तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नागढुङ्गा सुरुङ ‘चार दिनमा छिचोलिने,’ सञ्चालनमा आउन कति समय लाग्ला?
केही साता पहिले झन्डै एक महिनासम्म अवरुद्ध भएको नागढुङ्गास्थित मूल सुरुङ छिचोल्ने काम वैशाखको पहिलो साताका लागि तय भएको अधिकारीहरूले बताएका छन्।
त्रिभुवन राजपथमा निर्माण भइरहेको नागढुङ्गा सुरुङ परियोजना अन्तर्गत मूल सुरुङ छिचोल्ने काम वैशाख ३ गतेका लागि तय भएको अधिकारीहरूले बताएका छन्।
कुल २,६८८ मिटर लामो उक्त सुरुङ छिचोल्ने लक्ष्य मार्चको पहिलो साताका लागि नै तय गरिएको थियो।
तर स्थानीय समुदायले केही मागहरू राख्दै एक महिनासम्म निर्माण कार्यमा अवरोध पुर्याएपछि मूल सुरुङ खन्ने काममा सम्पन्न गर्ने मिति सरेको थियो।
उक्त परियोजनाका एक जना अधिकारीले मूल सुरुङ अन्तर्गत अब २ मिटर मात्रै छिचोल्न बाँकी रहेको उल्लेख गर्दै अन्तिम चरणका कामहरू भइरहेको बीबीसीलाई बताए।
कति प्रगति भयो, अब के हुन्छ?
सन् २०१६ मा जापान सरकारसँग १६.८ अर्ब रुपैयाँ ऋण लिएर नेपाल सरकारले अघि बढाएको यो परियोजना अन्तर्गत सुरुङ निर्माणसहितका काममा ११ अर्ब रुपियाँ जति खर्च भइसकेको अधिकारीहरू बताउँछन्।
नागढुङा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले वैशाख ३ गते सुरुङ छिचोल्ने लक्ष्य राखिएको बताए।
उनले भने, “ब्रेक थ्रु गर्नलाई अब २ मिटर मात्रै बाँकी रहेको छ। हामीले अन्तिम चरणका कामहरू गरिरहेका छौँ। त्यसबेलासम्म सुरुङ आरपार खन्ने काम भइसक्छ।”
कुल लागत २२ अर्ब रुपैयाँ रहेको यो परियोजना अन्तर्गत ६ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको अधिकारीहरू बताउँछन्।
त्रिभुवन राजपथअन्तर्गत धादिङको सिस्ने खोलाबाट सुरु भएर काठमाण्डूको चन्द्रागिरीस्थित किसिपिडिमा निर्माण भइरहेको उक्त सुरुङ मार्गको सन् २०२४ को एप्रिलमा निर्माण कार्य सम्पन्न गर्ने संशोधित लक्ष्य तय भएको थियो।
तर नागढुङा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले मूल सुरुङ छिचोल्ने काम सम्पन्न भएपछि पनि बाँकी कामहरू सम्पन्न भइसक्न एकदेखि डेढ वर्षसम्म लाग्ने बताए।
उनले भने, “ब्रेक थ्रु भइसकेपछि हामीले सडक ढलान गर्ने काम गर्छौँ। सुरुङभित्र ढलान गर्ने काम हुन्छ जसलाई हामी टनल लाइनिङ भन्ने गर्छौँ। सुरक्षा उपकरण, भेन्टिलेसन र बत्तीहरू जडान गर्ने काम बाँकी रहन्छ।”
मूल सुरुङबाहेक सो सुरुङमार्गमा आपत्कालीन उद्धारमा प्रयोग हुने २५ सय ५७ मिटर लामो सहायक सुरुङ पनि रहनेछ। त्यसलाई खन्ने काम गएको वर्ष नै सम्पन्न भएको अधिकारीहरूले बताएका छन्।
यही मार्च महिनाको ६ तारिखमा २,६८८ मिटर लामो मूल सुरुङ खन्ने काम सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि स्थानीय बासिन्दाले महिना दिनसम्म गरेको आन्दोलनका कारण त्यो काम ढिलो भएको हो।
४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी सन् २०१९ मा ठेक्का लगाइएको उक्त परियोजनाको निर्माण सम्पन्न हुने मिति दुई पटक थप भइसकेको छ।
पछिल्लो पटकको अवरोधले के असर पार्यो?
आन्दोलनरत पक्षले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माण आयोजनाद्वारा असर परेको क्षेत्रलाई प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने, पर्याप्त खानेपानीको व्यवस्था गर्नुपर्ने, खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्नुपर्ने जस्ता माग राखेका छन्।
त्यसबाहेक चर्केका घरहरूको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, सुरुङमाथिको जमिनको उचित सम्बोधन गर्नुपर्ने र रोजगारी दिनुपर्ने जस्ता माग पनि उनीहरूको छ।
उपनिर्देशक दुमरुले आयोजनाले सम्बोधन गर्नसक्ने माग आफूहरूले पूरा गरिरहेको भन्दै सिंचाईको बन्दोबस्त जस्ता आयोजनाले पूरा गर्न नसक्ने मागहरू सम्बोधन गर्न आफूहरूले सरकारलाई सिफारिस गरेको बताए।
फागुनको पहिलो साताबाट सुरु भएको विरोध कार्यक्रमका कारण परियोजनाको काम रोकिएपछि जापानी ठेकेदार कम्पनी हजमा एन्डो कर्पोरेशनलाई दैनिक १ करोड रुपियाँसम्म क्षतिपूर्ति तिर्नुपर्ने परिस्थिति बनेको चेतावनी यसअघि अधिकारीले दिएका थिए।
परियोजनाका उपनिर्देशक दुमरुले काम अवरुद्ध भएको समयको क्षतिपूर्ति ठेकेदारले माग गरेको बताए।
उनी भन्छन्, “उनीहरूले हाम्रो काम बन्द भयो। हाम्रो लागत र समयको क्षतिपूर्ति चाहिन्छ भनेर लेखेका छन्। अहिले मात्र होइन, पहिला पनि काम रोकिएको समयमा उनीहरूले यस्तो गर्ने गर्थे।”
उक्त सुरुङ मार्ग कस्तो हुनेछ?
२.६८८ किलोमिटर लम्बाइ भएको उक्त सुरुङमार्गमा ३.५ मिटर चौडाइका दुईवटा लेन रहने र दुवैतर्फ पानी बग्ने नालीहरू रहने जनाइएको छ।
त्यहाँ पुल, कल्भर्ट र अन्य संरचना १२ वटा हुने अनि दुवैतर्फ टोल स्थापना गरिने भनिएको छ।
चौबीसै घण्टा भेन्टिलेसन रहने भनिएको उक्त सुरुङमार्गमा आपत्कालीन उद्धार प्रणाली पनि स्थापना गरिनेछ।
उक्त सुरुङको जुनसुकै स्थानमा कुनै घटना भएको खण्डमा बढीमा ७ मिनेटभित्र त्यहाँ पुग्ने गरी व्यवस्थापन गरिने सडक विभागको प्रगति विवरणमा उल्लेख छ।
सन् २०१३ मा सडक विभागले नागढुङ्गा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरेको थियो।
उक्त पूर्वाधार अन्तर्गत निर्माण गरिने भनिएका ३ अन्डरपास, ४ बक्स कल्भर्ट, १ ओभरपास र तीनवटा पुलको निर्माण सम्पन्न भएको सो परियोजनाले जनाएको छ।
त्यसमा निर्माण गरिने फ्लाइओभरका लागि आवश्यक जमिनमध्ये ९५ प्रतिशतलाई मुआब्जा दिइएको र त्यसको जग हालिसकिएको अधिकारीहरू बताउँछन्।
उक्त सुरुङ मार्ग अन्तर्गत जमिनमुनि र माथि चौबिसै घण्टा विद्युत् आपूर्ति हुने प्रणाली स्थापना गर्ने र कुनै पनि आपत्कालीन परिस्थितिमा तत्कालै उद्धार टोलीहरू खटाउने व्यवस्था गरिने अधिकारीहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।