नेपाललाई हराउँदै त्रिकोणात्मक शृङ्खला नेदरल्यान्ड्सको पोल्टामा

तस्बिर स्रोत, CAN
कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न टी ट्वेन्टी त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेदरल्यान्ड्स विजयी भएको छ।
सुरुमा ब्याटिङ गर्दै नेपालले ८ विकेट गुमाएर १८५ रनको लक्ष्य दिएको थियो। तर नेदरल्यान्ड्सले १९.३ ओभरमा १८९ रन बनाउँदै जित हासिल गर्यो।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय विश्वकप लीग-२ को ४ महत्त्वपूर्ण खेलमध्ये ३ वटा उक्त मैदानमा गुमाएको थियो।
तर त्यसपछि टी -२० विश्वकपको तयारी स्वरूप खेलिएको त्रिकोणात्मक टी-२० श्रृङ्खलामा टोली फाइनलसम्म पुग्न सफल भयो।
आक्रामक नेदरल्यान्ड्स
आगामी जून महिनामा हुने टी २० विश्वकपमा नेदरल्यान्ड्सकै समूहमा रहेको नेपालका लागि यो हार विश्वकपमा जानु अगाडि ठूलो शिक्षा बन्न पुगेको छ।
टस जितेर ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १८४ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो।
ओपनर माइकल लेभिट र तथा म्याक्स ओडिडले पहिलो विकेटका लागि ८३ रनको आक्रामक पारी खेलेसँगै खेल नेपालको हातबाट बाहिर गएको आभास भएको थियो।
लेभिटले ५४ रन तथा ओडिडले २२ रन जोडे।
स्पिनर कुशल मल्लले नवौँ ओभरमा यी दुबैलाई आउट गरेपछि मैदानमा एकैछिन रोमाञ्च फैलिएको थियो। तर दर्शकको खुसी त्यतिमै सीमित भयो।
त्यसपछि आएका विक्रमजित सिंह र साइब्रान्ड इङगेलब्रेचले पुन: शानदार ब्याटिङ गर्दै टोलीलाई जिततिर दोहोर्याएका थिए।
बलिङमा आएका डेथ ओभर विशेषज्ञ अविनाश बोहरामाथि इङगेलब्रेचले रनको वर्षा गरेका थिए।
उनले बोहराको पहिलो दुई बलमा चौका र त्यसपछिको दुई बलमा २ छक्का हानेपछि खेल नेपालको हातबाट टाढा गएको जस्तो देखियो।
बाँकी २ ओभरमा जितका लागि १९ रन चाहिएको थियो।
१९ औँ ओभरको पहिलो बलमा कुशल मल्लले ४८ रन बनाएका इङगेलब्रेच लाई आउट गरे।
तर दोस्रो बलमा उनले छक्का खान पुगे। तेस्रो बलमा १ रन बन्यो।
चौथो बलमा उनले निदानमानुरुलाई आउट गरे। पाँचौँ बलमा १ रन तर छैटौँ बलमा चौका खाए।
उक्त ओभरमा कुशलले २ विकेट लिए तर १२ रन दिए।
नेदरल्यान्ड्सलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिएको थियो भने नेपालले त्यो रोक्नु थियो।
बलिङको जिम्मा अनुभवी करण केसीलाई दिइयो।
उनले पहिलो बलमा १ रन मात्र दिए। तर दोस्रो बलमा चौका र तेस्रो बलमा छक्का खाएपछि नेपाल ४ विकेटले पराजित भयो।
नेपालको ब्याटिङ कस्तो

तस्बिर स्रोत, CAN
नेपाली खेलाडीहरूको ब्याटिङ शैली ठिकठाक देखिएको थियो।
शुरुआती खेलाडीहरूले स्कोर बोर्डमा गतिलो रन बनाएका थिए। तर खेलको अन्तिमतिर डेढ ओभरमा खेलाडीहरूले सोचे जस्तो रन बनाउन सकेनन्। जसले गर्दा अनुमान गरिए जस्तै नेपालको रन २०० पुग्न सकेन।
नेपालबाट सबैभन्दा बढी ओपनर आसिफ शेखले ४७ रन बनाएका थिए। १४ औँ ओभरमा माइकल लेभिटको बलमा एलबीडब्लू हुनु अगाडि उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए।
अर्का ओपनर कुशल भुर्तेलले २० जोडेर आउट भएका थिए। यी दुईबीच पहिलो विकेटमा २३ रनको साझेदारी बन्दा चौथो ओभरमा कुशल भान डेर गुगटेनबाट बोल्ड हुन पुगेका थिए।
लगातार दुई पटक स्कुप शट खेल्दा उनी बोल्ड भएका हुन्।
आशिफले भने तेस्रो ओभरमा २ रनमात्र बनाएर खेलिरहँदा जीवनदान पाएका थिए।
तेस्रो नम्बरमा आएका कप्तान रोहित पौडेलले १९ बलमा २५ रन बनाएर पवेलियन फर्किए। लगत्तै स्कोर बोर्डमा ३ रन थपेर दीपेन्द्रसिंह ऐरी पनि आउट भए।
१ रनमात्र जोड्न सकेका दीपेन्द्र एलबीडब्लूको धरापमा फसेका थिए।
१५ ओभरको खेल चलिरहेको यति बेला नेपाल १२८-४ को स्थितिमा थियो।
कुशलको ३ छक्का

तस्बिर स्रोत, CAN
विकेट प्रशस्त भएकोले नेपाली खेलाडीहरूले तीव्र गतिमा रन थप्ने अनुमान गरिएको थियो।
यसै बेला बायाँ हाते आक्रामक ब्याटर कुशल मल्लले १७ औँ ओभरमा लगातार ३ छक्का ठोकेर कीर्तिपुर मैदानमा उपस्थित दर्शकहरूमाझ खुसी थपिदिएका थिए।
तर त्यसपछि भने टोलीले रन बटुल्न सकेन।
११ बलमा २६ रन कुशल १८ औँ ओभरको पहिलो बलमा आउट भए। सोही ओभरको अन्तिम बलमा करण केसी (९ रन) पनि आउट भए।
त्यतिमात्र होइन, १९ औँ ओभरको पहिलो र दोस्रो बलमा पनि नेपालको विकेट खस्यो। पहिलो बलमा गुल्सन झा ३४ रन बनाएर आउट भए भने दोस्रो बलमा आरिफ शेख शून्यमा आउट भएका थिए। दुबैजना बाउन्ड्री लाइनमा समातिएका थिए।
नेपालले तीन बलमा तीन विकेट गुमाएको थियो भने दुई ओभरको बीचमा महत्त्वपूर्ण चार खेलाडी गुमाउन पुगेका थिए।
अन्तिम ओभरमा प्रतिश जीसी र सोमपाल कामीले ६-६ रनमात्र बनाउन सके।
डेढ ओभरमा नेदरल्यान्ड्सका खेलाडीहरूले स्तरीय बलिङ गरे। टोलीबाट फ्रेड क्लासेन, भान डेर गुग्टेन, मिचेल लेभिट र साइब्रान्ड इङगेलब्रेचले समान २-२ विकेट लिएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








