नेदरल्याण्ड्समाथि प्रभावशाली जितसँगै नेपाल फाइनलमा

- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
लगातार दोस्रो जीत हासिल गरेसँगै नेपाल त्रिदेशीय टी-ट्वेन्टी क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ।
कीर्तिपुरमा शनिवार नेदरल्याण्ड्सलाई पराजित गर्ने क्रममा नेपालले राम्रो रन रेट निकालेपछि प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो।
नेदरल्याण्ड्सलाई १९.३ ओभरमा १२० रनमा सीमित पारेको नेपालले उत्कृष्ट बलिङ र ब्याटिङ प्रदर्शन गर्दै जित निकालेको हो।
नेपालले उक्त लक्ष्य ४ विकेट गुमाएर १५.२ ओभरमा भेट्टाएको थियो।
यसअघि नेदरल्याण्डससँगको खेलमा नेपाल २ रनले पराजित भएको थियो।
शृङ्खलामा दुई खेल जितेको नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ।
नेपालको जीतमा कप्तान रोहित पौडेल र गुल्शन झाले ब्याटिङमार्फत महत्त्वपूर्ण योगदान दिए। कप्तान पौडेलले ४६ रन जोडे भने झा ३८ रन बनाएर आउट भएका थिए।
नेपाल फाइनलमा पुग्नुको कारण

तस्बिर स्रोत, CAN/X
शनिवारको जितपछि नेदरल्यान्ड्सको ३ खेलबाट ४ अङ्क तथा तीनवटै खेलबाट नामिवियाको २ अङ्क छ।
लिगका चारवटा खेल खेलिसकेको नेपालको दुई जितका साथ ४ अङ्क छ।
यस्तै रन रेटमा नेदरल्यान्ड्सको ०.३१०, नेपालको ०.२९३ तथा नामिवियाको -०.७०० छ।
अब आइतवार नामिबिया र नेदरल्यान्ड्सबी लिगको अन्तिम खेल हुनेछ। र उक्त खेलको नतिजा जे जस्तो भएपनि रन रेटको आधारमा नेपालको दोस्रो स्थान निश्चित हुनेछ।
आइतवारको खेलमा नेदरल्यान्ड्स जिते नेपाल र नेदरल्यान्ड्स स्वत फाइनलमा पुग्नेछन्।
तर यदि नामिवियाले जितेमा भने रन रेटको आधारमा कि नामिविया बाहिरिने छ कि नेदरल्यान्ड्स। नेपालको स्पट भने तलमाथि हुने छैन।
कसरी जित सम्भव भयो

तस्बिर स्रोत, CAN
टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १२० रनको स्कोर खडा गर्यो।
कीर्तिपुरको भरिभराउ मैदानमा उपस्थित दर्शकमाझ नेपाली बलरहरूले कसिकसाउ बलिङ गर्दै विपक्षी खेलाडीहरुलाई रोक्न सफल भएका थिए।
पहिलो ओभरमै करण केसीले विपक्षीको दुई विकेट लिएर नेपालको सुरुआत शानदार बनाए।
तर त्यसपछि नेदरल्यान्ड्सका म्याक्स ओ डाउड र स्कट एडवार्ड्सले संयमित खेल्दै तेस्रो विकेटअघि ५० रनको साझेदारी गर्दै खेललाई नियन्त्रणमा ल्याउन प्रयास गरे।
तर नेपालका युवा खेलाडी प्रतिस जिसी चम्किएपछि नेदरल्यान्ड्स फेरी समस्यामा पर्यो।
प्रतिसले खेलमा जमिरहेका यी दुवै जोडीलाई बोल्ड गरे। उनले स्कट (१८ रन) र म्याक्स (३१ रन) लाई बोल्ड गरेका थिए।
धेरै पछि मौका पाएका प्रतिसले कुल ३ विकेट लिए।
प्रतिससँगै कामचलाउ स्पिनर कुशल मल्लले २ विकेट लिएपछि नेदरल्यान्ड्सको मध्यपङ्क्ति तहसनहस भएको थियो।
कुशलले दसौँ ओभरमा नोआ क्रोस (३ रन) र आर्यन दत्त (० रन)लाई आउट गरेका थिए।
नेदरल्यान्ड्सका रोलफ भान डर मर्वले अन्तिम समयसम्म खेल्दै २३ रन बनाउँदा टोलीको स्कोर १२० पुगेको थियो।
दीपेन्द्रसिंह ऐरीले पनि १ विकेट लिए। अन्तिम विकेटअघि कुशल भुर्तेलले छक्का जोगाउँदै विपक्षी लाई रन आउट गर्नु कीर्तिपुरमा देखिएको एउटा शानदार दृश्य थियो।
नेपालले फाइनलमा कुन टोलीसँग खेल्छ?

यसअघि त्रिदेशीय टी-ट्वेन्टी क्रिकेट शृङ्खलामा लगातार बेहोरिरहेको हार पन्छाउँदै नेपालले शुक्रवार कीर्तिपुरमा भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको थियो।
उक्त जितसँगै नेपालको फाइनलमा पुग्ने आशा कायमै रहेको थियो।
त्रिदेशीय टी-ट्वेन्टी शृङ्खलामा नेपालले सुरुका दुई खेलमा आगन्तुक टोलीहरूसँग हार बेहोरेको थियो।
यस शृङ्खलामा प्रत्येक टोलीले अरू दुई टोलीसँग दुई पटक खेल्नुपर्छ।
शनिवारको खेलमा हात पारेको जीतसँगै नेपालले जारी शृङ्खलामा यसअघि नेदरल्याण्डससँग भोगेको पराजयको बदला मात्रै लिएन फाइनलमा आफ्नो स्थान पनि सुरक्षित गर्यो।
अघिल्लो रोमाञ्चक खेलमा १८४ रनको लक्ष्य पछ्याएको नेपाल दुई रनले पराजित भएको थियो।
यो खेलअगाडि तीन देशमध्ये नेदरल्यान्ड्स दुवै खेल जितेर शीर्ष स्थानमा थियो।
समान दुई अङ्क रहेपनि नेट रन रेटका आधारमा नेपाल नामबियाभन्दा माथि रहेको थियो।
सुरुको दुई खेल लगातार हारेपछि दबाबमा परेको नेपाल पछिल्ला दुई खेलमा जित्दै शृङ्खलामा फर्केको हो।
पछिल्लो परिणामसँगै फाइनल पुग्ने दोस्रो टोलीको छिनोफानो नेदरल्यान्ड्स र नामिबियाबीचको खेलको परिणामले टुङ्गो लाग्नेछ।
यसअघि नेपाल फाइनलमा पुग्ने बलियो सम्भावना* उल्लेख भएकोमा यो समाचारमा केही विवरण अद्यावधिक गरिएको छ-सम्पादक
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








