चरम मौसम: यूकेमा अत्यधिक गर्मी, तापमान 'अझै बढ्ने चेतावनी'

तस्बिर स्रोत, PA
युकेमा हालसम्मै प्रचण्ड गर्मी मङ्गलवार हुने भनिएको छ र त्यस क्रममा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ।
सोमवार सफोकमा ३८.१ डिग्री तापक्रम पुगेको थियो जुन यूकेको सन् २०१९ को कीर्तिमान ३८.७ सेल्सियसभन्दा केही कम थियो।
वेल्समा हालसम्मकै सबैभन्दा उच्च ३७.१ सेल्सियस तापक्रम रह्यो।
मौसमसम्बन्धी कार्यालय मेट अफिसले मध्य, उत्तरी र दक्षिण-पूर्वी इङ्ग्ल्यान्डमा उच्च तापक्रमको चेतावनी दिएको छ।
सोमवार स्यान्टन डाउनह्याम, सफोकको तापमान ३८.१ डिग्री सेल्सियस थियो र त्यसबाहेक प्राय ठाउँको तापक्रम ३७ डिग्री सेल्सियस नाघेको थियो।
सन् २०१९ मा केम्ब्रीजमा मापन गरिएको ३८.७ डिग्री सेल्सियस यूकेको हालसम्मको उच्च तापक्रम हो।
त्यसअघि सन् २००३ मा केन्टको फाभरशाको तापक्रम ३८.५ डिग्री मापन गरिएको थियो। त्यसैले सोमवार त्यहाँको हालसम्मकै तेस्रो सर्वाधिक गर्मी दिन र यो वर्षको सबैभन्दा गर्मी दिन बन्यो।
फ्लिन्टशायरको हावर्डेनमा ३७.१ डिग्री सेल्सियस तापमान मापन गरिएको थियो। मौसम कार्यालयको तथ्याङ्कका अनुसार त्यो जुन वेल्सको हालसम्मकै सर्वाधिक उच्च तापक्रम हो।
रातको समयमा मध्ये २४-२५ डिग्री सेल्सियसको हाराहारीसहित तापक्रम उच्च रहने पूर्वानुमान गरिएको छ।

तस्बिर स्रोत, Reuters
मङ्गलवार यूकेको पश्चिमी भूभागमा दिन केही शीतल हुनसक्छ तर मिडल्यान्ड्स र इङ्गल्यान्डको पूर्वी भागहरूमा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारी रहन सक्छ।
लिन्कनशायरमा तापमान ४२ डिग्री सेल्सियस पुग्न सक्ने सम्भावना आकलन गरिएको बीबीसी मौसम प्रस्तोता बेन रिचले भने।
चरम मौसम र मृत्यु
सोमवार, मेडेनहेडस्थित बर्कशायरमा एक जना १६ वर्षीय युवकको मृत्यु भयो। त्यस्तै त्यहाँको मेट्रोपोलिटन प्रहरीका अनुसार एक जना १४ वर्षीय किशोर बेपत्ता भएका थिए। दक्षिण-पश्चिम लन्डनस्थित ह्याम्पटनमा रहेको टापुमा प्रवेश गरेपछि उनको असामयिक निधन भएको ठानिएको छ।
गर्मीका कारण केही विद्यालयहरू चाँडै बन्द गरिएका थिए भने केही सञ्चालन नै गरिएन। यद्यपि, सरकारले पठनपाठन ठप्प नपार्न निर्देशन दिएको छ। एक शिक्षण सङ्घका अनुसार धेरै विद्यालयले खुला थिए।
नेटवर्क रेलले मानिसहरूलाई सोमवार र मङ्गलवार "अत्यावश्यक भएमा मात्र" यात्रा गर्न भनेको थियो। तीमध्ये केही रेलको सञ्चालन रद्द भयो र सञ्चालन भएका रेलको गतिमा प्रतिबन्ध लगाइएको छ।
रक्षा मन्त्रालयका अनुसार अक्सफोर्डशायरस्थित एक धावनमार्गको सतह पग्लिएको विवरण आएपछि विमानहरूले वैकल्पिक एअरफिल्डहरू प्रयोग गरिरहेका छन्।
त्यस्तै चरम तातो मौसमका कारण धावनमार्गको एक भाग उचालिए पछि लुटन विमानस्थलमा उडानहरू स्थगित गरिएको विमानस्थलले जनाएको छ।
इजीजेटका अनुसार केही उडानहरू नजिकैको विमानस्थलहरूतर्फ मोडिएको छ भने केही रद्द गरिएको छ।
स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा पनि सोमवार वर्षको सबैभन्दा गर्मी दिन रह्यो। अबोइन, एबर्डिनशायरमा ३१.३ डिग्री सेल्सियस र डेरिलिन, काउन्टी फर्मानागमा ३१.१ डिग्री सेल्सियस तापक्रम थियो।

तस्बिर स्रोत, PA Media
लन्डन, केम्ब्रीज, सरे र सफोकका अन्य ठाउँहरूमा ३७ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम मापन गरिएको थियो।
३६ डिग्री सेल्सियस तापक्रमसहित कर्नवालमा सर्वाधिक तातो दिन रह्यो।
इङ्गल्यान्ड, वेल्स र स्कटल्यान्डका केही भागहरूमा चेतावनीका दिइएको छ जसले लन्डनदेखि योर्क र म्यानचेस्टरसम्म ठूलो क्षेत्रलाई समेट्छ।
आपत्कालको चेतावनी
गत वर्षदेखि प्रयोगमा भएको रङ्गको आधारमा चेतावनी दिइने प्रणाली लागू भएयता, मौसम विभागले पहिलोपटक रातो चेतावनी दिएको हो। त्यसको मतलब "मानिस र भौतिक पूर्वाधारमा व्यापक प्रभाव"को सम्भावना रहन्छ र "दैनिक कार्यमा व्यापक परिवर्तन" आवश्यक हुन्छ।
न्यासनल फायर विभागका प्रमुखले त्यहाँ केही दिनमा जङ्गली डढेलोको चेतावनी दिएका थिए। बर्मिङ्घमको नजिकै रहेको लिकी हिल्स कन्ट्री पार्कको जङ्गलमा आगो फैलिएको छ।
बीबीसीका साइमन किङका अनुसार सन् १९७६ मा भएको विस्तारित ताप लहर र खडेरीको तुलनामा हाल अपेक्षित तापमान १० डिग्री सेल्सियससम्म बढी छ।
यूकेको स्वास्थ्य सुरक्षा निकायले इङ्गल्यान्डमा स्तर चार बराबरको चेतावनी जारी गरेको छ जसलाई सरकारले "राष्ट्रिय आपत्काल"को रूपमा लिन्छ।
अधिक गर्मीका कारण स्वास्थ्य प्रणालीमा पनि दबाब परेको छ र स्वास्थ्यमन्त्री स्टीभ बारक्लेले सरकारले अवस्थालाई "उच्च चिन्ताको विन्दुबाट" नियालिरहेको बताएका छन्।
बढ्दो तापक्रमले गर्दा युरोप र उत्तर अफ्रिकाका धेरैजसो क्षेत्रमा विनाशकारी असर देखिएको छ।
जङ्गलको डढेलो ग्रीसदेखि मोरक्कोसम्म फैलिएको छ र पोर्चुगल र स्पेनका हजारौँ मानिस विस्थापित भएका छन् भने एक हजार भन्दा बढीको मृत्यु भएको छ।
शनिवार साँझ पौडी खेलिरहेका १६ वर्षीय किशोर र आइतवार नर्थम्बरल्याण्डको टाइन नदीमा बेपत्ता भएका १३ वर्षीय बालकको मृत्यु भएपछि मानिसहरूलाई सावधानी अपनाउन भनिएको छ।
दक्षिणी र पूर्वी इङ्गल्यान्डका पानी बिक्री वितरण गर्ने कम्पनीहरूले बढ्दो मागका कारण आपूर्तिमा कठिनाइ भएको जनाएका छन्।
विज्ञहरूले आम मानिसलाई पानी पिउन, घरको पर्दाहरू बन्द राख्न र आफन्त तथा साथीभाइहरूबारे जानकार रहन आह्वान गरेको छ।
गर्मीका कारण जनावर, आगन्तुक र कर्मचारीहरूलाई सुरक्षित राख्न चेस्टर जू बन्द रहने जनाइएको छ। वेल्समा सुँगुरहरूलाई घामको किरणबाट जोगाउने क्रिम लगाइएको छ।
त्यस्तै ताप लहरभरि कुकुर तथा बिरालोलाई लिएर नहिँड्ने सुझाव दिइएको छ।
रेस्टुराँहरू पनि केही बन्द भएका छन् र खाना आपूर्ति प्रभावित छ।









