अमेरिकामा शताब्दीयताकै घातक डढेलो: मृतकको सङ्ख्या ९३ पुग्यो, सयौँ बेपत्ता

अग्नि नियन्त्रक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यो डढेलोलाई हवाईले बेहोरेको सबभन्दा विध्वंसकारी विपद मानिएको छ
    • Author, माउइमा म्याक्स माट्जा र हली हन्डरिच र लन्डनमा क्याथरिन आर्म्स्ट्रङ
    • Role, बीबीसी न्यूज

अमेरिकाको हवाई राज्यस्थित ऐतिहासिक सहर लाहैनालाई ध्वस्त पार्नेगरी भएको वन डढेलोमा ९३ जनाको मृत्यु भएको हालसम्म पुष्टि भएको छ तर यो सङख्यामा 'उलेख्य वृद्धि' हुनसक्ने बताइएको छ। यो घटनालाई अमेरिकामा एक शताब्दीयताकै सबैभन्दा घातक डढेलो ठानिएको छ।

मृतकको पहिचान गर्ने कार्य जारी रहेकाले शनिवार हवाई राज्यका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या 'उल्लेखनीय' रूपमा बढ्न सक्ने चेतावनी दिएका हुन्।

आगोबाट जोगिन भागेका कयौँ बेपत्ता छन् भने सयौँ मानिसहरू माउइस्थित आश्रयस्थलमा बसिरहेका छन्।

"यो निकै चुनौतीपूर्ण दिन हो," ग्रीनले भने।

"यो हवाईले भोगेको अहिलेसम्मकै सबैभन्दा विध्वंसकारी प्राकृतिक विपद् हुनेछ,” उनले भने।

"हामी अहिले केवल बाँचिरहेकाहरूलाई सहयोग गर्न सक्छौँ। अब हाम्रो ध्यान सकेको खण्डमा मानिसहरूको पुनर्मिलन गराउन, उनीहरूलाई आवास तथा स्वास्थ्य सेवा प्रदान गर्न र त्यसपछि पुनर्निर्माणमा केन्द्रित हुनेछ।“

यस डढेलोबारे पूर्व चेतावनी प्रणालीको प्रयोग गरिएको थियो वा तिनीहरूमा कुनै समस्या आएको थियो भन्ने कुरा स्पष्ट हुन सकेको छैन। अधिकांश मानिसहरूले बीबीसीसँग आगोको बारे पूर्व सूचना नदिइएको बताएका छन्।

पीडित महिला

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मानिसहरूले आगलागीको पूर्व सूचना नपाएको बताइरहेका छन्

राज्यका महान्यायाधिवक्ताले अधिकारीहरूले यस घटनामाथि कसरी प्रतिक्रिया जनाए भन्नेबारे "व्यापक समीक्षा" गरिरहेका छन्।

हवाईको दोस्रो कंग्रेसनल डिस्ट्रिक्टका प्रतिनिधि जिल टोकुडाले आइतवार बीबीसी वर्ल्ड सर्भिसको न्यूजआवर कार्यक्रममा "गम्भीर प्रश्नहरू" सम्बोधन गरिन आवश्यक रहेको बताइन्।

“यो विषम परिस्थितिमा सबैलाई रिस उठ्नुको कारणहरू छन् र हामी सबै जबाफ चाहन्छौँ,“ टोकुडाले भनिन्। उनले आफ्नो लाहैना भ्रमण 'हृदयविदारक' भएको पनि उल्लेख गरिन्।

"त्यस ठाउँसँग जोडिएका धेरै यादहरू छन्। त्यही ठाउँमा मानिसहरूले परिवार र साथीभाइ गुमाए। कतिपय त अझै पनि आफ्नो प्रियजनको खोजी गरिरहेका छन्।“

सयौँ मानिस सम्पर्कविहीन

डढेलो अहिले धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ। यद्यपि ध्वस्त भएको लाहैनासहित वरपरका टापुका केही भागमा डढेलोलाई पूर्ण रूपमा निभाउने प्रयास जारी छ।

अधिकारीहरूले टापुको तटीय क्षेत्रको बाँकी भागमा खोजीको प्रयास तीव्र बनाएका छन्। विशेष गरी भग्नावशेषमुनि हुनसक्ने शवहरूको सङ्केत खोज्न प्रशिक्षित कुकुरहरूको प्रयोग गरिएको छ।

माउइका प्रहरी प्रमुख जोन पेलेटिअरका अनुसार हालसम्म प्रहरीले खोजी गर्नुपर्ने क्षेत्रको ३ प्रतिशत भाग मात्र समेटिएको छ।

"हामीमध्ये कसैले पनि अहिलेसम्म क्षतिको आकार बुझ्न सकेका छैनौँ," उनले भने।

फेडेरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सी (एफईएमए)का वरिष्ठ अधिकारी जेरेमी ग्रीनबर्गले बीबीसीलाई बताएअनुसार सहरी क्षेत्रमा खोजी तथा उद्धारकर्मी र अग्नि नियन्त्रकलाई थप सहयोग पठाइएको छ।

“पहिलो प्राथमिकता भनेकै बाँचेकाहरूको सुरक्षा हो,” उनले भने।

ग्रीनबर्गका अनुसार अझै पनि करिब एक हजार मानिस सम्पर्कविहीन छन्। तीमध्ये केही सुरक्षित हुनसक्ने तर सम्पर्कको पहुँचभन्दा पर रहेको हुनसक्ने सम्भावना छ।

शनिवार माउइको 'वार मेमोरिअल कम्प्लेक्स' मा रहेको आपत्कालीन आश्रयस्थलमा उद्धार गरिएका सयौँ मानिसहरू राहत सामग्रीलगायत अन्य सहायता लिइरहेका थिए।

आश्रयस्थल व्यवस्थापन समूहका सदस्य केआपो बिसेनका अनुसार त्यहाँ आश्रितहरूले निरन्तर आफ्ना प्रियजन वा अन्य मानिस फेला पारिरहेकाले हराएकाहरूको सङ्ख्या घण्टा–घण्टामा परिवर्तन भइरहेको छ। "यहाँको पार्किङस्थलमा धेरै मानिसबीच पुनर्मिलन गराएका छौँ," उनले भनिन्।

"वास्तवमा यो नै सबैभन्दा राम्रो पक्ष हो।“

कति क्षति?

डढेलोको असर

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, ऐतिहासिक लाहैना सहर ध्वस्त भएको छ

डढेलोका कारण दुई हजारभन्दा बढी भवनमा क्षति पुगेको अनुमान गरिएको छ। तीमध्ये अधिकांश लाहैना क्षेत्रका भवनहरू हुन्।

लाहैनासम्म पुग्ने सडकहरू पनि आंशिक वा पूर्ण रूपमा प्रभावित भएका छन्। कतिपय मानिसहरू त्यहाँबाट निस्कन पाउने अपेक्षामा राजमार्गमै लाम बसेका छन्। वैकल्पिक राजमार्ग खुला गरिएको भए पनि स्थानीयवासीले त्यहाँबाट सवारी साधन चलाउनु जोखिमपूर्ण भएको बताएका छन्। आवतजावत ठप्प बन्दा कतिपय पीडितहरू आक्रोशित बनेका छन्।

प्यासिफिक डिजास्टर सेन्टर (पीडीसी) र एफईएमएका अनुसार माउइको पुनर्निर्माणका लागि ५ अर्ब ५० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ।

हेलिकप्टर पाइलट रिचर्ड ओल्स्टेनले माउइमाथि उडान भरेपछि बीबीसीलाई बताए अनुसार बन्दरगाहमा रहेका अधिकांश डुङ्गाहरू पनि जलेका र डुबेका छन्।

"ऐतिहासिक भवनहरू, चर्च, मिसनरी भवन आदि सबै ध्वस्त भएका छन्," उनले भने।

"मुख्य पर्यटक क्षेत्रका सबै पसल तथा रेस्टुराँहरू, ऐतिहासिक गल्ली र सबै थोक खरानी भएका छन्।“

केका कारण फैलियो डढेलो?

यसअघि बीबीसीका नदिन युसिफले आँधी र सुख्खा मौसमका कारण त्यहाँ लागेको आगो तीव्र गतिमा फैलिएको जनाएका थिए।

माउइ टापुसहित हवाईको ठूलो भूभागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो।

'यूएस ड्राउट मोनिटर' का अनुसार राज्यको लगभग १४ प्रतिशत भाग गम्भीर वा मध्यम खडेरीमा परेका छन्।

त्यस्तै हवाईको ८० प्रतिशत भाग असामान्य रूपमा सुक्खा भएको स्थानका रूपमा वर्गीकृत गरिएको छ।

गत महिना 'न्याशनल वेदर सर्भिस'ले माउइका झाडीहरूमा आगलागी भएको र केही समयका लागि राजमार्ग बन्द भएको उल्लेख गरेको थियो।

पूर्वानुमानकर्ताहरूले "यस वर्षको सुक्खा याममा डढेलोको जोखिम उच्च रहेको" चेतावनी दिएका थिए।

हवाईका केही भागहरू त्यहाँ रैथाने बाहेकका घाँसले ढाकिएका छन् जुन स्थानीय वनस्पतिहरू भन्दा बढी ज्वलनशील छन् भन्ने कुरामा वैज्ञानिकहरूको ध्यानाकर्षण भएको छ।

ती घाँसहरूमा सुक्खा अवस्थाका कारण एक झिल्कोसँगै आगो फैलन सक्छ।

डढेलो सुरु हुनुअघि नै माउइमा अधिक तापमान, निकै कम आर्द्रता तथा तीव्र हावाका कारण आगलागीको जोखिम रहेको चेतावनी दिइएको थियो।

गत साता मङ्गलवार हवाई राज्यको तटीय क्षेत्रमा चर्को हावाहुरीका साथ बज्रिएको 'डोरा' आँधीले आगो फैलिन मद्दत गरेको ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।