अनिल साह र भीम सार्की दुवैको शतक, क्यानडा फेरि नेपालसँग पराजित

पहिलो दुई खेलमा क्यानडाले दिएको चुनौतीभन्दा सामान्य देखिएको तेस्रो एकदिवसीय खेलमा नेपालले नौ विकेटको सहज विजय हासिल गरेको छ।
क्यानडाले ब्याटिङबाट ५० ओभरमा आठ विकेट गुमाउँदै बनाएको २३२ रनको स्कोरलाई नेपाली ब्याटरहरूले ४४.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गरे।
नेपाली क्रिकेटलाई माथि उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका र अहिले क्यानडाका प्रशिक्षक पुबुदु दशानायकेको नेपालविरुद्ध खेल जित्ने चाहना पूरा हुन सकेन।
शृङ्खलामा उत्कृष्ट अल राउन्ड प्रदर्शन गरेका नेपाली कप्तान रोहित पौडेललाई 'प्लेयर अफ दि सिरिज' को उपाधि दिइयो।
अनिल साह र भीम सार्की चम्किए

तस्बिर स्रोत, Cricket Association of Nepal
सोमवारको खेलमा दुई नेपाली खेलाडीले लगालग शतक प्रहार गरे।
ओपनर अनिल साहले सोमवार फेरि गजबको प्रदर्शन गरेर 'प्लेयर अफ दि म्याच' उपाधि हात पारे।
क्यानडासँगको अघिल्लो खेलमा १९ बलमा अर्धशतक बनाउँदै नेपाली टोलीलाई विशाल लक्ष्य पछ्याउन सघाएका उनले सोमवार ५१ बलमा अर्धशतक बनाएका थिए भने ११६ बलमा शतक बनाए।
अर्का ओपनर कुशल भुर्तेल ४.५ ओभरमा आउट हुन पुगे। उनले १३ रन बनाएर बोल्ड हुन पुगेका थिए। अनिल साह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ४५ रन बनाए।
त्यसपछि मैदानमा आएका भीम सार्की र अनिल साहले मिलेर स्कोरबोर्डमा तीव्र गतिमा रन बढाएर खेलेका थिए। भीम सार्कीले १२७ बलमा शतक बनाए।
साहले दुई छक्का र १२ चौकासहित अविजित ११२ रन बनाएका थिए भने सार्कीले एक छक्का र ११ चौकासहित अविजित १०१ रन बनाएका थिए।
सार्कीले शतक बनाउँदा कीर्तिपुरस्थित मैदानमा दर्शकहरूले ताली बजाएर हर्षोल्लास गरेका थिए।
खेल्नुअगाडि नै बोनस पाँच रन
रोचक कुरा के रह्यो भने नेपालले ब्याटिङ सुरु गर्नु अगाडि नै पाँच रन बोनस पाएको थियो।
क्यानडाको ब्याटिङको क्रममा ४९ औंँ ओभरको अन्तिम बलमा ब्याटरले पिचको मध्यमा दौडेपछि क्यानडालाई नियमानुसार पाँच रनको सजाय दिइएको हो।
अम्पायरले सुरुमा दिएको चेतावनीलाई बेवास्ता गरेपछि उक्त सजाय दिइएको हो।

हेमन्त धामीले लिए तीन विकेट
टस जितेपछि कप्तान रोहित पौडेलले आफ्ना बलरहरूलाई पहिले प्रयोग गर्ने निर्णय लिए। त्यसमा राष्ट्रिय टोलीमा 'डेब्यू' वा पहिलो खेलमा आएका हेमन्त धामीले तीन विकेट लिए।
शृङ्खला २-० ले जितिसकेको अवस्थामा नेपालले टोलीमा चार खेलाडी परिवर्तन गरेको थियो।
त्यसमा आरिफ शेख, ललितनारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्किँदा सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेखलाई बेन्चमा राखिएको थियो।
हेमन्त धामीले तेस्रो ओभरमै आरोन जोन्सनको विकेट लिएर क्यानडालाई दबावमा पारे।

त्यसपछि पावर प्लेमा क्यानडालाई ठूलो स्कोर बनाउनबाट रोक्न नेपाली बलरहरू सफल भए।
क्यानडाका अर्का ओपनर नवनित धलिवलले क्यानडाको इनिङ्स सम्हालेका थिए। उनले ८२ बल खेलेर ५० रन बनाए।
उनले दोस्रो विकेटका लागि श्रीमन्थ विजयरत्नेसँग मिलेर ४८ रनको साझेदारी गरेका थिए।
श्रीमन्थले २२ रन बनाए। उनलाई यू-१९ का उदीयमान खेलाडी आकाश चन्दले आउट गरेका थिए।
क्यानडाको अर्को राम्रो साझेदारी छैटौँ विकेटमा निखिल दत्त र हर्ष थाकरले गरेका हुन्। यी दुईले ५४ रनको साझेदारी गरे। निखिलले ४५ तथा हर्षले २९ रन बनाए।
कप्तान साद बिन जफरले खेलको अन्त्यतिर आएर १५ बलमा आक्रामक ३१ रन बनाएर खेललाई रोचक बनाएका थिए।
नेपालबाट हेमन्त धामीले तीन विकेटका अतिरिक्त कुशल मल्लले दुई तथा ललित राजवंशी र आकाश चन्दले १/१ विकेट लिएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









