अमेरिका: डढेलो फैलिएपछि क्यालिफोर्नियामा आपत्काल

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको केही क्षेत्रमा योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ।
ओक फायर नाम दिइएको डढेलो शुक्रवारबाट विस्फोटक शैलीमा फैलिन सुरु भएको थियो। तर अग्नि नियन्त्रकहरूले २४ घण्टा बितिसक्दासमेत यसको विस्तारलाई नियन्त्रणमा लिन सकेका छैनन्।
"विस्फोटक रूपमा फैलने आगो अग्नि नियन्त्रकहरूका लागि पनि चुनौतीपूर्ण हुन्छ," क्यालिफोर्नियाको वारुण विभागले भनेको छ।
डढेलोपछि ३,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने १० बढी घरहरू नष्ट भइसकेका छन्।
आगो ११,९०० एकडमा फैलिएको र यो अहिले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो रहेको बताइएको छ।
क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपत्काल घोषणा गरिएको छ।
क्यालिफोर्नियाका गभर्नर गभिन न्यूसोमले एक वक्तव्य जारी गर्दै सुक्खासँगै गर्मी मौसमका कारण आगो फैलिएको बताएका छन्।
अमेरिकाको अधिकांश ठाउँहरूमा यो सप्ताहान्तमा उष्णलहर चलिरहेको छ। मारिपोसा काउन्टीमा शनिवारको तापक्रम ३५.५ डिग्री सेल्सियस थियो र यही तापक्रम अझै केही दिन रहने प्रक्षेपण गरिएको छ।
जलवायु परिवर्तनले मौसम गर्मी र सुक्खा हुने जोखिम बढाउँछ र यस्तो मौसममा डढेलो फैलन मद्दत पुग्छ।
औद्योगिक युग सुरु भएसँगै विश्वको तापमान १.१ डिग्री सेल्सियसले वृद्धि भइसकेको छ। उत्सर्जन रोक्न विश्वका सरकारहरूले ठोस कदम नचालेको अवस्थामा तापमान वृद्धि जारी रहने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।









