दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज 'ए' सँग पराजित

नेपाली क्रिकेट टिम

तस्बिर स्रोत, CAN

कीर्तिपुर क्रिकेट मैदानमा जारी पाँच खेलको द्विपक्षीय टी-२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज 'ए'सँग १० रनले पराजित भएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले नेपाली समर्थकले भरिभराउ कीर्तिपुरमा आक्रामक ब्याटिङ गर्दै २० ओभरमा ७ खेलाडी गुमाउँदै १६१ रनको लक्ष्य पेस गरेको थियो।

उक्त मध्यम लक्ष्य पछ्याउने क्रममा नेपालका ब्याटरहरूको प्रदर्शन फितलो देखिएको थियो। नेपाल पूरै ओभर खेलेर ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सफल भयो।

अन्तिम ओभरमा नेपाललाई १७ रन आवश्यक थियो। तर पाँच रन मात्रै जोड्न सफल भएको नेपालले लक्ष्य पूरा गर्न सकेन।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक अविजित ७१ रन जोडे। उनले ४८ बल खेल्दै २ छक्का र ६ चौका प्रहार गरेका थिए।

नेपाल र वेस्ट इन्डिज दुवै देशका खेलाडीका लागि आगामी जुनमा हुने विश्वकप अगाडि छनोटमा पर्ने अन्तिम अवसरका रूपमा यस शृङ्खलालाई महत्त्वपूर्ण मानिएको छ।

ओपनर ब्याटर लोकेश बमले आक्रामक ब्याटिङकैबीच घाइते भए। चौथो ओभरको पहिलो बल प्रहार गर्ने प्रयास गर्दा उनी घाइते भएपछि क्रिजबाट बाहिरिए।

पाँचौँ ओभरमा पुन: क्रिजमा फर्किएका उनी छैटौँ ओभरमा बोल्ड आउट भए। लोकेशले १६ बलमा दुई छक्का र एक चौका सहित १७ रन जोडेका थिए।

नेपाली क्रिकेट टिम

तस्बिर स्रोत, CAN

अर्का ओपनर कुशल भुर्तेलको प्रदर्शन आइतवार पनि जम्न सकेन। आठ बल खेलेर दुई रन बनाएका उनी क्याच आउट भए।

लोकेश घाइते भएपछि क्रिजमा आएका अनिल साह समेत पाँच बल खेलेर एक जोडेपछि छैटौँ ओभरमा क्याच आउट भएका थिए।

छैटौँ ओभरको अन्तिम दुई बलमा नेपालले लोकेश र कुशल मल्लको विकेट गुमायो। पहिलो बल सामना गरेर दौडने प्रयास गरेका मल्ल रन आउट भए।

मल्लपछि क्रिजमा आएका गुलशन झाले नेपालका लागि आक्रामक ब्याटिङ गर्दै २६ रन जोडे। उनले २ छक्का र ३ चौका सहित ११ बल खेलेर २६ रन जोड्दै कप्तान रोहित पौडेलसँग केही समय साझेदारी गरे।

झापछि क्रिजमा आएका आरिफ शेखले १६ बल खेल्दै १२ रन जोडेपछि क्याच आउट भएका थिए।

पाँचौँ विकेटको पतनपछि क्रिजमा आएका दिपेन्द्र सिंह ऐरी पनि धेरैबेर टिक्न सकेनन्।

पाँच बलमा तीन रन जोडेका ऐरी क्याच आउट हुन पुगेपछि सोमपाल कामी मैदान प्रवेश गरे। उनी पनि मैदानमा टिक्न सकेनन्।

सोह्रौँ ओभरमा क्रिजमा आएका कामी पाँच बलमा तीन रन जोड्दै अठारौँ ओभरमा रन आउट भए। आकाश चन्द सात रन जोडेर रन आउट भए।

नेपाली टोलीका चार खेलाडीले मात्र दोहोरो अङ्कमा रन जोड्न सके।

नेपालको बलिङ

वेस्ट इन्डिज

तस्बिर स्रोत, CAN

तेस्रो ओभर बलिङमा आएका सागर ढकालले वेस्ट इन्डिजका दुवै ओपनरहरूको विकेट लिएपछि पाहुना टोली खेलको सुरुबाटै दबावमा पर्‍यो।

ओपनरद्वय एलिक एथनेज ६ रनमा कुशल मल्लबाट क्याच भए भने जोन्सन चार्ल्स ११ रनमा बोल्ड भए। तेस्रो ओभरमा दुवै ओपनर गुमाउँदा वेस्ट इन्डिजले १८ रन जोडेको थियो।

त्यसपछि ब्याटिङमा आएका वेस्ट इन्डिजका क्याप्टेन रोस्टन चेजलाई १०औँ ओभरको अन्तिम बलमा कुशल भुर्तेलले बोल्ड गरे।

शनिवार टिमका लागि ७४ रन जोडेका कप्तान आइतवार २३ रनमा आउट भए। उनलाई साथ दिन आएका आन्द्रे फ्लेचरले टोलीका लागि सर्वाधिक धेरै रन जोडे।

कप्तान चेजपछि आएका केसी कार्टी १० बलमै कुशल भुर्तेलको बलमा नेपालका कप्तान रोहित पौडेलबाट क्याच भए।

त्यसपछि आएका लिमो पल पनि लामो समय क्रिजमा टिकेनन्। सत्रौँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका सोमपाल कामीले उनलाई बोल्ड गरे।

नेपाली क्रिकेट टोली

तस्बिर स्रोत, CAN

अठारौँ ओभरमा नेपालले वेस्ट इन्डिजको थप दुई विकेट लियो। दीपेन्द्र सिंह ऐरीको बलमा रन लिन दौडिएका छैटौँ क्रममा आएका ब्याटर हेडन बल्स रन आउट भए। कप्तान रोहित पौडेलले उनलाई डाइरेक्ट हिटमा रन आउट गरे।

अठारौँ ओभरको पाँचौँ बलमा ऐरीको बलमा आन्द्रे फ्लेचर लोकेस बमबाट क्याच आउट भए। उनले ३६ बलमा टोलीका लागि सर्वाधिक ४३ रन योगदान गरे।

वेस्ट इन्डिजका लागि गुडकेश मोटीले अविजित ३३ रन र म्याथ्यु फोर्डले ११ रन जोडे। मोटी र फोर्डको साझेदारीमा अन्तिम दुई ओभरमा वेस्ट इन्डिजले ४१ रन जोडेको थियो।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २-२ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।

असोसिएट राष्ट्र नेपालमा आएर पहिलो पटक खेलेका वेस्ट इन्डिज 'ए' का खेलाडीहरू भने दबाबमा परेको देखिएन।

सागर, लोकेश र आकाश टिममा

ऐरी र ढकाल

तस्बिर स्रोत, CAN

प्रशिक्षक मोन्टी देशाईले वेस्ट इन्डिजसँगको पहिलो खेलमा समावेश गरेका विवेक यादव, कमल सिंह ऐरी, प्रतिश जिसी र अविनास बोहरा र ललित राजवंशीलाई बेन्चमा राखेका थिए।

उनले बलर सागर ढकाल, ब्याटिङ अलाराउन्डर लोकेश बम र अलराउन्डर आकाश चन्दलाई टिममा समावेश गरे। यसअघि बेन्चमा राखिएका आरिफ शेख र सोमपाल कामीले आइतवारको खेलमा अवसर पाएका थिए।

यसअघि आइतवार प्रशिक्षक देशाईले टोलीमा नियमित स्थान बनाइरहेका आशिफ शेख, करण केसी, सोमपाल कामी र सन्दीप जोरालाई बेन्चमा राख्दै कमल सिंह ऐरी, अनिल शाह, विवेक यादव र प्रतिश जिसीलाई टोलीमा समावेश गराएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।