तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भाइरल भिडिओबाट हमासले इजरेलमा बन्धक बनाएका मानिसबारे यस्तो जानकारी
शनिबार प्यालेस्टिनी लडाकु समूह हमासले दक्षिणी इजरेलमा अप्रत्याशित रूपमा आक्रमण गरेपछि दर्जनौँ भिडिओ भाइरल भए जसमा बन्धक बनाइएका इजरेली गैरसैनिक नागरिकहरूलाई देख्न सकिन्छ।
बन्धक बनाइएका मानिसहरूको निश्चित सङ्ख्या घोषणा गरिएको छैन। तर इजरेली सेनाले उक्त सङ्ख्या उल्लेख्य रहेको छ।
हमासले उक्त सङ्ख्या ‘दर्जनौँ भन्दा कैयौँ गुणा ठूलो’ रहेको बताएको छ। बीबीसीले कतिपय बन्धकलाई गाजा लगिएको पुष्टि गरेको छ।
हामीले इजरेल र गाजा स्ट्रिपका ठाउँहरू कसरी पहिचान गर्यौँ
इन्टरेटमा व्यापक रूपमा शेअर गरिएको एउटा भिडिओमा एउटा साङ्गीतिक कार्यक्रम हेर्न गएको समूह मरुभूमिमा भागिरहेको देख्न सकिन्छ।
आइतवार साँझ उद्धारकर्ताहरूले त्यहाँबाट २५० भन्दा बढी शव फेला परेको बताएका थिए।
आत्तिएर कारको ढोका खोल्न अनुरोध गर्दै कतिपयले हिब्रू भाषामा चिच्याइरहेका छन्, “कृपया”, “आउनुहोस्” र “कृपया खोल्नुहोस्।”
इजरेली सञ्चारमाध्यमले उक्त कार्यक्रम पश्चिम नेगेभको किबुत्स रिममा भइरहेको जनाएको छ।
बीबीसीले उक्त स्थानबारे सो कार्यक्रममा भाग लिएका प्रत्यक्षदर्शीसँग कुरा गरेर पुष्टि गरेको छ।
उक्त भिडिओमा देखिएको स्थान भूउपग्रहबाट खिचिएका तस्बिरसँग मेल खान्छ। सो ठाउँवरपर मरुभूमि देखिन्छ।
इजरेली बन्धकहरूको भिडिओको जिओलोकेशन
अर्को भिडिओमा लगभग चार जना इजरेली सर्वसाधारणहरूलाई इजरेलको बेरी नगरबाट लिएर गएको देख्न सकिन्छ।
बन्धक बनाइएकामध्ये कालो पोसाक लगाएकी एक वृद्धा पनि छिन्।
भिडिओ खिचिरहेका व्यक्ति अरबी भाषामा बोलिरहेको सुन्न सकिन्छ र उनले कम्तीमा दुईवटा अरबी नाम उच्चारण गरेको सुनिन्छ।
उक्त ठाउँको भूउपग्रहबाट खिचिएको तस्बिर भिडिओमा देखिएको सडकको ढाँचा, मिलेका झ्याङहरू र भवनसँग मेल खान्छ।
गुगलको फोटोस्फिअरले उक्त ठाउँ नजिकैको तस्बिर लिएको छ जसमा भिडिओमा देखिएको जस्तो घरको शैली देख्न सकिन्छ।
बन्धकहरू कसरी पहिचान गरियो
व्यापक रूपमा शेअर गरिएको एउटा भिडिओमा एक इजरेली महिलालाई अपहरण गरिएको र एकान्त ठाउँमा मोटरसाइकलमा बन्धक बनाइएको देख्न सकिन्छ।
भिडिओमा उनी अपहरण गरिएका अर्का पुरुषनजिकै पुग्ने प्रयास गरिरहेको देख्न सकिन्छ।
पछि इजरेलका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ती किशोरी बेपत्ता रहेको भन्दै तस्बिरहरू शेअर गरेका छन् र उनी नोआ अर्गामानी भएको जनाइएको छ।
बीबीसीले नोआको भनेर प्रचार गरिएका तस्बिरहरू इन्टरनेटमा रिभर्स इमेज सर्च गरेको थियो र त्यसबाट उनको सामाजिक सञ्जाल खातासम्म पुगेको थियो।
नोआका कतिपय पोस्टमा ताजा प्रतिक्रियहरू आएका छन्। तिनमा मानिसहरूले उनीप्रति सहानुभूति जनाइरहेका छन्।
उनको फेसबुक खातामा बीबीसीले उनीसँग रहेका पुरुषको नाम पनि देख्यो। ती व्यक्तिका भाइ मोशे ओरले आफ्ना दाजु अभिनाटनलाई नोआका प्रेमीका रूपमा चिनाए।
उनको अपहरण हुँदै गर्दाको भिडिओमा नोआले अभिनाटनलाई सन्देश दिएकी छन्। मोशेले इजरेली सञ्चारमाध्यमसँग नोआ भिडिओमा त्रसित देखिएको बताएका छन्।
ट्याटूबाट पहिचान
सामाजिक सञ्जालमा शेअर गरिएको अर्को भिडिओमा एउटा पिकअप ट्रकले लगभग निर्वस्त्र महिलाको शव लगिरहेको देखिन्छ।
त्यसपछि सामाजिक सञ्जालमा शेअर भएको अर्को भिडिओमा एउटी आमाले उक्त शव आफ्नी छोरीको भएको भन्दै उनको नाम शानी लोउक भएको बताएकी छन्।
उनले आफ्नी जर्मन नागरिक भएको र पश्चिमी नेगेभको पार्टीमा गएको जानकारी दिएकी छन्। आफूले छोरीलाई उनको खुट्टामा रहेका ट्याटूका आधारमा चिनेको उनको भनाइ छ।
भिडिओमा देखिएको महिलाको शवको पहिचान पुष्टि गर्न बीबीसीले उक्त भिडिओ र शानीको फोटोको तुलना गर्दै परीक्षण गरेको थियो।
भिडिओमा रहेको ट्याटू र सानीको इन्स्टाग्राम खातामा रहेका तस्बिरका ट्याटू मेल खान्छ।
भिडिओबाट बन्धकहरूबारे के थाहा हुन्छ
शेअर गरिएका भिडिओमा फरक उमेर समूहका पुरुष र महिला अनि बालबालिकालाई कब्जामा लिएको देख्न सकिन्छ। त्यसमा गैरसैनिक र सैनिक दुवै छन्।
प्रारम्भमा गरिएको कारबाहीपछि सुरुमा सार्वजनिक गरिएकोमध्येको एउटा भिडिओमा तीन इजरेली सैनिक इजरेल र गाजाबीचको एउटा सीमा क्षेत्रनजिकै देख्न सकिन्छ।
हमासको सैनिक सङ्गठन अल कासम ब्रिगेडले पछि पोस्ट गरेको भिडिओमा ती सैनिकहरूलाई चेकपोइन्टको भवनभित्र घिसारिरहेको देखाइएको छ।
दुवै भिडिओमा सैनिकहरूको पोसाक उस्तै छ।
बीबीसीले अल कासमले पोस्ट गरेको भिडिओको जिओलोकेशन जाँच गरेको थियो।
त्यस क्रममा सीमाको पर्खाल, निगरानी पोस्ट र भवनहरूको ढाँचा भूउपग्रहबाट लिइएको तस्बिरसँग मिलेको देखिन्छ।
पूर्वतर्फ तलतिर सूर्य देखिएकाले उक्त भिडिओ बिहानीपख लिइएको हुन सक्ने सङ्केत गर्छ।
बन्धकहरूलाई कहाँ लगियो?
बीबीसीले इजरेली बन्धकहरू देखिने भिडिओहरूको जाँच गरेको छ र तिनको जिओलोकेशन पत्ता लगाई गाजाका विभिन्न ठाउँमा खिचिएको पहिल्याएको छ।
एउटा भिडिओमा पिकअप ट्रक भिडतर्फ अघि बढिरहेको देखिन्छ र त्यहाँबाट ‘अल्लाहु अकबर’ भन्दै कराइरहेको सुन्न सकिन्छ। उक्त पोस्टमा इजरेली बन्धक भनिएका व्यक्ति सो सवारीसाधनभित्र पल्टिरहेका हुन्छन्।
बीबीसीले उक्त स्थान गाजा स्ट्रिपको बानी सुहेइला रहेको पहिचान गरेको छ।
बीबीसीले त्यहाँ रहेको मासु पसलको नाम र फेसबुक भिडिओमा रहेको त्यही स्टोरको तुलना गर्दा मेल खाएको पाइएको थियो।
शेअर गरिएको अर्को भिडिओमा गम्भीर रूपमा घाइते भएका वा ज्यान गुमाएका एक इजरेली सैनिकलाई एउटा सेतो कारबाट घिसार्दै बाहिर निकालेको देख्न सकिन्छ।
बीबीसीले उक्त भिडिओ गाजाको अल अवादा सडकनजिकैको हुनसक्ने जिओलोकेशन विधिबाट पत्ता लगाएको छ। सो भिडिओको पछाडिपट्टि रहेको धारा मर्मत गर्ने पसलको नाम जाँच गर्दा त्यस्तो निष्कर्ष निकालिएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।