'स्न्याक्स'ले हाम्रो खाने तौरतरिका यसरी बदले

    • Author, द फूड चेन
    • Role, बीबीसी वर्ल्ड सर्भिस

भुटेका बदाम, चिप्स, मिठाइ, चकलेट, क्र्याकर, सीविड, बम्बे मिक्स, कुकिज, दुनोट, गुलिया वा नुनिला केक - संसारमा 'स्न्याक्स'हरूमा ठूलो विविधता छ।

मानिसहरूले हजारौँ वर्षदेखि स्न्याक्सको स्वाद लिँदै आएका छन् तर आधुनिक समयमा यो क्षेत्र वार्षिक रूपमा एक ट्रिलियन डलरभन्दा बढी मूल्यको विशाल उद्योगमा परिणत भएको छ।

आज हामीमध्ये धेरैले दिनको दुई वा तीन पटक गरिने नियमित भोजनभन्दा अधिक क्यालरी स्न्याक्सबाट प्राप्त गर्ने गरेका छौँ।

तर उक्त विशाल उद्योग केवल हाम्रो चाहना र दौडधूपयुक्त जीवनशैलीका कारण मात्र बनेको होइन, खानेकुरा उत्पादन गर्ने कम्पनीहरूको बजारीकरणको चतुर शैलीले पनि हाम्रो खानपानलाई स्न्याक्सतर्फ धकेल्न ठूलो भूमिका खेलेको छ।

थाहा भएसम्मको पुरानो 'स्न्याक' कुन हो?

केम्ब्रिज अङ्ग्रेजी शब्दकोशले 'स्न्याक'लाई "मुख्य भोजनहरूका बीचमा खाइने थोरै मात्राको खाना" वा "अत्यन्तै सानो परिमाणको भोजन" भनेर परिभाषित गरेको छ।

अर्को अर्थमा, स्न्याक शब्दले अनिवार्य रूपमा पहिलेबाट तयार गरिएका र कम पोषणयुक्त 'जङ्कफूड' मात्र जनाउँदैन।

ब्रिटिश खाद्य इतिहासकार तथा लेखक डा एनी ग्रे आजको समयमा स्न्याकप्रतिको धारणा प्रायः "निकै नकारात्मक" बनेको बताउँछिन्।

"आम रूपमा स्न्याक्सलाई हामी प्राय: मुख्य भोजनको बीचमा बिनाझन्झट ट्याप्प टिपेर खान सकिने खानेकुराका रूपमा बुझ्छौँ र स्न्याकिङलाई लिएर प्राय: एउटा स्तरमा गल्तीबोधको भावना हुन्छ," डा एनी भन्छिन्।

उनका अनुसार स्न्याक खाने चलन नयाँ नभई निकै लामो समयदेखि चलिआएको हो।

"सबैभन्दा पुराना स्न्याकहरू भनेका बदाम, बेरी र फलफूल हुन् तर हामीले आज आधुनिक स्न्याक भनेर बुझ्ने खानेकुरामध्ये सबैभन्दा पुरानो सम्भवतः भुटेको मकै (पप्कर्न) हो।"

"पुरातत्वविद्हरूले दक्षिण अमेरिकाका गुफाहरूमा झन्डै ७ हजार वर्षअघिका 'पप्कर्न'का दाना फेला पारेका छन्," डा ग्रे भन्छिन्।

"इतिहासका विभिन्न कालखण्डमा संसारभरिका धेरै मानिसहरूसँग औपचारिक रूपमा भोजन गर्ने समय नै हुँदैनथ्यो, त्यसैले व्यावहारिक रूपमा हेर्दा हामी सधैँ भोक लाग्दा खाने गरेका छौँ," उनी थप्छिन्।

'स्न्याकिङ'को सुरुवात

यदि स्न्याक खाने चलन ('स्न्याकिङ') मानव इतिहासको धेरै भागमा सामान्य कुरा थियो भने कहिलेदेखि हामीले यसलाई 'भोजनको बीचमा खाइने खानेकुरा'का रूपमा बुझ्न थाल्यौँ त?

"'स्न्याक' शब्दलाई पछ्याउँदै जाँदा हामी आधुनिककालको सुरुवाततिर पुग्छौँ जब यसलाई अङ्ग्रेजीमा पहिलो पटक प्रयोग गरियो। यसले 'कुनै कुराको एक भाग' भन्ने अर्थ दिन्थ्यो," डा ग्रे भन्छिन्, "त्यसैले त्यहाँ शेअरिङ गर्ने विचार अन्तर्निहित छ तर त्यो केवल खानेकुराको कुनै भागको कुरा मात्र नभई रकम वा नाफाको भाग पनि हुन सक्छ।"

त्यहाँबाट यो शब्द छिट्टै खानेकुरासँग जोडिन थाल्यो। "जस्तै कि खेतबारीमा काम गरिरहेको कुनै कामदारले भन्न सक्छ, मलाई भोक लागेको छ र म एक स्न्याक केक खाँदै छु," उनले भनिन्।

"यसरी यो शब्दले १८ औँ शताब्दीको मध्यतिरबाट खानाको मात्रै अर्थ बोक्न थाल्यो र पारम्पारिक भोजनको चलनबाट अलग हुन पुग्यो।"

यो त्यही समय हो जति बेलाबाट चल्तीको स्न्याक 'स्यान्डविच'को चलन सुरु भयो। कथनका अनुसार, जन मोन्टागु नामका एक जना कुलीन एक साँझ तास खेलिरहेका थिए। उनलाई भोक लागेको थियो तर खेल त्याग्न चाहँदैनथे। त्यसपछि उनले आफ्ना सेवकलाई दुई टुक्रा पाउरोटीका बीचमा मासु राखेर ल्याउन अह्राए ता कि खेल जारी राख्दै खान सकियोस्। यही नै वास्तवमा स्न्याकको परिभाषा हो।

औद्योगिककालको प्रारम्भमा अमेरिकी उत्पादकहरूले कारखानाका कामदारहरूलाई लक्षित गरेको देखियो। सुरुमा कारखानाको प्रवेशद्वारवरपर स्न्याक बेच्नेहरू देखा पर्न थाले जसले ओइस्टर र वेल्कलगायत जीवका मासुर स्यान्डविचहरू बेच्ने गर्थे।

अनि १९ औँ शताब्दीमा अमेरिकामा पप्कर्न लोकप्रिय बन्यो र पछि अरू पनि आउन थाले।

"सन् १९१० मा पहिलोपटक चिप्सको व्यवसायीकरण भयो। यो अवधिमा थुप्रै निर्मित र औद्योगिक खाद्य पदार्थहरू देखा परे," डा ग्रे भन्छिन्।

दोस्रो विश्वयुद्धपछि खाद्य प्रशोधनमा उल्लेखनीय विस्तार भयो र प्याकेजिङ पनि थप सुध्रियो। त्यसले तीव्र रूपमा आय बढिरहेका वर्गसम्म ती स्न्याकहरू सहज रूपमा पुर्‍याउन मद्दत गर्‍यो।

"त्यो समय धेरै मानिसहरू घरबाहिर काम गर्न थालेका थिए र फरकफरक समयमा काम गर्नेहरूलाई भोजनको व्यवस्था गर्न समय निकाल्न गाह्रो पर्थ्यो," उनले थपिन्।

"सँगसँगै उद्योगहरू विस्तार भए, मध्यम वर्गको विस्तार भयो र खर्च गर्न योग्य आयमा पनि वृद्धि भयो, त्यसले गर्दा मानिसहरूले स्न्याक्समा ज्यादा खर्च गर्न थाले।"

स्न्याकको अहिलेको बजार कति ठूलो छ

सोही समयमा प्याकेजिङको प्रविधिमा पनि प्रगति भइरहेको थियो।

उदाहरणका निम्ति चिप्सको थैलोमा नाइट्रोजन ग्यास भर्नेजस्ता ससाना प्रविधि पनि विकास भए, जसले ओसारपसारका क्रममा चिप्सलाई फुट्नबाट जोगाउँथे।

यसले गर्दा उत्पादनलाई एकीकृत गर्दा आर्थिक दृष्टिले लाभदायी हुने भयो। थोरैभन्दा थोरै स्थानमा स्थित भएर ठूलाभन्दा ठूला कारखानाहरू खुल्न थाले।

सन् १९७९ मा पोल पल्म्यान निकै विशाल अमेरिकी कम्पनी 'प्रोक्टर एन्ड ग्याम्बल'मा प्रवेश गर्दासम्म सामान्य देखिने 'चिप्स' 'स्न्याकिङ'को दुनियाँको ठूलो खेलाडी बनिसकेको थियो।

पल्म्यानले त्यसपछि छिट्टै आलुबाट बनेको नयाँ प्रकारको चिप्स बनाउन थाले, जुन टिनको बट्टामा बेचिन्थ्यो र सुक्खा आलुबाट बनाइएको थियो।

यस बखतसम्म ठूला कम्पनीहरूले साना व्यवसायहरूलाई अधिग्रहण गर्न थालिसकेका थिए र ब्र्यान्ड निर्माण तथा विज्ञापनमा ठूलो रकम लगानी गरिरहेका थिए।

पल्म्यान आजकल उक्त उद्योगलाई "सैन्य अपरेशन"सँग दाँज्छन्।

"सफलता चाँडै आउन सक्छ तर चाँडै गायब पनि हुन सक्छ। त्यसैले उत्कृष्टताका साथ कार्यान्वयन गर्न माहिर हुनुपर्छ," उनी भन्छन्, "तपाईँको उत्पादन ठिक गुणस्तरको, ठिक मूल्यको, सही प्याकेजिङको तथा पसलहरूमा उचित स्थानमा हुनुपर्छ र खाँचो पर्‍यो भने उचित प्रचारप्रसार पनि गरिएको हुनुपर्छ।"

तर यसबाट निकै ठूलो लाभ आर्जन हुन सक्छ किनकि यसको उपभोग निरन्तर बढिरहेको छ।

लोकप्रियमध्येका स्न्याक्स केके हुन्?

बीबीसी वर्ल्ड सर्भिसले मानिसहरूको स्न्याकप्रेम जान्न श्रोताहरूसँग 'अति भोक लागेका बेला कुन खानेतकुरातिर हात लम्किन्छ' भनेर सोधेको थियो।

"मलाई मन पर्ने स्न्याकचाहिँ 'चिपा' हो। यो कसाभा, चीज, मक्खन, दूध र नुन हालेर बनाइएको गोलाकार पाउरोटी हो। यसलाई गल्फ बलजस्तो सुन्दर आकारमा 'बेक' गरिन्छ," बार्बरा ओएभरीले भनिन्। उनी आर्जेन्टिनाकी मूल निवासी हुन्।

उनलाई आफ्नो स्न्याक्स आफैँ तयार पार्न मन पर्छ तर उनका छोरा भने तयारी स्न्याक रुचाउँछन्।

"रोचक कुरा के भने त्यो चीज हालेर तयार पारिएको हुन्छ र मलाई पनि मन पर्छ। रमाइलो कुराचाहिँ मलाई सानो छँदा जस्तो चीजयुक्त नुनिलो स्न्याक्स मन पर्थ्यो, उसलाई पनि त्यस्तै मन पर्छ। त्यो स्वाद ऊभित्र जन्मजात छ तर मलाई भने मूल स्वादकै बढी मन पर्छ।"

डा स्वाती मिश्रा नयाँ दिल्लीमा बस्छिन् र उसिनेको आलु, प्रशस्त धनियाँ, प्याज र केराउ भरेर बनाइएको समोसाको आनन्द लिन्छिन्।

"कुनै पार्टी वा विवाह समारोह आदि योबिना पूर्ण हुँदैनन्," उनी भन्छिन्।

उनले ताजा स्न्याक्स र तयारी उत्पादनमा बिस्तारैबिस्तारै परिवर्तन आएको महसुस गरेकी छन्। उनी बच्चाहरूलाई तयारी खानेकुराबाट टाढा राख्न कठिन भएको बताउँछिन्।

"म नियमित रूपमा स्थानीय बजार पुग्छु र फिस रोल किन्छु," स्टेला असिग्बू भन्छिन्, "यो पिठो, माछा, नुन र मडिगा (कसाभाको पिठो, नुन र चिनी हालेर बनाइएको फ्ल्याटब्रेड) बाट बनेको हुन्छ।"

"मडिगा दक्षिणपूर्वी नाइजेरियामा निकै लोकप्रिय स्थानीय पाउरोटी हो। यो बाक्लो मिश्रण र मिठो स्वादका निम्ति परिचित छ," असिग्बू थप्छिन्।

"म दिनहुँ स्न्याक्स खान्छु," थाईल्यान्डकी पपोट्या निपन्यान भन्छिन्।

"प्राय: त्यो कुनै कुरकुरे किसिमको र कहिलेकाँही चकलेट पनि हुन्छ तर कहिलेकाहीँ भने नाचोज पनि खान्छु।"

उनी प्राय: बिदाका दिन स्न्याकहरू ल्याउँछिन् र कामका बेला फुर्सद हुँदा खान्छिन्।

तीव्र वृद्धि

बजारको अनुसन्धान गर्ने कम्पनी 'सर्काना'को तथ्याङ्कअनुसार अमेरिकाका लगभग आधा वयस्कहरूले हरेक दिन तीन वा सोभन्दा बढी स्न्याक खान्छन्।

यो अन्य धेरै देशहरूमा पनि दोहोरिएको प्रवृत्ति हो जसले स्न्याकका निम्ति हाम्रो भोकको कुनै अन्त्य नभएजस्तो देखाउँछ।

"मैले स्न्याकको व्यापार सुरु गर्दा यो तुलनात्मक रूपमा सानो र तीन खर्ब डलरमुनिको थियो," पछि औद्योगिक क्षेत्रको विशाल कम्पनी यूनिलिभरको सीईओ बनेका पलम्यान भन्छन्, "अहिले मेरो विचारमा स्न्याक वर्गका लगभग १.२ देखि १.५ ट्रिलिअन डलरबराबरका वस्तुहरू बेचिइराखेका छन्।"

उनले सन् २०३५ सम्ममा यो विशाल उद्योगको आकार दोब्बर हुने ठानेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।