बालेन टाइम पत्रिकाको '१०० नेक्स्ट' सूचीमा, नेपालमा सार्वजनिक प्रतिक्रिया कस्तो?

तस्बिर स्रोत, KMC
काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कतिपय कदम र अभिव्यक्तिबारे उनीमाथि प्रश्न उठिरहेकै बेला एक प्रसिद्ध अमेरिकी पत्रिका टाइमले उनलाई यस वर्षका एक सय उदीयमान व्यक्ति 'टाइम १०० नेक्स्ट' को सूचीमा राखेको छ।
टाइमले प्रत्येक वर्ष विश्वभरिबाट राजनीति सहित स्वास्थ्य, वातावरण, खेल, व्यवसायजस्ता विभिन्न विधाका उदीयमान व्यक्तिहरू छानेर त्यस्तो सूचीमा राख्ने गरेको जनाएको छ। जसमा उनीहरूको कामको चर्चासहित विवरण प्रस्तुत गरिन्छ।
त्यस्तो सूचीमा काठमाण्डूका युवा मेयरको नाम सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले यसबारे विभिन्न चर्चा परिचर्चा गरिरहेका छन्।
धेरैजसोले उनलाई बधाई दिएको देखिएको छ भने कतिपयले मेयरका केही कदम र अभिव्यक्तिबारे प्रश्न उठाइरहेका छन्।
टाइमले बालेनबारे के लेखेको छ?

तस्बिर स्रोत, COURTESY: KMC
शाहलाई टाइमले ‘२०२३ टइम१०० नेक्स्ट’ सूचीमा समावेश गर्दै उनले गत स्थानीय तहको निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरेको छ।
स्वतन्त्र उम्मेदवारी दिएका ३३ वर्षका शाहले 'सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशाको अवसर छोप्दै ‘बालेन प्रभाव’ सिर्जना गरेको' टाइमले उल्लेख गरेको छ।
जसले गर्दा देशभर ३८५ जना स्वतन्त्र उम्मेदवारले स्थापित राजनीतिज्ञहरूलाई हराउन सफल भएको पनि टाइमले उल्लेख गरेको छ।
यसअघि द न्यू योर्क टाइम्सले गत मे महिनामा बालेनबारे एउटा लामो सामग्री प्रकाशित गरेको थियो।
राजनीतिक विश्लेषक कसरी हेर्छन्?

तस्बिर स्रोत, FACEBOOK/BALEN
बालेन्द्र शाहलाई टाइमले १०० नेक्स्ट सूचीका निम्ति गरेको चयन उनको युवा उमेर र युवामाझ उनको चर्चा मुख्य रहेको हुनसक्ने राजनीतिक विश्लेषकहरूले बताएका छन्।
राजनीतिक विश्लेषक सीके लाल भन्छन्, “उनी एक स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन्, अर्को उनी सेलिब्रेटि हुन् र उनलाई जुन विधामा छानिएको छ त्यसमा उमेरले पनि साथ दिएको छ। यी कारण नै पर्याप्त छन्। यो उनको कामको प्रदर्शन वा योगदानका लागि त दिइएको होइन।”
भविष्यमा सम्भावित नेताका रूपमा बालेनलाई सूचीमा राखिएको विश्लेषक लालको धारण रहेको छ।
"नेपालमा कस्तो संसदीय व्यवस्था रहन्छ त्यसमा भर पर्छ। त्यसैले उनको सम्भावना कति रहन्छ भन्ने अहिले प्रक्षेपण गर्न सकिँदैन," लालले भने।
"झन् यो त स्थानीयमा थियो। प्रदेश वा सङ्घमा त झन् कठिन हुन्छ।"
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल टाइम पत्रिकाले वर्तमान अवस्थामा को सबैभन्दा बढी चर्चामा छ भन्ने कुरालाई आधार मानेर उनलाई चयन गरेको हुनसक्ने बताउँछन्।
"सामाजिक सञ्जाल हेर्ने हो भने (नेपालमा) अहिले बालेन शाह जति कोही पनि चर्चामा देखिँदैन। तर टाइमले मानिस चयन गर्दा कोसँग परामर्श गर्यो र केलाई आधार मान्यो भन्ने हो," खनालले भने।
"तर कामको प्रदर्शन नै हेर्दा उनको त्यति धेरै हाइहाइ गर्नुपर्ने त छैन। केही विद्यालयमा छात्रवृत्ति दिलाउने जस्तो केही काम गरेको भए पनि सहरको व्यवस्थापनको कुरामा, सरसफाइको कुरामा वा अन्य कुरामा यो त राम्रो गरे भन्ने ठाउँ चाहिँ छैन।"
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू बालेनबारे के भन्दैछन् ?
टाइमको १०० नेक्स्ट सूचीमा पर्नुलाई ठूलो उपलब्धि भन्दै धेरै प्रयोगकर्ताहरूले बालेनलाई बधाई दिइरहेका छन्।
टाइमले सार्वजनिक गरेको विश्वका १०० उदीयमान नेताको सूचीमा मेयर बालेन समावेश हुँदा तपाईँलाई कस्तो लाग्यो भन्ने बीबीसीले सामाजिक सञ्जालमा सोधेको प्रश्नमा प्रतिक्रिया जनाउँदै एक्स (ट्विटर) प्रयोगकर्ता बीजेन्द्र गौतमले खुसी लागेको तर यसले बालेनलाई अझै मिहिनेत गरेर काम गर्न प्रेरित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
अर्का प्रयोगकर्ता सुवास सिंहले फेसबुकमा धारणा राख्दै लेखेका छन्, “उनी सही दिशामा छन् र आफ्ना गल्तीहरूबाट सिक्नुपर्छ। त्यसपछि उनी अझ व्यवहारिक बन्न सक्छन्। शुभकामना।”
तर सामाजिक सञ्जालमै उपेन्द्र सापकोटाले भने टाइमले बालेनलाई चयन गरेको प्रति प्रश्न उठाएका छन्।
उनले एक्समा लेखेका छन्, “के (टाइम)ले साँच्चै जाँच गरेर यस्तो गरेको हो? मेयरले बारम्बार अनौपचारिक रूपमा बनेका संरचनामाथि डोजर लगाउने प्रयास गरेका छन्, र टाइमले भनिरहेको छ कि उनले गरिबलाई सहायता गरिरहेका छन्? तथ्य सही राख।”
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
विवादित अभिव्यक्ति

तस्बिर स्रोत, ANUP MAGAR
बालेन मेयर पदमा आएदेखि विभिन्न प्रशंसाका साथै कहिले कुनै कदमका कारण त कहिले सामाजिक सञ्जालमा लेख्ने सन्देश र प्रतिक्रियाका कारण विवादित बन्दै आएका छन्।
पछिल्लो पटक 'महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने' चेतावनी दिएपछि उनको अभिव्यक्तिलाई लिएर निकै आलोचना भएको थियो।
केही समय अघि उनले 'कानुन र अदालतलाई मान्ने वाला छैन' भन्ने अभिव्यक्ति दिएपछि पनि उनको त्यसै गरी आलोचना भएको थियो।
त्यस्तै महानगर क्षेत्रभित्र ठेलागाडा, साइकल तथा फुटपाथमा व्यापार गर्नेहरूलाई व्यवस्थित गर्ने नाममा काठमाण्डू महानगरपालिका र नगर प्रहरीले “अमानवीय व्यवहार गरेको” भन्दै केही व्यक्तिहरूले विरोध प्रदर्शन गरेका थिए।
'गरी खाने समूह' लाई व्यवस्थित नगरी उनीहरूको रोजीरोटी खोसेको भन्दै बालेनको बेलाबेला आलोचना हुने गर्छ।
कतिपयले भने उनले शिक्षण संस्थामा छात्रवृत्ति दिने व्यवस्था गराएको, महानगरभित्र सरसफाइमा ध्यान दिएको, सडकपेटी पैदलयात्रीमैत्री बनाएको लगायतका विषयमा उनको कामको चर्चा गर्ने गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








