तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीन र भारतद्वारा 'प्रतिद्वन्द्वी नभई साझेदार बन्ने' उद्घोष
- Author, बेइजिङबाट लोरा बिकर र तिआन्जिनबाट स्टीभन मक्डोनेल
चिनियाँ र भारतीय नेताहरूले सीमासहितका मुद्दामा वर्षौँदेखिको तनावपछि दुई देशबीच अहिले विश्वास बढ्दै गएको बताएका छन्।
चिनियाँ बन्दरगाह शहर तिआन्जिनमा साङ्घाई कोअपरेसन अर्गनाइजेशन (एससीओ) को शिखर बैठकको 'साइडलाइन'मा चिनियाँ राष्ट्रपति सी जिन्पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको हो।
सीले चीन र भारत प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्ने मोदीसँग भने। मोदीले चाहिँ अहिले दुई देशबीच "शान्ति र स्थिरताको वातावरण" भएको उल्लेख गरे।
एउटा क्षेत्रीय सुरक्षा शिखर बैठकका लागि चीन पुगेका २० जना विश्वनेताहरूमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री मोदी पनि छन्।
एससीओको वार्षिक बैठकअघि मोदीले चिनियाँ राष्ट्रपति सीसँग वार्ता गरेका छन्।
विगत सात वर्षयता मोदी चीन भ्रमणमा पुगेको यो पहिलो पटक हो। चीनका एक निकट साझेदार पुटिन आइतवार तिआन्जिन पुगेका छन्।
दिल्लीले रुसबाट तेल खरिद जारी राखेकोमा दण्ड स्वरूप अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय सामानहरूमा चर्को ट्यारिफ लगाएको र युक्रेन युद्धलाई लिएर पुटिनले प्रतिबन्धहरूबारे चेतावनी झेलिरहेका बेला शिखर बैठक हुन लागेको हो।
भारतीय सामानहरूमा अमेरिकाले लगाएको ५० प्रतिशत आयात शुल्क यसै साताबाट कार्यान्वयनमा आइसकेको छ।
बेइजिङको समर्थन प्राप्त एससीओमा पाकिस्तान, इरानसहित १० वटा सदस्य राष्ट्र छन् भने १६ देश संवाद साझेदार तथा पर्यवेक्षकका रूपमा रहेका छन्।
ठूलो जमघट
यो शिखर बैठक आफैँमा धेरै हदसम्म प्रतीकात्मक छ, तर त्यसमा नेताहरूले साझा गुनासा एवं हितबारे कुरा गर्न पाउने छन्। यो वर्षको शिखर बैठकमा अमेरिकासँगको व्यापार युद्धको विषय हावी हुने छ।
उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो जस्ता पश्चिमा गठबन्धनहरूको प्रभावलाई सीमित पार्ने कदम स्वरूप सन् २००१ मा चीन, रुस र मध्ये एशियाका चार देशहरूले एससीओ गठन गरेका हुन्।
यो वर्षको शिखर बैठक उक्त सङ्गठन निर्माण भएयताकै सबैभन्दा ठूलो रहेको छ।
शिखर सम्मेलनका निम्ति उत्तरी बन्दरगाह शहर तिआन्जिन ब्यानर लगायतका सामग्रीले सज्जिएको छ।
शिखर बैठकका लागि विश्वनेताहरू भेला भइरहँदा नदी किनार क्षेत्रस्थित टावर ब्लकहरूमा प्रदर्शित 'लाइट शो' हेर्नका लागि रातिको समयमा हजारौँ स्थानीय बासिन्दाहरूको भिड लाग्ने गरेको छ।
ऐतिहासिक जिफाङ पुलमा र त्यसको आसपास भइरहेका भिडले मानिसहरूलाई हलचल गर्न पनि मुस्किल हुने गरेको छ।
दिनको समयमा विश्व नेताहरूका मोटरकेडहरूको सहज आवागमनका निम्ति व्यवस्था मिलाइँदा पैदलयात्रीहरूले प्रतीक्षा पनि गर्नुपरेको छ।
शहरको मुख्य क्षेत्रमा ट्याक्सी तथा भाडाका अरू कारहरू सञ्चालनमा रोक लगाइएको छ, तर त्यसले उक्त ऐतिहासिक बैठक हेर्न चाहने मानिसहरूको उत्साहमा कमी देखिएको छैन।
यद्यपि प्रहरीले तिआन्जिनका एक करोड ३० लाखभन्दा बढी बासिन्दालाई सम्भव भएसम्म बिहानको ट्राफिकमा नपर्न र सकेसम्म नजिककै पसलहरूबाट अत्यावश्क सामानहरू खरिद गर्न आग्रह गरेको छ।
द्वितीय विश्वयुद्ध अन्त्य भएको ८० वर्ष पुगेको अवसरमा विशाल सैनिक परेड हुनुभन्दा केही दिनअगाडि शिखर बैठक हुन लागेको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।