टी२० शृङ्खलामा नेपालको दोस्रो पराजय, वेस्ट इन्डिज ‘ए’को अग्रता

नेपाल क्रिकेट

तस्बिर स्रोत, CAN

काठमाण्डूमा जारी नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको द्विपक्षीय टी२० शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित भएको छ।

बुधवार दिउँसो टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रनको विशाल स्कोर खडा गर्‍यो। त्यसलाई पछ्याउने क्रममा नेपाली टोलीले १५१ रन मात्र बनाएको थियो।

पाँच खेलको यस शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भए पनि दोस्रो खेलमा पराजित भएको थियो।

बुधवारको खेलमा टोलीका कप्तान रोहित पौडेललाई विश्राम दिइएको थियो भने दीपेन्द्र सिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको थियो।

नेपालले नियमित बलर सोमपाल कामी र ‘डेथ ओभर’ का प्रमुख बलर अविनाश बोहरालाई विश्राम दिएको थियो।

आक्रामक वेस्ट इन्डिज 'ए'

नेपाल क्रिकेट

तस्बिर स्रोत, CAN

टस जितेको वेस्ट इन्डिज 'ए' का ब्याटरहरू खेलमा सुरुवातबाटै नेपालमाथि हाबी भएका थिए।

पहिलो विकेटका रूपमा १७ रन जोडेका ओपनर अलिक अथान्जेलाई ३ दशमलब १ ओभरमा कमलसिंह ऐरीले स्टम्पिङबाट आउट गरे।

तर अर्का ओपनर जोनसन चार्ल्स र अथान्जेको स्थानमा क्रिजमा आएका आन्द्रे फ्लेचरले विस्फोटक ब्याटिङ गरेपछि पाहुना टोलीले विशाल योगफल बनाएको थियो।

प्रारम्भिक ब्याटर जोनसन चार्ल्सले ५५ बलमा १०० रन बनाएका थिए। अविजित ११९ रन जोडेका चार्ल्सले ७ वटा छक्का र १३ वटा चौका प्रहार गरे।

फ्लेचर ५३ रन जोडेर आउट भए। उनलाई सोह्रौँ ओभरमा सागर ढकालले ऐरिमार्फत् क्याच गराए।

त्यसपछि ब्याटिङका लागि आएका फेबिअन एलनलाई करन केसीले १९ ओभरको आफ्नो दोस्रो बलमा ऐरीमार्फत् क्याच गराएका थिए।

क्रिकेट

तस्बिर स्रोत, CAN

नेपालले प्रयोग गरेका ६ बलरहरूमध्ये गुल्सन झाबाहेक अरू महँगो साबित भए।

चार ओभर बलिङ गरेका झाको प्रति ओभर औसत ६ रन रह्यो भने अरूको औसत १० रनभन्दा माथि रहेको थियो।

नेपालको ब्याटिङ कस्तो रह्यो?

नेपाल क्रिकेट

तस्बिर स्रोत, CAN

वेस्ट इन्डिज 'ए' ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले सशक्त सुरुवात भने गर्न सकेन।

प्रारम्भिक ब्याटर विनोद भण्डारी १५ बल खेलेर १९ रन जोड्दा आउट भएका थिए। उनीपछि आएका अनिल साह १० बल खेलेर १४ रन बनाउँदा आउट बन्न पुगे।

आरिफ शेखले जम्मा ३ रन मात्र जोड्न सके।

त्यस्तै अर्का ओपनर लोकेश बमले २९ बल खेलेर २८ रन जोडे।

ब्याटिङ्को मध्यक्रम पनि धेरै टिकेन।

कुशल मल्लले ११ बलमा २० रन जोडेका थिए। विवेक यादव र गुल्शन झाले क्रमश: ३ र ६ रन मात्र बनाउन सके।

कप्तान दिपेन्द्रसिंह ऐरी ७ रनमा रन आउट भएका थिए भने कमलसिंह ऐरी ६ रनमा आउट भएका थिए।

अन्तिम विकेटसम्म साझेदारी गरेका करन केसीले लोकेश बमले जति नै २८ रन बनाउन सके।

वेस्ट इन्डिजका बलर हेडन वाल्सले ४ ओभरमा २८ रन खर्चिएर ३ विकेट लिएका थिए।

पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहित पौडेलले ११२ रन जोडेका थिए भने १ विकेट लिएका थिए। दोस्रो खेलमा उनले अविजित ७१ रन जोडेका थिए।

बुधवारको टोलीमा उनी नखेलाइनुको कारण खुलाइएको छैन।

अग्रता

क्रकेट नेपाल

तस्बिर स्रोत, CAN

यो खेलमा जितसँगै पाहुना टोलीले शृङ्खलामा अग्रता कायम गरेको छ। नेपाली क्रिकेट अधिकारीहरूले यो खेललाई आगामी जुनमा हुने टी २० विश्वकपको पूर्वतयारीका रूपमा हेरेका छन्।

विश्वकप खेल्ने टोली छनौट गर्न आइसीसीले मे १ सम्मको समय सीमा सहभागी हुने टोलीहरूलाई दिएको छ।

यसअघि जारी टी-२० क्रिकेट शृङ्खला अन्तर्गतका पहिलो दुई खेलमा नेपाल र वेस्ट इन्डिज ‘ए’ ले एक-एकवटा खेल जितेका थिए।

पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज 'ए'सँग १० रनले पराजित भएको थियो।

चौथो र अन्तिम खेल क्रमशः बिहीवार र शनिवार हुने छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।