्दै सिस्टर क्लारा भन्छिन्।

क्लारा भोल्चेक

तस्बिर स्रोत, Klara Volchek

तस्बिरको क्याप्शन, क्लारा भोल्चेकले दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका ननहरूको कथा सुनाइन्

सन् २००० को मार्च ५ मा पोप जोन पल द्वितीयले ती ननहरूलाई सेन्ट अर्थात् सन्त भएको घोषणा गर्नुअघिको अन्तिम चरणमा प्रवेश गरिने धार्मिक प्रक्रिया पूरा गरेका थिए।

"यी महिलाहरूले नोवोग्रोदेकको जेलमा रहेकाहरूको जीवनको बदलामा आफ्नै ज्यान समर्पण गर्ने शक्ति कहाँबाट प्राप्त गरे?" उनले प्रश्न गरेका थिए।

तर कैदीहरूको रिहाइको बदलामा ती इशाई भिक्षुणी अर्थात् ननहरू मारिएको भन्ने कुनै स्पष्ट प्रमाण छैन।

तथ्यको खोजी

यो कथा सन् १९२९ को सेप्टेम्बर ४ मा 'होली फ्यामिली अफ नाजरेथ' भनिने धार्मिक समुदायका दुई ननहरू नोवोग्रोदेकस्थित सानो सहरमा आइपुग्दा सुरु हुन्छ।

केही शताब्दीयता थुप्रै पटक शासन सत्ता परिवर्तन भएको त्यस सहर दोस्रो विश्वयुद्ध सुरु हुँदा पोल्यान्डको नियन्त्रणमा थियो र त्यहाँ करिब बीस हजार मानिस बसोबास गर्थे।

सन् १९३९ को सेप्टेम्बरमा यसलाई सोभियत सङ्घको सेनाले नियन्त्रणमा लियो। त्यति बेला ननहरू आफ्नो धार्मिक आवास छोडेर वरपरका श्रद्धालुहरूको घरमा सर्न बाध्य भएका थिए।

नोवोग्रोदेकको नक्सा

सन् १९४१ मा जर्मन नात्सी फौजले त्यस सहरलाई कब्जा गर्‍यो र सोभियतहरू विस्थापित भए। ननहरूले पुनः धार्मिक आवासमा फर्किने मौका पाए। त्यति बेला सहरको लगभग आधा जनसङ्ख्या यहुदी थियो र नात्सीहरूले उनीहरूको विनाश गर्न थाले।

त्यहाँ पहिलो नरसंहार १९४१ को डिसेम्बरमा भएको थियो। त्यस घटनामा ५,१०० यहुदीहरू मारिएका थिए। सन् १९४२ को अगस्ट महिनामा थप ४,५०० यहुदीहरूको हत्या भयो।

सन् १९४३ सम्ममा यस क्षेत्रमा विभिन्न पक्षका समूहहरू सक्रिय भए। नात्सीहरूको गुप्तचर प्रहरी गेस्टापोले जुलाई १७ देखि १९ सम्म १८० जनालाई पक्राउ गरेको थियो। केही समयपछि पक्राउ परेका सबैलाई मृत्युदण्ड दिइने हल्ला फैलियो।

एक पादरीको बयान

त्यति बेलासम्म नोवोग्रोदेकमा बाँकी एक मात्र पादरी थिए रेभरेन्ड अलेक्जेन्डर जिएनकिविच। ननहरूको मण्डलीमा १२ जना सदस्य थिए। तीमध्ये ५५ वर्षीया सिस्टर मेरी स्टेला सबैभन्दा ज्येष्ठ र २७ वर्षीया सिस्टर मेरी बोरोमिया सबैभन्दा कान्छी थिइन्।

फादर जिएनकिविचले 'मदर स्टेला'ले गिरफ्तारीपछि कस्तो प्रतिक्रिया जनाएकी थिइन् भन्ने कुरा बताएका छन्।

"उनी सरल थिइन् र उनले त्यही सरलताका साथ भनेकी थिइन्, "हे परमेश्वर, यदि जीवनको बलिदान आवश्यक छ भने यसलाई हामीबाट स्वीकार गर्नुहोस् जो पारिवारिक दायित्वहरूबाट मुक्त छौँ। उनीहरूलाई मुक्त गरिदिनुहोस् जसको संरक्षकत्वमा उनीहरूका श्रीमती र सन्तान छन्। हामी यसका लागि प्रार्थना पनि गरिरहेका छौँ," उनले आफ्नो बयानमा लेखेका छन् जुन पछि ननहरूको धार्मिक संस्थाले प्रकाशित गरेको थियो।

चित्र अगाडि उभिएर प्रार्थना गर्दै कम उमेरका पादरीहरू

तस्बिर स्रोत, Klara Volchek

तस्बिरको क्याप्शन, ननहरूको कथाले तीर्थयात्रीहरूलाई प्रेरणा दिन्छ

“कैदीहरूलाई मृत्युदण्ड दिने योजनामा हस्तक्षेप गर्न दैवी शक्तिले कुनै व्यक्ति वा उपायको प्रयोग गरेको भए त्यसको पहिचान गर्ने कुनै अभिलेख उपलब्ध छैन,“ उनले थप भनेका छन्।

त्यसको एक सातापछि ती ननहरूलाई प्रहरी चौकीमा बोलाइयो।

फादर जिएनकिविचले सिस्टर स्टेलालाई जुलाई ३१ मा भेटेका थिए। उनले सिस्टरमा "चिन्ता र आशङ्का" देखे र त्यो नै उनीहरूको अन्तिम भेट बन्यो।

सिस्टर स्टेलाले पादरीसँग आफूहरूलाई कडा परिश्रमका लागि जर्मनी पठाइने आशा व्यक्त गरेकी थिइन्।

पछि उनीसँगै १० जना ननहरू प्रहरी चौकीमा उपस्थित हुन जाँदा सिस्टर मागोर्जाटालाई भने स्टेलाले त्यहीँ बस्न आग्रह गरेकी थिइन्।

भोलिपल्ट फादर जिएनकिविच प्रार्थनामा सहभागी भए तर सामान्यतया ननहरू बस्ने ठाउँलाई रित्तो देख्दा उनले "शोक भाव" महसुस गरे।

सन् १९४३ अगस्ट १ को दिन इशाई श्रद्धालुहरूको 'कन्फेशन' सुन्ने तयारी गर्दै गर्दा उनले त्यस बिहान ती ननहरूको हत्या भएको थाहा पाए।

उनका लागि त्यस्तो घटनाको पछाडिको उद्देश्य स्पष्ट थिएन। गलत मानिस पहिचान हुँदा गेस्टापोले सोभियत गुरिल्लाहरूलाई सहयोग गरेको आशङ्कामा धार्मिक संस्थाका सदस्यहरूलाई मार्न खोज्दा उनीहरू मारिएको हुनसक्ने सुनेका थिए।

त्यसपश्चात् फादर जिएनकिविच स्वयं भूमिगत भए। सन् १९४५ मार्चमा त्यस क्षेत्रमा नात्सीहरू पराजित भएपछि उनले ननहरूको शव उत्खननको नेतृत्व गरे र उनीहरूलाई गिर्जाघर नजिक विधिवत् रूपमा अन्तिम संस्कार गरिदिए।

विवादित प्रमाण

पादरीले दिएका विवरण तामरा भर्सित्स्कायाको अनुसन्धानसँग मेल खान्छ। उनले सन् १९९२ मा नोवोग्रोदेकमा यहुदी प्रतिरोध सङ्ग्रहालयको स्थापना गरेकी थिइन्। सेवा निवृत्त भएयता उनी यहुदीहरूको जातीय संहार (होलोकास्ट) सम्बन्धी अनुसन्धानमा संलग्न छिन्।

"मलाई थाहा भएसम्म यी दुई घटनाहरू एक अर्कासँग मेल खाँदैनन्। ती घटनाहरू मिल्दाजुल्दा देखिन्छन् तर सम्बन्धित देखिँदैनन्,” नोवोग्रोदेकबाट बीबीसीसँग कुरा गर्दै उनले भनिन्।

तामरा भर्सित्स्काया

तस्बिर स्रोत, Tamara Vershitskaya

तस्बिरको क्याप्शन, तामरा भर्सित्स्कायाले ननहरूको हत्या र पोलिश कैदीहरूलाई मृत्युदण्ड नदिने निर्णयबीचको अन्तर्सम्बन्ध फेला पार्न सकिनन्

सन् २०११ मा उनले अमेरिकास्थित होलोकास्ट मेमोरियल म्युजियमसँगको सहकार्यमा प्रत्यक्षदर्शी तथा पीडितहरूसँग भिडिओ अन्तरवार्ता लिएकी थिइन्।

"मारिया कराभाइस्का मलाई उक्त घटना सुनाउने पहिलो भुक्तभोगी थिइन्। उनका दुई जना दाजुभाइहरू जर्मनी पठाइने पोलिशहरूसँगै थिए," भर्सित्स्कायाले भनिन्।

मारियाले उनलाई बताएअनुसार ११२जना पोलिशहरूलाई जर्मनी पठाइएको थियो।

भर्सित्स्कायाले अभिलेखहरूमा जर्मन भाषामा लेखिएको सूची फेला पारिन्। त्यसमा ९५ जना पोलिश नागरिकहरूको नाम समावेश थियो जसलाई समय क्रममा जर्मनी पठाइयो। सम्भवतः जुलाई २४ मा पठाइएको ठानिन्छ।

अन्तर्वार्ताका क्रममा मारियाले आफ्ना दाजुभाइको गिरफ्तारीबारे बोलिन्।

“मेरा तीन दाजुभाइहरू पक्राउ परेका थिए तर एक जना भाग्न सफल भए,” उनले सुनाइन्।

“उनीहरूलाई एक भूमिगत पार्टी सङ्गठन सञ्चालन गरेको आरोप लागेको थियो। जर्मनहरूले उनीहरूलाई मृत्युदण्ड दिने योजना बनाएका थिए र उनीहरूलाई गाड्न चिहान समेत खनेका थिए।“

मारिया काराभाइस्का

तस्बिर स्रोत, USHMM

तस्बिरको क्याप्शन, मारिया काराभाइस्काका दुई भाइहरूलाई सन् १९४३ मा जबरजस्ती काममा लगाउन जर्मनी पठाइएको थियो

सुरुवातमा गेस्टापोले १८० जनालाई पक्राउ गरेको थियो। प्रमुख अधिकारी विल्हेम ट्राउबको अनुपस्थितिमा गिरफ्तारी भएको थियो। उनी जर्मनीको जमिनदार परिवारबाट आएका थिए।

गिरफ्तारीको खबर सुने लगत्तै उनी राजधानी मिन्स्क पुगे र आफ्ना उच्च अधिकारीहरूसँग त्यसरी पक्राउ परेका कैदीहरूलाई आफ्नो खेतमा काम गर्न पठाइदिन आग्रह गरे।

"मारियाले मलाई बताएअनुसार ट्राउबले उनका दाजुभाइसँग पोलिश भाषामा कुरा गरे र एक रातका लागि घर फर्किएर यात्राका निम्ति अत्यावश्यक सामानहरू ल्याउन भने।

"भोलिपल्ट सबै कैदीहरूलाई रेल स्टेसनमा आउन भनियो," भर्सित्स्कायाले भनिन्।

जबरजस्ती काममा पठाइएकाहरूको सूचि

तस्बिर स्रोत, Handout

तस्बिरको क्याप्शन, जबरजस्ती काममा पठाइएकाहरूको सूचिमा मारियाका भाइ ५२ नम्बरका व्यक्ति हुन्

"यो कुरा साँचो हो कि पक्राउ परेपछि पोलिश परिवारहरू गिर्जाघर गए र सहयोग मागे," उनले सुनाइन्।

"त्यहाँ ननहरूले प्रार्थना गरे। त्यहाँ मध्येकी ज्येष्ठ ननले प्रार्थनाका क्रममा, यदि यहाँ बलिदान हुन्छ भने हाम्रो होस् भनेको हुनसक्ने सम्भावना छ। मलाई विश्वास छ, यो कुरा साँचो हुनसक्छ।”

तर ती मानिसहरूको भाग्यलाई लिएर नन र नात्सीहरू बीच कुनै किसिमको सम्झौता भएको सङ्केत दिने कुनै प्रमाण छैन।

उनी भन्छिन्, "ननहरू पक्राउ पर्नुको कारण पोलिशहरूको यस समूहको रिहाइसँग सम्बन्धित थियो जस्तो मलाई लाग्दैन।“

एक वृहत् उद्देश्य

जबरजस्ती श्रमका लागि जर्मनी लगिएका सबै मानिसहरूले युद्धमा ज्यान जोगाएको भर्सित्स्कायाले बताइन्।

सिस्टर अमाबिलिस 'होली फ्यामिली अफ नाजरेथ' मण्डलीकी प्रमुख हुन्। उनले यस घटनाबारे गिर्जाघरको दस्ताबेजहरू बारे बताइन्। ती कागजातमा लेखिएको छ, “सिस्टरहरूको जीवन नियालेकाहरू उनीहरूले ईश्वरप्रतिको आस्था र मानव प्रतिको प्रेमबाट निर्देशित भएर आफ्नो जीवन त्याग गरेकोमा विश्वस्त छन्।“

स्वतन्त्र प्रमाणको अभावबारे इमेलमा थप प्रश्नको जबाफ दिँदै सिस्टर अमाबिलिसले भनिन्: "ननहरूले त्यागका शब्द बोलेका र परमेश्वरले उनीहरूको बलिदान स्विकारेकोमा हामी विश्वस्त छौँ।"

चिहानमा सिस्टर

तस्बिर स्रोत, Klara Volchek

तस्बिरको क्याप्शन, चिहानमा सिस्टर

नोवोग्रोदेकमा धार्मिक समुदाय घट्दै जाँदा सिस्टर क्लारा भने आफ्नो विश्वासमा अडिग छिन्। "म हाम्रा सिस्टरहरूको बलिदानमा विश्वास गर्छु जसले कैदीहरूको जीवन रक्षा गरे,” उनले भनिन्।

"मलाई थाहा छ, मान्छेले तार्किक ढङ्गमा तथ्यहरूको फरक व्याख्या गर्न सक्छन् तर ईश्वरले उनीहरूको त्यागको कुरा सुन्नुभयो र स्वीकार गर्नुभयो।"

लु याङको अतिरिक्त रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।