नेपाल र द नेदरल्यान्ड्स बीचको फाइनलमा घरेलु टोलीको बलियो पक्ष यस्ता

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपाली क्रिकेट समर्थकहरू नेदरल्यान्ड्सको टोलीलाई विशेष रूपमा सम्झिने गर्छन्।
त्यो किन भने जब सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) राष्ट्रको मान्यता पायो, नेदरल्यान्ड्सले नेपालसँग पहिलो ओडिआइ शृङ्खला खेल्न तयार भएको हो।
द नेदरल्यान्ड्सको घरेलु मैदानमा खेलिएको २ खेलको नतिजा पनि विशेष थियो।
पहिलो खेल ५५ रनले हारेको नेपालले भोलिपल्ट नेदरल्यान्ड्सलाई अत्यन्त रोमाञ्चक खेलमा १ रनले हराएको थियो।
पारस खड्काले अन्तिम बलमा गरेको रन आउटलाई अहिले पनि कतिपय क्रिकेट प्रेमीहरूले बिर्सेका छैनन्।
हाल नेपाल क्रिकेट सङ्घका सचिव रहेका पारस सहित नेपाली क्रिकेटका गोल्डेन टिमका रूपमा चिनिने शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र बसन्त रेग्मी जस्ता प्रमुख खेलाडी अहिलेको नेपाली टोलीमा छैन।
त्यतिखेरका ५ खेलाडीहरू सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, अनिल साह र आरिफ शेख अहिलेको टोलीमा खेलिरहेका छन्। बाँकी खेलाडी नयाँ हुन्।
फरक के छ भने त्यो एकदिवसीय प्रतिस्पर्धा थियो भने अहिले टी-२० चलिरहेको छ।
फाइनलको विशेषता
नेपाल र नेदरल्यान्ड्स बीच त्रिकोणात्मक टी-२० को फाइनल खेलका केही खास विशेषता छन्।
जारी त्रिकोणात्मक शृङ्खला आयोजना गरिनुको मुख्य कारण आगामी जुनमा हुने टी-२० विश्वकपको तयारीको लागि हो।
अनि नेपाल र नेदरल्यान्ड्स उक्त विश्वकपको एउटै समूहमा छन्।
विश्वकपको समूह 'डी' मा नेपाल सहित नेदरल्यान्ड्स, बाङ्ग्लादेश, श्रीलङ्का र दक्षिण अफ्रिका गरी पाँच राष्ट्र छन्।
नेपालले विश्वकपको पहिलो खेल नेदरल्यान्ड्स विरुद्ध जुन ४ मा खेल्ने तालिका छ।
यस्तोमा विश्वकपमा भिड्ने अन्य प्रतिद्वन्द्वी मध्ये नेपाललाई नेदरल्यान्ड्ससँग खेल्न सहज हुनेछ। नेदरल्यान्ड्सको हकमा पनि यही कुरा लागू हुनेछ।
यसैले मङ्गलवारको फाइनल जितेर नेपाल विश्वकपमा खेल्नु अगाडि आफ्नो मनोबल उच्च राख्न चाहन्छ।

तस्बिर स्रोत, CAN
आमने सामने
वास्तवमा नेदरल्यान्ड्सको नेपाल यात्रामा नेपाल विरुद्धको खेलहरू निकै रोचक बनेको देखिएको थियो।
विश्वकप लिग २ मा नेपालले एक मात्र जित नेदरल्यान्ड्स विरुद्ध नै प्राप्त गरेको थियो। अनिल शाहको आक्रामक अर्धशतकमा ५० ओभरको खेल नेपालले टी-२० शैलीमा १६ ओभर भित्र नै टुङ्ग्याइदिएको थियो।
अहिले कीर्तिपुरमा भइरहेको टी-२० क्रिकेटको नतिजा पनि उस्तै रह्यो।
लिगमा खेलेको दुई खेलमा पहिलोमा नेदरल्यान्ड्सले नेपाललाई एक अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २ रनले पराजित गरेको थियो।
तर त्यसको बदला लिने क्रममा नेपालले अर्को खेलमा ६ विकेटले सहजै हरायो।
इतिहास खोतल्ने हो भने नेपाल र नेदरल्यान्ड्स टी-२० मा ११ पटक आमने सामने भएका छन्।
जसमा दुवै टोलीले ५/५ खेल जित्दा एक खेल अनिर्णीत भएको थियो।
त्यस्तै ओडिआईमा भने यी दुई टोलीले ५ पटक खेलिसकेका छन्। जसमा नेदरल्यान्डस् ३ खेलमा तथा नेपाल २ खेलमा विजयी भएका थिए।

तस्बिर स्रोत, CAN
अनुभवी नेदरल्यान्ड्स विरुद्ध घरेलु विश्वास
नेदरल्यान्ड्स पाँच पटक एकदिवसीय विश्वकप खेलिसकेको टोली हो।
चार महिना अगाडि भारतमा भएको एकदिवसीय विश्वकपमा उक्त टोलीले दक्षिण अफ्रिका र बाङ्ग्लादेशलाई हराएर तहल्का नै मच्चाएको थियो।
त्यस हिसाबले एसोसियट राष्ट्रको शीर्ष टोली नेदरल्यान्ड्सका खेलाडीहरू अहिले राम्रो लयमा छन्।
यद्यपि लगातार दुई खेलमा पराजय बेहोरेपनि बाँकी २ खेलमा प्रभावशाली जित हात पार्दै प्रतियोगितामा फाइनल पुगेर नेपालले आफ्नो क्षमता पुष्टि गरिसकेको छ।
नेदरल्यान्ड्सका म्याक्स ओडिड र माहिर लेभिट राम्रा खेलाडी हुन्। अनि त्यसमा थपिएका युवा माइकल लेभिट खतरनाक छन्।
बलिङतर्फ तीव्र गतिका भिभियन किंग्मामा र स्पिनमा आर्यन दत्तले नतिजा दिइरहेका छन्।
अलराउन्डरले भरिएको नेपाली टोलीमा प्रत्येक खेलमा प्रशिक्षक मोन्टी देसाईले खेलाडी परिवर्तन गर्दै क्षमता परीक्षण गरिरहेको देखिन्छ।
यद्यपि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख तथा उनीहरूको विकल्पमा रहन सक्ने अनिल शाहले प्रभाव देखाउन थालेका छन्।
दीपेन्द्र सिंह ऐरीको 'फर्म' फर्किएको अनुभूति भइसकेको छ। करण केसीको बलिङ धार पनि तेजिलो भएको देखिएको छ।
कप्तान रोहित पौडेल र गुलशन झाले नेदरल्यान्ड्स विरुद्धको पछिल्लो खेलमा धैर्यतापूर्वक खेल्दै आरामसँग विजय दिलाएका थिए ।
सोमपाल कामी वा ललितनारायण राजवंशी पनि छन्।
त्यसैले मङ्गलवारको फाइनल खेल प्रतिस्पर्धात्मक हुने निश्चित छ।
अनि यस्तोमा 'टस' जित्नु/ हार्नुले कतिको महत्त्व राख्छ होला?
विश्लेषकहरूको भनाइ छ, "दिउँसो साढे ११ बजे खेलिने खेल भएकोले टस निर्णायक नै चाहिँ हुने छैन। खेलाडीहरूले क्षमता देखाउनै पर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








