टी२० शृङ्खलाको पहिलो खेलमा नेपालद्वारा वेस्ट इन्डिज 'ए' पराजित

नेपाल
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

कीर्तिपुर क्रिकेट मैदानमा शनिवारबाट सुरु भएको पाँच खेलको द्विपक्षीय टी-२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको छ।

नेपाल र वेस्ट इन्डिज दुवै देशका खेलाडीका लागि आगामी जुनमा हुने विश्वकप अगाडि छनोटमा पर्ने अन्तिम अवसरका रूपमा यस शृङ्खलालाई महत्त्वपूर्ण मानिएको छ।

त्यसैले दुवै टोलीका खेलाडीहरू बीचको भिडन्त हेर्न लायकको रह्यो। यस्तोमा निकै प्रतिस्पर्धात्मक पहिलो खेलमा नेपालले जित हासिल गरेको हो।

नेपाली टिम

तस्बिर स्रोत, CAN

नेपालले टस जितेसँगै सुरुमा ब्याटिङ पाएको वेस्ट इन्डिज 'ए' ले कीर्तिपुरमा जुटेका दर्शकका माझ आक्रामक ब्याटिङ गर्दै २० ओभरमा ५ खेलाडी गुमाउँदै २०५ रनको चुनौतीपूर्ण लक्ष्य पेस गरेको थियो।

जवाफी ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको सानदार ब्याटिङको मदतले दुई बल बाँकी छंदै लक्ष्य पूरा गर्‍यो।

दुई कप्तानको भीडन्त

शनिवारको खेल दुई देशका कप्तान बिचको भिडन्तजस्तो देखिएको थियो।

लामो समयपछि ब्याटिङमा लय देखाएका नेपाली कप्तान रोहितले कीर्तिपुर मैदानमा भरिभराउ दर्शक माझ आफ्नो शतक पूरा गरेका थिए।

केही समयको अन्तरालपछि मैदान छिर्ने मौका पाएका अनिल शाह ५ रनमा र कुशल भुर्तेल १६ रनमा आउट भएपछि नेपालको ब्याटिङ नजम्ने डर पैदा भइसकेको थियो।

तर तेस्रो नम्बरमा आएका कप्तान रोहितले प्रशंसनिय ब्याटिङ गर्दै टोलीलाई दबाब मुक्त मात्र बनाएनन्, जितको आधार नै खडा गरिदिए। उनले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाए।

उनलाई राम्रो साथ दिएका दीपेन्द्र सिंह ऐरीले २४ रन बनाएका थिए।

दुवै पक्षको आक्रामक खेल

वेस्ट इन्डिज

तस्बिर स्रोत, CAN

कमल सिंहले पहिलो ओभरमा नै वेस्ट इन्डिजका प्रारम्भिक ब्याटर जोन्सन चार्ल्स बोल्ड गरिदिए।

त्यस्तै चौथो ओभरमा आन्द्रे फ्लेचर १३ रनमा रन आउट भएपछि नेपाली बलिङ हाबी भएको ठानिएको थियो।

तर पनि एसोसियट राष्ट्र नेपालमा आएर पहिलो पटक खेलेका वेस्ट इन्डिज 'ए' का खेलाडीहरू भने दबाबमा परेको देखिएन। बरु स्कोर बोर्डमा आक्रामक रूपमा रन जोड्ने काम जारी नै राखे।

आक्रामक रूप देखाउने काम कप्तान वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले गरे। उनी अन्तिम ओभरसम्म क्रिजमा डटेका थिए। सो क्रममा उनले ४६ बल खेलेर ७४ रनको पारी खेले। जुन क्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे।

रोस्टनले केसी कार्टीसँग चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।

अलिक अथान्जेले २५ बल खेलेर ४७ रन बनाए।

कमल सिंहले पहिलो ओभरमा नै वेस्ट इन्डिजका प्रारम्भिक ब्याटरलाई आउट गरे

बलिङमा निकै मिहिनेत गरेको देखिए तापनि नेपाली बलरहरूले उनीहरूको रन गति भने रोक्न सकेनन्।

नेपाली टोलीमा आज चार जना नयाँ खेलाडीहरूलाई मौका पाएका थिए।

प्रशिक्षक मोन्टी देशाईले टोलीमा नियमित स्थान बनाइरहेका आशिफ शेख, करण केसी, सोमपाल कामी र सन्दीप जोरालाई बेन्चमा राख्दै कमल सिंह ऐरी, अनिल शाह, विवेक यादव र प्रतिश जिसीलाई टोलीमा समावेश गराएका थिए।

अन्य नेपाली खेलाडीहरू अविनाश बोहरा, रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।