गर्धन भाँचिएका बिरामीलाई 'विद्युतीय पल्स'ले कसरी हात चलाउन सक्ने बनाइदिन्छ

मेलनी रीड

तस्बिर स्रोत, BBC News/Tony Jolliffe

तस्बिरको क्याप्शन, मेलनी रीड अहिले हात अलिअलि चलाउन सक्छिन्
    • Author, पल्लब घोष
    • Role, विज्ञान संवाददाता, ग्लास्गो

चौध वर्षअघि घोडा चढ्दा लडेर गर्धन भाँचिएपछि मेलनी रीडको बायाँ हात “केराको काइँयो जसरी" फर्किएको थियो।

'इलेक्ट्रिकल पल्स' प्रयोग गरिने एउटा नयाँ उपचारविधिको सहयोगमा अहिले उनी आफ्नो स्मार्टफोन चलाउन र गाडीमा बस्दा बाँधिने पेटी फुकाल्न सक्छिन्।

फिजिओथेरपीसँगै गरिने उक्त उपचारविधिले गर्धन भाँचिएर पक्षाघात भएका बिरामीमा केही सुधार ल्याउन सक्ने ठानिएको छ।

यो विधि प्रयोग गरेर ६० जनामा गरिएको अध्ययनका क्रममा ४३ जनामा उनीहरूको हात र पाखुराको प्रयोगमा सुधार आएको देखिएको थियो।

अनुसन्धानकर्ताहरूको टोली अमेरिकी अस्पतालमा बिरामीहरूको उपचारमा यो विधिलाई मान्यता दिलाउनका लागि नियामक निकायमा निवेदन दिने तयारीमा छ।

यो विधिमा समस्या भएको मेरुदण्डको भागमा 'इलेक्ट्रोड' राखिन्छ।

हाम्रो मस्तिष्कले स्नायुमार्फत् हाम्रो हात र पाखुरामा पठाउने सङ्केतलाई उच्च फ्रिक्वन्सीका विद्युतीय पल्सले अझै बलियो बनाइदिन्छन्।

मेलनीजस्ता बिरामीमा मेरुदण्डको चोटका कारण त्यस्तो सङ्केत प्रवाह प्रभावित भएका हुन्छ।

गर्धन भाँचिएको अवस्था

मेलनी 'टाइम्स अफ लन्डन'मा काम गर्ने पत्रकार हुन्। उनी अहिले ६७ वर्षकी भइन्। यो उपचारविधि प्रयोग गर्ने उनी प्रारम्भिक बिरामीमध्ये पर्छिन्। पक्षाघातका कारण उनी हात र पाखुरा चलाउन सक्दिनथिन्। विशेष गरी उनी आफ्नो बायाँ हात हलचल गर्नै नसक्ने अवस्थामा थिइन्।

उनले दुई महिनासम्म सघन फिजिओथेरापी र विद्युतीय पल्सबाट उपचार गराइन्। उनमा सानो तर दीर्घकालीन सुधार आयो। त्यसबाट आफ्नो दैनिक जीवनमा ठूलो परिवर्तन आएको उनी बताउँछिन्।

“म देब्रे हातको बूढीऔँलाको सहयोगमा सीटबेल्ट खोल्न सक्छु। अहिले यो हातले ढुक्कसँग कफी उचाल्न पनि सक्छु। म अहिले साना कुराहरू टिप्न र तातोपानीले चामल पखाल्न पनि यो हात प्रयोग गर्न सक्छु,” उनले भनिन्।

मेरुदण्डमा चोट लागेको लामो समय नभएका बिरामीहरूमा यस्तो सुधार आएको देखिएको छ।

अध्ययनमा सहभागी बिरामीको दुर्घटना भएको एक वर्षदेखि ३४ वर्ष भएको थियो अ‍नि उनीहरूमा प्रारम्भिक अवस्थामा बाहेक थप कुनै सुधार भएको देखिएको थिएन।

ग्लास्गोस्थित क्वीन एलिजाबेथ यूनिभर्सिटी अस्पतालको स्कटिश सेन्टर फर इनोभेशन इन स्पाइनल कर्ड इन्क्वाइअरीकी निर्देशक मेरिएल पर्सलका अनुसार मेलनीले १४ वर्षअघि चोट लागेदेखि नै उपचार गराइरहेकी छन्।

पक्षघात भएका मानिस

तस्बिर स्रोत, BBC News

तस्बिरको क्याप्शन, यसअघि पनि कम्मरमा चोट लागेर पक्षाघात भएका मानिसहरूलाई हिँडडुलका लागि सहयोग गर्न विद्युतीय पल्स प्रयोग हुँदै आएको थियो

कसरी भयो अध्ययन

यो मामिलामा विश्वकै अग्रणी अनुसन्धान केन्द्र भएका कारण उनको टोलीलाई पनि यो अध्ययनमा संलग्न हुन निम्त्याइएको थियो।

उनले यति लामो समय अघि लागेको चोटमा यस्तो किसिमको सुधार आएको कहिल्यै नदेखेको बताइन्।

“बिरामीहरूका लागि लाभदायी हुने क्लिनिकल रूपमा प्रमाणित भएको कुनै पनि औषधि वा उपकरण अहिले उपलब्ध छैन,” उनले भनिन्।

अध्ययनका क्रममा यो उपकरण अन गर्दा अधिकांश बिरामी अझै धेरै गतिविधि गर्न सक्षम भएका थिए। तर बिरामीहरूले यो नलगाउँदा यसले दिने सुधार कति लामो समय टिक्छ स्पष्ट हुन बाँकी छ। अनि विद्युतीय पल्सका कारण कति र फिजिओथेरपीका कारण कति सुधार भएको हो भन्ने पनि निर्क्योल भइसकेको छैन।

“बिरामीहरूलाई अध्ययनका लागि राखेर महिनौँसम्म उनीहरूमाथि ध्यान दिँदा पक्कै पनि त्यसले केही हदसम्म सुधार हुन्छ,” लन्डनस्थित यूनिभर्सिटी कलेजका शल्यचिकित्सक तथा प्राध्यापक रोबर्ट ब्राउनस्टोन भन्छन्। उनी यो अध्ययनमा संलग्न थिएनन्।

उनका अनुसार फिजिओथेरपीका अतिरिक्त उपचारमा सहभागी हुन पाउने आशा र सहयोगले पनि केही फरक पार्न सक्छ।

मेलनीका अनुसार विद्युतीय पल्स प्रवाह गर्दा मात्र उनले केही काम गर्न सक्थिन्। उनी अनुहार पुछ्ने रुमाल निचोर्न सक्थिन् र सामान उचाल्न सक्थिन्। तर यो उपचारका कारण आफ्नो सामर्थ्यमा दीर्घकालीन सुधार आएको महसुस उनले गरेकी छन्।

"सबै सुधार विद्युतीय उत्तेजनाका कारण मात्रै भएको म ठान्दिनँ। तर त्यसले सुधारको गति बढाए जस्तो मलाई लाग्छ," उनले भनिन्।

"यदि यो उपकरणले पक्षाघात भएका बिरामीलाई आफ्नो पाखुरा उचालेर मुखमा खाना पुर्‍याउन वा पिउन सक्ने बनाउँछ भने मेरुदण्डको चोटमा त्योभन्दा ठूलो अरू कुनै पनि चमत्कार हुन सक्दैन।"

कस्तो उपकरण

यो उपकरण प्राध्यापक ग्रेग्वार कोर्टाइनको सहसंयोजनमा स्विस टोलीले बनाएको हो।

अहिलेसम्म यसले गर्धनभन्दा तल्लो भागको मेरुदण्डमा चोट लागेका २६ जनालाई शल्यक्रियाबाट शरीरमा प्रत्यारोपण गरिएको उपकरणको सहायतामा पुनः हिँड्न सक्ने बनाउन सघाएको छ। तर अहिलेसम्म यसको प्रयोग प्रयोगशालामा गरिएका परीक्षणमा मात्र सीमित छ।

नयाँ पद्धतिमा भने यो टोलीले शल्यक्रिया नै आवश्यक नहुने प्रविधिमा जोड दिएको छ। त्यसले गर्धन भाँचिएका मानिसहरूले हात हलचल गर्न सक्ने ठानिएको छ।

स्नायुप्रणालीमा विद्युतीय उत्तेजना उत्पन्न गराउँदै फिजिओथेरापी गर्दा क्षति पुगेका स्नायुहरूमा केही हदसम्म उपचार भएको सन्दर्भमा प्राध्यापक कोर्टाइनले शोधलेख प्रकाशित गरेका छन्।

“यस्ता बिरामीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने प्रविधिको विकासमा हामी धेरै नजिक पुगिसकेका छौँ,” उनले बीबीसी न्यूजसँग भने।

अमेरिकाको फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशनले 'नेचर मेडिसिन' जर्नलमा प्रकाशित क्लिनिकल अध्ययनको तथ्याङ्कका आधारमा उक्त प्रविधि सुरक्षित र महत्त्वपूर्ण रहे वा नरहेकोबारे अध्ययन भइरहेको जनाएको छ।

त्यसप्रति विश्वस्त भएमा पक्षाघात भएका मानिसहरूलाई अमेरिकी अस्पतालहरूलाई यो प्रविधिको प्रयोग गरेर बिरामीको उपचार गर्ने व्यावसायिक अनुमति एफडीएले दिन सक्छ।

यदि यो उपकरणले अमेरिकामा मान्यता पाएको अवस्थामा यसको विकासमा संलग्न टोलीले विश्वका अन्य ठाउँहरूमा पनि यसको प्रयोगका लागि प्रक्रिया थाल्ने छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।