क्यालिफोर्नियामा भीषण डढेलो, दशौँ हजार मानिसको उद्धार

प्यासिफिक प्यालिसेड्समा डढेलो फैलिएको छ

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तीव्र गतिमा फैलिरहेको डढेलोका कारण संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौँ हजार मानिसहरूको उद्धार गरिएको छ।

अग्निनियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको बताएका छन्।

विमान र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन्। तर सुक्खा अवस्था र १६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझ फैलाएको छ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले तीव्र वेगको हावाले अन्यत्र पनि डढेलो फैलिन सक्ने चेतावनी दिएका छन्।

मानिसहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहँदा ठाउँठाउँमा सवारी आवागमन प्रभावित भएको थियो।

कतिपय मानिसहरू आफ्ना सवारीसाधन छाडेर भागेका छन्। केही सवारीसाधनलाई डोजर प्रयोग गरेर हटाइएको छ।

हजारौँ घर र भवन जोखिममा

प्यासिफिक प्यालसेड्समा आगलागीले कतिपय घर नष्ट भएका छन्

तस्बिर स्रोत, Allison Dinner/Shutterstock

लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रलीले हवाई निरीक्षण गर्दा आगलागी फैलिएको क्षेत्र १,२६० एकरभन्दा बढी पुगेको बताइन्। उनका अनुसार भीषण हावा, सुक्खा र साना रूख अनि पातपतिङ्गरका कारण आगो अझै फैलिएको छ।

"आगो निभाउन खटिएको हाम्रो टोलीलाई ठूलो चुनौती खेपिरहेको छ," उनले भनिन्। आगो फैलिएको क्षेत्रमा २५० अग्निनियन्त्रकहरू हेलिकप्टर र दमकलसहित परिचालित छन्।

क्रलीले १०,००० भन्दा बढी घर र १३,००० भवन जोखिममा रहेको बताइन्।

मङ्गलवार स्थानीय समयानुसार १०ः३० बजे सुरु भएको डढेलोले तीव्र हावा र सुक्खा अवस्थाका कारण भयानक बनेको थियो। सान्टा आना नामक शक्तिशाली हुरीले क्त डढेलोलाई तीव्र गतिमा फैलाएको विवरणहरू आएका छन्।

प्यासिफिक प्यालिसेड्समा आगो निभाउने प्रयासमा अग्नि नियन्त्रक र हेलिकप्टर

तस्बिर स्रोत, Carolina Brehman/Shutterstock

भिडिओ फुटेजहरूमा प्यासिफिक प्यालिसेड्स क्षेत्रमा घरहरूमा आगो लागेको र मानिसहरू कार छाडेर आगोको लप्काबाट बच्न भागिरहेको देख्न सकिन्छ।

डढेलोको जोखिम अझै उच्च भएकाले राज्यका अधिकांश क्षेत्रका लागि चेतावनी जारी गरिएको छ।

प्यासिफिक प्यालिसेड्स एउटा दुर्गम तर उच्च जनघनत्व भएको क्षेत्र हो। यो प्रशान्त महासागरको सीमामा पर्ने सान्टा मोनिका पर्वतको सीमामा अवस्थित छ। यहाँबाट बाहिरिनका लागि चर्चित प्यासिफिक कोस्ट राजमार्गको प्रयोग गर्नुपर्छ।

स्थानीय बासिन्दाहरूले मुख्य सडकमा भारी ट्राफिक रहेको गुनासो गरिरहेका छन्।

सवारीसाधन हटाउन बुल्डोजर

क्यालिफोर्नियामा लागेको आगो

उद्धार मार्गमा समेत आगो प्रवेश गर्न थालेपछि कतिपय मानिसहरू आफ्ना सवारीसाधन छाडेर भागेका छन्। बुल्डोजर प्रयोग गरेर झन्डै २०० सवारीसाधनलाई हटाइएको छ र अग्निनियन्त्रक र उद्धार गरिएका मानिसहरूलाई आवश्यक पर्ने मार्ग उपलब्ध गराइएको छ।

लस एन्जलसको प्यासिफिक प्यालिसेड्स क्षेत्रमा बस्ने बीबीसी संवाददाता लुसी शेरिफ आगो फैलिएपछि उद्धार हुनेमध्येकी एक हुन्।

उनले तीव्र वेगको हावाहुरीको चेतावनी र द्रुत गतिमा फैलिरहेको आगोले आफूलाई चिन्तित बनाएको उल्लेख गर्दै आफूले डढेलो फैलिएको विषयमा खासै सूचना अनलाइनहरूमा पनि नपाएको जनाइन्।

उनका अनुसार लस एन्जलसका एक अधिकारीले उनलाई आगोको लप्काको वेगले आफूहरू पनि आश्चर्यमा परेको बताएका थिए। उनले अनुसार सान्टा मोनिका पहाडको माथिल्लो भागमा एक बिन्दुबाट अर्कोमा आगो फैलिरहेको र त्यसले प्यालिसेड्सलाई घेरेको देखेको बताइन्।

प्यासिफिक प्यालिसेड्समा आगो फैलिएपछि भाग्न लागेका मानिस

तस्बिर स्रोत, Mike Blake/Reuters

तस्बिरको क्याप्शन, आगो फैलिएको क्षेत्रबाट तत्कालै मानिसहरूलाई खाली गराउन आदेश दिइएको छ

गर्भवती रहेकाले आफू साधारण अवस्थाभन्दा थप चनाखो हुनुपर्ने परिस्थितिमा रहेको उल्लेख गर्दै उनले केही सेकन्डमा नै आकाश नीलोबाट सुन्तला रङ्गमा परिणत भएको र खरानीले आफूलाई छोप्न थालेको बताइन्।

"मैले त्यो ठाउँ छाड्नुपर्ने भयो। तर बाटो पूर्ण रूपमा अवरुद्ध थियो। कतिपय मानिसहरू कार छाडेर दौडिँदै भागिरहेका थिए। आफूलाई त्यस्तो गर्न सक्छु जस्तो मलाई लागेन। सामान ठिक पारिरहँदा मलाई घर नै सुरक्षित लाग्यो।"

तर सरकारी निकायले सम्पूर्ण ठाउँ खाली गर्ने आदेश दिएपछि उनले घर छाडेकी थिइन्। त्यो बेला उनको घरको ठ्याक्कै अगाडि रहेको पहाडसम्म आगो फैलिसकेको थियो।

प्यासिफिक प्यालिसेड्समा आगो लागेको एउटा गाडी

तस्बिर स्रोत, Getty Images

बीबीसी संवाददाता लुसी शेरिफका अनुसार प्यालिसेड्सबाट निस्कन उनलाई केही बेर लागेको थियो। त्यस बेला हजारौँ कार पनि बाहिरिने प्रयास गरिरहेका थिए।

हावाको वेग अझै बढ्ने चेतावनी मौसमसम्बन्धी निकायले दिइएकाले राति पनि आगोको खतरा कायम रहने बताइएको छ।

विगत केही वर्षहरूमा अमेरिकामा डढेलोको आकार, अवधि र शक्ति नाटकीय ढङ्गले वृद्धि भएको छ। अधिकांश त्यस्ता डढेलो मानवीय गतिविधिका कारण लागेका बताइन्छ।

सुक्खा मौसमका कारण क्यालिफोर्नियामा डढेलोका घटना दोहोरिहन्छन्। सन् २०१८ मा उत्तरी क्यालिफोर्नियामा हालसम्मकै खराब डढेलो लागेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।