तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानी गाउँमा १५ घण्टासम्म केबलकारमा फसेकाहरूको उद्धार गरियो
पश्चिमोत्तर पाकिस्तानमा केबलकार अड्किएपछि एउटा नदीमाथि आकाशमा फसेका आठै जनाको उद्धार भएको अधिकारीहरूले बताएका छन्।
पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले मङ्गलवार राती अन्तिम तीन जनाको उद्धार गरिएसँगै उद्धार कार्य निष्कर्षमा पुगेको जनाएको छ।
केबलकारसँगै अड्किएका केही बालकहरूलाई रात पर्नुअघि नै हेलिकप्टरबाट उद्धार गरिएको थियो। बाँकीलाई जिप लाइनबाट मध्यरातसम्म उद्धार गरिएको बताइएको छ।
पाकिस्तानको सेनाले जिप लाइनका विज्ञहरू लगेर केबलकारमा अड्किएकाहरूको उद्धार सुरू गरेको जनाएको थियो।
उक्त केबलकारमा छजना बालबालिकासहित आठजना सवार थिए।
ती बालबालिका विद्यालय जान केबलकार चढेका थिए। तर एउटा तार चुँडिएपछि उक्त केबलकार जमिनभन्दा ९०० फिटमाथि १५ घण्टाभन्दा बढी झुन्डिएको थियो।
पाकिस्तानका अन्तरिम प्रधानमन्त्रीले खाइबर पख्तून्ख्वास्थित बट्टग्राममा केबलकारमा फसेका मानिसहरूलाई उद्धार भएकोमा आभार व्यक्त गरेका छन्।
उक्त केबलकारनजिक सेनाका हेलिकप्टरहरू पुगे पनि तीव्र हावाका कारण समयमा उद्धार हुन सकेको थिएन।
स्थानीय पत्रिका डनको अनलाइन संस्करणका अनुसार केबलकारमा मानिसहरू फसेको चार घण्टापछि बल्ल एउटा हेलिकप्टर उक्त स्थानमा पुगेको थियो।
एउटा तारको भरमा मात्र
अल्लाई उपत्यकामा स्थानीय समयानुसार बिहान ७ बजेतिर यो घटना भएको हो।
आकाशमा केबलकार झुन्डिएको देखेपछि स्थानीय बासिन्दाहरूले माइकबाट सरकारी अधिकारीहरूलाई सूचित गरेका थिए।
छतबिनाको उक्त केबलकार अहिले एउटा तारको भरमा मात्र झुन्डिएको स्थानीय उद्धार अधिकारी अब्दुल बासित खानले समाचारसंस्था एएफपीलाई बताए।
"ईश्वरका लागि हामीलाई सहयोग गर्नुहोस्," केबलकारमा फसेका गुलफराजले पाकिस्तानी टेलिभिजन जिओ न्यूजलाई फोनबाट भनेका थिए। उनले केबलकारमा आफूसहित छ जना भएको पुष्टि गरेका थिए।
उनका अनुसार ती विद्यार्थीहरू १० देखि १५ वर्षका छन्। तीमध्ये एक जना अचेत भएको उनले बताए।
उद्धारकार्य हेर्न मानिसहरूको भिड जम्मा भएको थियो। अधिकारीहरूले कारमुनि जाली फैलाउने प्रयास गरेका थिए।
"मानिसहरू यहाँ उभिएका छन् र चिच्याइरहेका छन्," गुलफराजले तत्काल सहयता गर्न अनुरोध गर्दै भनेका थिए।
उद्धार किन जटिल
उक्त स्थानमा हेलिकप्टर पुगेको भए पनि तीव्र गतिको वायुका कारण उद्धारकार्य जटिल बनेको थियो। हेलिकप्टरका पङ्खाले केबलकारलाई अस्थिर बनाउन सक्ने चिन्ता पनि देखिएको उद्धारकार्यमा संलग्न एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएका थिए।
स्थानीय सरकारी विद्यालयका प्रधानाध्यापक अलि असगर खानले ती बालबालिकाहरू आफ्ना विद्यार्थी भएको एएफपीलाई फोनबाट बताए।
एक स्थानीय शिक्षकका अनुसार यातायातको अरू सुविधा नभएकाले प्रत्येक दिन १५० जनाले विद्यालय जान केबलकारको जोखिमपूर्ण यात्रा गर्ने गरेको डनले जनाएको छ।
उत्तरी पाकिस्तानका दुर्गम पहाडी गाउँहरूमा केबलकार नियमित यात्रा गर्ने साधन बनेको छ। अहिले फसेको केबलकार स्थानीय बासिन्दाहरूले सञ्चालन गरेको ठानिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।