अमेरिकाको पर्यटकीय टापुमा डढेलोका कारण ५५ जनाको मृत्यु, हजारौँ मानिस विस्थापित

डढेलो प्रभावित क्षेत्र

तस्बिर स्रोत, Getty Images

अमेरिकामा हवाईको माउइ टापुमा डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको र दर्जनौँ मानिस घाइते भएको अधिकारीहरूले बताएका छन्।

प्रशान्त महासागर नजिकै बज्रिएको आँधीबाट उत्पन्न तीव्र हावाहुरीका कारण मङ्गलवारदेखि सुरु भएको डढेलो द्रुत गतिमा फैलिएको हो। त्यहाँका हजारौँ सर्वसाधारणलाई अस्थायी आश्रयस्थलमा स्थानान्तरण गरिएको छ।

माउइमा विद्युतीय पोलहरू ढल्दा ११,००० मानिसहरू अझै पनि बत्तीबिना बसिरहेका छन्।

हवाईका गभर्नर जोस ग्रीनले उक्त राज्यमा “धेरै वर्षपछि यस्तो मानवीय क्षति” भएको बताएका छन्। उनका अनुसार त्यहाँका १,७०० भन्दा बढी भवनहरू ध्वस्त भएका छन् भने ऐतिहासिक शहर लाहैनाको ८० प्रतिशत भाग पूर्ण रूपमा प्रभावित भएको छ।

आश्रयस्थलमा प्रभावित मानिसहरू

ग्रीनले सिएनएनसँगको कुराकानीमा हालको परिस्थितिबारे भने, "सबैले यसलाई लाहैनामा बम प्रहार गरेको जस्तो घटना भएको बताउँनेछन्। यसमा कुनै शङ्का छैन।"

“हामीलाई थाहा छ धेरै मानिसको मृत्यु भएको छ। यो सङ्ख्या उल्लेखनीय रूपमा बढ्नेछ। हामीले धेरै वर्षयता यसरी मानवीय क्षति बेहोरेका थिएनौँ,” ग्रीन सीएनएनसँग बोल्दै गर्दा मृतकको सङ्ख्या ४० भन्दा कम थियो।

मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी

उनले सन् १९६० मा आएको सुनामीमा ६१ जनाको मृत्यु भएको प्रसङ्ग उल्लेख गर्दै डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या त्योभन्दा बढी हुनसक्ने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त टापुमा लागेको डढेलोलाई 'ठूलो विपद् घोषणा' गरेका छन्।

माउइ नजिकैको बिग आइल्यान्डको थुप्रै भेगहरूमा पनि डढेलो लागिरहेको बताइएको छ।

प्रहरी प्रमुखका अनुसार यकिन तथ्याङ्क नभए पनि करिब १००० मानिसहरू अझै बेपत्ता छन्। अधिकारीहरूले त्यहाँ हराएका मानिसहरूको खोजी र उद्धार कार्य जारी राखेका छन्।

त्यहाँ आवासीय भवनहरू खाली गरिनुका साथै सडक अवरुद्ध पारिएको छ। हजारौँ विस्थापितहरूका लागि अस्थायी आश्रयस्थल स्थापना गरिएको अधिकारीहरूको भनाई छ।

लोकप्रिय पर्यटकीय गन्तव्य माउइमा मानिसहरूको प्रवेश निरुत्साहित गर्दै आपतकालीन आदेश जारी गरिएको छ।

डढेलो प्रभावित क्षेत्र

तस्बिर स्रोत, Getty Images

राज्यका लेफ्टिनेन्ट गभर्नर सिल्भिया ल्यूकले भनेका थिए, "हामीसँग भएका आश्रयस्थलहरू भरिन थालिसकेका छन्। हामीसँग कर लगाइएका स्रोतहरू छन्। यद्यपि यहाँका स्थानीय बासिन्दाहरूको लागि जे गर्न सक्छौँ त्यो गरिरहेका छौँ।"

हवाईमा डढेलोको घटना नौलो होइन। यद्यपि केही दिनयता फैलिएको डढेलो थुप्रै टापुहरू भएको उक्त ठाउँमा भएको सबैभन्दा खराबमध्ये एक हो।

केका कारण फैलियो डढेलो?

भौतिक तथा मानवीय क्षतिको आधारमा यो विनाशकारी ठहरिएको बीबीसीका नदिन युसिफले जनाएका छन्।

घातक डढेलो फैलनुको कारणबारे अझै पनि अनुसन्धान भइरहेको छ।

यद्यपि आँधी र सुख्खा मौसमका कारण आगो तीव्र बनेको जनाइएको छ।

माउइ टापुसहित हवाईको ठूलो भूभागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो।

स्टाटलाइटबाट कैद तस्बिर

तस्बिर स्रोत, NASA

यूएस ड्राउट मोनिटरका अनुसार राज्यको लगभग १४ प्रतिशत भाग गम्भीर वा मध्यम खडेरीमा परेका छन्।

त्यस्तै हवाईको ८० प्रतिशत भाग असामान्य रूपमा सुख्खा भएको स्थानका रूपमा वर्गीकृत गरिएको छ।

गत महिना न्याशनल वेदर सर्भिसले माउइका झाडीहरूमा आगलागी भएको र केही समयका लागि राजमार्ग बन्द भएको उल्लेख गरेको थियो।

पूर्वानुमानकर्ताहरूले "यस वर्षको सुख्खा याममा डढेलोको जोखिम उच्च रहेको" चेतावनी दिएका थिए।

डढेला

तस्बिर स्रोत, Getty Images

हवाईका केही भागहरूमा त्यहाँ रैथाने बाहेकका घाँसले ढाकिएका छन् जुन स्थानीय वनस्पतिहरू भन्दा बढी ज्वलनशील छन् भन्ने कुरामा वैज्ञानिकहरूको ध्यानाकर्षण भएको छ।

ती घाँसहरू, सुख्खा अवस्थाका कारण एक झिल्कोसँगै आगो फैलन सक्छ।

डढेलो सुरु हुनुअघि नै माउइमा अधिक तापमान, निकै कम आर्द्रता तथा तीव्र हावाका कारण आगलागीको जोखिम रहेको चेतावनी दिइएको थियो।

मङ्गलवार हवाईको तटीय क्षेत्रमा बज्रिएको 'डोरा' आँधीले आगोको ज्वालालाई फैलिन मद्दत गरेको थियो।